नेपालमा कोरोना संक्रमित भएका १४ जनाको अवस्था कस्तो छ ?

८ बैशाख २०७७, सोमबार ०८:१८
Featured Video Play Icon

मकवानपुर, ८ बैशाख । आदरणीय दर्शकविन्द यतिखेर विश्वमा नै कोरोना महामारीले आतंक सिर्जना गरेको छ । यस सामग्रीमा हामीले नेपालमा कोरोना संक्रमित भएका १४ जना संक्रमितहरुको बारेमा छोटकरीमा चर्चा गर्ने जमर्को गरेका छौँ । कोरोना भाइरसबाट नेपालमा संक्रमित भएका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनमा कोरोना संक्रमण रहेको भनेर २०७६ माघ ९ गते पत्ता लागेको थियो । उनी अहिले स्वस्थ भइसकेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा दोस्रो संक्रमित २०७६ चैत ९ गते पत्ता लागेको थियो । उनी १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । उनी काठमाडौँकी हुन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् । एक दुईदिनभित्र डिस्चार्ज हुने बताइएको छ ।हेर्नुहोस् भिडियो–

नेपालमा तेस्रो संक्रमित चैत्र १२ गते भेटिएको थियो । चैत्र ६ गते दुबईबाट आएका उनी वैदेशिक रोजगारीमा गएका थिए । उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चैत्र १० गते भर्ना भएका थिए । उनी यसै हप्ता डिस्चार्ज हुने बताइएको छ ।नेपालमा चौथो संक्रमित चैत्र १४ गते पत्ता लागेको थियो । ३४ वर्षीय उक्त पुरुषलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी दुबईमा वैदेशिक रोजगारीमा थिए । उनीपनि यसै हप्ता डिस्चार्ज हुने बताइएको छ । नेपालमा पाँचौँ संक्रमित चैत्र १५ गते पत्ता लागेको थियो । बेल्जियमबाट फर्किएकी १९ वर्षिया ती किशोरी बाग्लुङकी हुन् । उनी पनि अहिले उपचाररत रहेको र चाँडै डिस्चार्ज हुने बताइएको छ । नेपालमा छैटौँ संक्रमित चैत्र २० गते पत्ता लागेको थियो । उनी फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिला थिईन् । यी महिलासँगै यात्रामा रहेका दोस्रो संक्रमित किशोरी र पाँचौँ संक्रमित किशोरी तिनै जना चैत्र ४ गते काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानमा सवार थिए । उनको पनि अहिले उपचार भईरहेको छ ।

नेपालका सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् । उनी रोजगारीका लागि मुम्बईमा थिए । लकडाउन अगाडि नै नेपाल फर्किएका उनलाई चैत्र २२ गते संक्रमण भएको पत्ता लागेको हो । उनको पनि अहिले उपचार भईरहेको छ । नेपालका आठौँ संक्रमित भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । उनमा पनि चैत्र २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी कामको सिलसिलामा उत्तराखण्ड पुगेपनि कोरोनाको महामारी सुरु भएपछि नेपाल फर्किएका थिए । उनको अहिले उपचार भईरहेको छ । नेपालका नवौ संक्रमित कैलालीकी ३४ वर्षीया महिला हुन् । संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन् । दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको बुझिएको छ । उनी नै कोरोना संक्रमणमा परेकी पहिलो नेपालमै बसोबास गर्ने व्यक्ति हुन् । यसअघिका आठै जना संक्रमितहरु विदेशबाट नेपाल फर्किएकाहरु थिए । यी महिलामा पनि चैत्र २२ गते नै संक्रमण फेला परेको थियो । उनीहरुको पनि अहिले उपचार भईरहेको छ ।

दशौं संक्रमित –नेपालमा भेटिएका दशौँ संक्रमित भारतीय नागरिक हुन् । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि चैत्र २९ गते पत्ता लागेको थियो । उनीसँगै भएका एघारौँ र बाह्रौँ संक्रमित पनि भारतीय नागरिक नै हुन् । नेपालमा भेटिएका एघारौँ संक्रमित पनि भारतीय नागरिक नै हुन् । उनी पनि वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए । उनी ५५ वर्षीय पुरुष हुन् । उनमा पनि चैत्र २९ गते नै संक्रमणको पुष्टि भएको थियो । नेपालमा भेटिएका बाह्रौँ संक्रमित पनि भारतीय नागरिक नै हुन् । उनी पनि वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए । उनी ४४ वर्षीय पुरुष हुन् । उनमा पनि चैत्र २९ गते नै संक्रमणको पुष्टि भएको थियो । नेपाल भेटिएका तेहौँ कोरोना संक्रमित कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा हुन् । उनमा बैशाख १ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वारेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

नेपाल भेटिएका चौधौँ कोरोना संक्रमित युवक रौतहट जिल्लामा क्वारन्टीनमा रहेका युवा हुन् । १९ वर्षीय ती युवकलाई पनि बैशाख १ गते नै संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख १ गते संक्रमण पुष्टि भएका दुवैको उपचार प्रकिया अघि बढाइएको जानकारी दिएका छन् । आदरणीय दर्शकविन्द, कोरोना संक्रमण अहिले झन–झन बढ्दो क्रममा छ । हुन त यसको संक्रमणपश्चात मरेकाहरुभन्दा बाँचेकाहरुको संख्या धेरै छन् तर हामी सजग भएनौँ भने हामीले आफु, आफ्नो परिवार र विश्वकै मानव समुदायलाई खतरामा पार्नसक्छौँ । त्यसैले सरकारले लगाएको लक डाउनको पूर्ण पालना गरौँ । स्थानीय तहहरुले र अख्तियारवालाहरुले बनाएका नियमहरुको पालना गरौँ । अत्यन्तै महत्वपूर्ण काम परेको बाहेक अन्य समयमा घरबाहिर ननिस्कन हामी तपाईलाई आग्रह गर्दछौँ । यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*