आमाको माया सम्झाउने ५ सुपरहिट गीतहरु

१९ बैशाख २०७७, शुक्रबार ०५:२३
Featured Video Play Icon

मकवानपुर, १९ बैशाख । जीवनभर दुःख भएता पनि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सन्तानको लागि निःश्वार्थ प्रेमक देखाउन सक्ने आमालाई नसम्झने सन्तान यो संसारमा कमै होलान् । आमाको जस्तो निःश्वार्थ प्रेम, स्नेह र आफ्नोपनलाई संसारमा भएका अन्य नाता,सम्बन्ध र आफन्तको प्रेमसँग तुलना गर्न सकिँदैन । यो दुःखको कुरा हो कि त्यस्ती स्नेही आमालाई सम्झन हामी केबल मदर्स डे र आमाको मुख हेर्ने औँशी लगायतका नाममा एक दिन छुट्याउँछौँ । यही एकदिन हामी आँशु बगाउँछौँ । आमालाई मिठा खानेकुरा दिन्छौँ, आमालाई भेट्न जान्छौँ । हुन त सधैँ काममा भुल्नेहरुका निम्ति आमालाई सम्झने यो एउटा मौका होला, सामाजिक सञ्जालमै भएता पनि आमाप्रति प्रेम देखाउने एउटा माध्यम हो आमालाई सम्झने माध्यम होला तर विडम्वना हामी त्यतिमामात्र सिमित छौँ । एक वर्षमा एक दिन सम्झेर बाँकी ३ सय ६४ दिन हामी आमालाई भुसुक्कै बिर्सन्छौँ । त्यसैले यस्ता दिवसहरु मनाउनुको कुनै अर्थ छैन । ती दिवसहरु मनाउनुको साटो अथवा आमाको मुख हेरियो भनेर सामाजिक सञ्जालमा फोटो हाल्नुभन्दा पनि आमाबुवाप्रतिको हाम्रो जिम्मेवारीलाई सदैव पालना गर्नु नै ठूलो कुरा हो । आमालाई सम्झाउने बलियो आधार आमाको स्नेह र आमाप्रति हाम्रो जिम्मेवारी नै हो तर कहिलेकाँही गीतसँगीतले पनि हामीलाई आमाको न्यानो स्नेहको आभाष दिलाउँछ । आमासम्म पुग्न मदत गर्छ । यो सामाग्रीमा मैले त्यस्ता ५ नेपाली तथा हिन्दी गीतको चर्चा गरेको छु जसले आमाको स्नेहलाई सम्झाउँछ, आमाप्रतिको हाम्रो जिम्मेवारीको बोध गराउँछ । आउनुस् त्यस गीतहरुबारे चर्चा गरौँ । हेर्नुहोस् भिडियो–

१) तु कित्नी अच्छी है– यो बहुचर्चित गीतलाई नसुन्ने मानिस सायद कमै होला । यसको ओरिजिनल भर्सनमा मात्र नभई थुप्रै नेपाली तथा हिन्दी गायक–गायिकाहरुले बनाएका कभर भर्सनमा पनि यसको मिठास महशुस गर्न सकिन्छ । यस गीतलाई केही समयअघि चर्चित गायिका नेहा कक्करले कभर बनाएसँगै यो गीतको बारेमा अहिलेका पुस्तालाई समेत थाहा भयो । लता मंगेश्करको ओरिजिनल आवाजमा तयार भएको यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् । यस गीतलाई बलिउड क्लासिक्सले सन् २०१३ मा युट्युबमा सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई ३ करोड १९ लाख ४२ हजार पटकभन्दा बढी पटक हेरिएको छ । गीतमा १ लाख १३ हजार लाईक र १३ हजार डिसलाईकहरु गरिएका छन् । गीतमा ८ हजार ९ सयभन्दाब बढी कमेन्टहरु गरिएका छन् । साथै गायिका नेहा कक्करले तयार पारेको यस गीतको कभर भर्सनलाई यो सामाग्री तयार पार्दाको समयमा ४ करोड ५१ लाख ७१ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ७ लाख ८३ हजार लाईक र २७ हजार डिसलाईकहरु गरिएका छन् । त्यस्तै ४९ हजार ८ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतलाई सन् २०१६ मा सार्वजनिक गरिएको हो । यस गीतलाई मकवानपुरकी नव गायिका अनु गौतमले पनि सन् २०१९ मा कभर गरेकी छिन् ।

२) तिनै हुन् तिनै मेरी आमा– नेपाली कथानक चलचित्र ‘मुग्लान’ को यो गीत आमाको स्नेह सम्झाउने अर्को बहुचर्चित गीत हो । मुग्लानमा पैसा कमाउन गएका नेपालीहरु विदेशी जेलमा मर्ने वा बाँच्ने अवस्थामा पुगेपछि जेलबाट छुटेका एक जना साथीलाई आफ्नी आमाको बारेमा वर्णन गर्दै गरेको दृश्यसहितको सचित्र वर्णन यस गीतमा पाईन्छ । गायक यम बरालको आवाजमा रहेको यस गीतका लेखक तथा संगीतकार सुरेश अधिकारी हुन् ।
चलचित्रमा दिलिप रायमाझी, रमित ढुङ्गाना, बिपना थापा, झरना थापा, शुशिल क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतलाई सन् २०१४ मा बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई ५ लाख ८१ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ७ हजार ७ सय लाईक र करिब ५ सय कमेन्टहरु गरिएका छन् ।

३) मेरी आमा– बहुचर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’, नाई नभन्नु ल जस्ता गीतमा आवाज दिएका बाल गायक प्रेम परियारको अर्को चर्चित गीत हो ‘मेरी आमा’ । प्रेमको वास्तविक जीवनसँग मेल खाने विभिन्न शब्द तथा दृश्य समावेश गरिएको यो गीतमा उनको जीवनको कथा र आमाको महिमालाई प्रस्तुत गरिएको छ । गीतको शब्द शंकर बिसीले लेखेका हुन् । करण न्यौपानेको सँगीत रहेको गीतको म्यूजिक भिडियोमा रोजवे रेग्मी र लक्ष्मी गिरीले अभिनय गरेका छन् । शंकर बिसीको निर्देशन तथा राजेश घिमिरेको छायाँकनमा तयार भएको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । गीत ‘मेरी आमा’ एल्बममा समावेश छ । गीतलाई सन् २०१५ मा विन्दाबासिनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको हो । यो गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १५ लाख २ हजार ९ सय भन्दा बढी पटक हेरिएको छ । गीतमा६ १० हजार लाईक तथा करिब ५ सय कमेन्टहरु गरिएका छन् ।

४) हे आमा– नेपाली चलचित्र ‘ठुलदाई’ मा समावेश यो गीतले आमाको महिमाको चर्चा गर्छ । आमाबिना संसार देख्न नपाउने तथ्यलाई यो गीतमा समावेश गरिएको छ । आमाको प्रसव पिडा र निश्वार्थ प्रेमलाई पनि यस गीतका शब्दहरुमा समावेश गरिएको छ । रामकृष्ण बजागाईको यस चलचित्रमा समावेश हे आमा गीतमा दुई छोराहरुले आमालाई फकाउँदै गरेको दृश्य समावेश छ । यस गीतमा राजेश पायल राई लगायतको आवाज छ । यस चलचित्रका गीतहरुमा शम्भुजित बास्कोटा, राजेश पायल राई, युवराज गुरुङ, आदित्य नारायण झा, देविका प्रधान, कविता कृष्णमुर्ति, दिपा झा लगायतको आवाज रहेको छ । गीतका शब्दहरु दयाराम दाहाल र शम्भुजित बास्कोटाले लेखेका छन् । गीतमा शम्भुजित बास्कोटाको संगीत छ ।
यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २२ हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । यस चलचित्रमा शिव श्रेष्ठ, जल शाह, निरुता सिंह, सुनिल थापा, नरेन्द्र थापा, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिता बजगाईको कथा छ ।

५) मेरी आमा : यश कुमार– चर्चित गायक तथा नायक यश कुमारको यो गीत ‘नरुने आँखाहरु’ एल्बममा समावेश भएको बहुचर्चित गीत हो । अडियो भर्सनमा मात्र सार्वजनिक भएको यो गीतलाई धौलागिरी क्यासेटले सन् २०१९ मा मात्र एनिमेसन भर्सनमा युट्युब मार्फत सार्वजनिक गरेको छ । आमाको दुःख, आमालाई बुवा र आफुले पनि एक्लै छाडेको भन्दै छोराले गरेको बिलौनामा आधारित यो गीतलाई यश कुमारले नै संगीत दिएका हुन् । उनकै आवाज र शब्द यो गीतमा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*