नेपाल स्टारमा चितवन अडिसनबाट छानिएकाहरु

७ बैशाख २०७७, आईतवार ०६:१०
Featured Video Play Icon

मकवानपुर, ७ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शोको चितवन अडिसनबाट १३ प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार चितवनबाट जम्मा १३ जना प्रतिकयोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यी १३ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार १३ जना प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा चितवन अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका यी सबै प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

१) सुजता कार्की– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी पहिलो प्रतियोगी हुन् सुजता कार्की । चितवनको टाँडी निवासी उनी ब्याचलर थर्ड ईयर अध्ययन गर्दैछिन् । सानैदेखि गीत गाउन रहर गर्ने सुजिता अहिले संगीत पनि सिक्दैछिन् । सानोमा दिदीहरुले गीत गाउन सहयोग गरेको उनी बताउँछिन् । विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि उनी सहभागी हुने गर्छिन् । उनी यसअघि चितवन आईडलमा पनि सहभागी भएकी थिईन् । उनले अडिसनमा सुरुमा ‘नशालु तिम्रो आँखैले’ बोलको गीत गाएकी थिईन् । त्यसपश्चात उनले ‘लेकाली चोयाको डोको’ बोलको गीत गाएकी थिईन् । दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

२) किरण गुरुङ– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका दोस्रो प्रतियोगी हुन् किरण गुरुङ । सांगितिक ब्याण्डमार्फत अगाडि बढिरहेका उनले विभिन्न प्रतियोगिताहरुमा समेत भाग लिएका थिए । अडिसनमा ‘तिम्रो मन’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट तारिफ बटुलेका किरणलाई निर्णायकहरुले दोस्रो गीत गाउन लगाएका थिए । उनले दोस्रो पटक ‘चाहान्छु तिमीलाई’ बोलको गीत गाएका थिए । दोस्रो गीतमा पनि दमदार प्रस्तुति दिएका किरण दोस्रो गीतसँगै दोस्रो राउण्डका लागि छानिएका हुन् ।

३) समय खड्का– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका तेस्रो प्रतियोगी हुन् समय खड्का । चितवनमा जन्मिएका समय अहिले काठमाडौँमा बसोबास गर्छन् । गीतका शब्दहरु सिर्जन ागर्न मनपराउने उनी कम्पोजर, लिरिसिष्ट, एरेञ्जर र गायक हुन् । विभिन्न गायक गायिकाको गीतमा कम्पोजरका रुपमा काम गरिसकेका उनले केही गायक गायिकाकालागि गीतका शब्दहरु पनि तयार पारिसकेका छन् । उनका आफ्नै विभिन्न गीतहरु पनि सार्वजनिक भईसकेका छन् । अडिसनमा उनले सुरुमा ‘मेरो जीवन’ बोलको गीत गाएका थिए । उनले दोस्रो पटक ‘लैजा चरी’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

४) एलिना गुरुङ– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी चौथो प्रतियोगी हुन् एलिना गुरुङ । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । उनले अडिसनमा ‘जाउँ कि बसुँ’ बोलको गीत गाएकी थिईन् । दमदार प्रस्तुति दिएकी उनलाई निर्णायक रामकृष्ण ढकालले स्टेजमै गएर दोस्रो राउण्डका लागि सेलेक्ट गरेका थिए । उनी एउटै गीतबाट दोस्रो राउण्डका लागि छानिएकी हुन् ।

५) श्रीया नेपाल– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी पाँचौँ प्रतियोगी हुन् श्रीया नेपाल । सानैदेखि संगीतमा रुचि भएका श्रीयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् । उनले अडिसनमा ‘मायाका कुरा’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट नै दोस्रो चरणका लागि छानिएकी हुन् ।

६) विजय भण्डारी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका छैटौँ प्रतियोगी हुन् विजय भण्डारी । यस अघि नेपाल आईडलको सिजन ३ मा पनि सहभागी भएका विजयका केही गीतहरु समेत सार्वजनिक भईसकेका छन् । उनले अडिसनमा ‘घरको माया’ बोलको गीत गाएका थिए । निकै नै सुमधुर आवाजमा गीत गाएका विजय सोही गीतबाट दोस्रो चरणका लागि छानिएका हुन् ।

७) बिना सेञ्चुरी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी सातौँ प्रतियोगी हुन् बिना सेञ्चुरी । विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहने बिनाले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनले अडिसनमा ‘मैले जानिनँ कि ?’ बोलको गीत गाएकी थिईन् । निर्णायकहरुले दोस्रो गीत पनि गाउन लगाएपछि उनले ‘पलपल तिम्रै सम्झनामा’ बोलको गीत गाएकी थिईन् । उनी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छनौट भएकी हुन् ।

८) महेन्द्रराज बराल– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका आठौँ प्रतियोगी हुन् महेन्द्रराज बराल । नेपाल आईडल लगायतका विभिन्न प्रतियोगिताहरुमा समेत सहभागी भएका महेन्द्रले आफ्नै आवाजमा विभिन्न गीत पनि सार्वजनिक गरिसकेका छन् । गायकका रुपमा परिचय बनाईसकेका महेन्द्रका केही गीतहरु हिट पनि भइसकेका छन् । लामो समय संगीतको क्षेत्रमा लागेका उनले नेपाल आईडलमा पनि तहल्मा मच्चाएका थिए । उनले अडिसनमा ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएका थिए । मिठो आवाज भएका महेन्द्रले दोस्रो पटक ‘नभए साहारा’ बोलको गीत गाएका थिए । महेन्द्रको यो आफ्नै ओरिजिनल अनि चर्चित गीत पनि हो । उनी दुई वटा गीत पश्चात दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

९) सलिना बि.क.– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएकी नवौँ प्रतियोगी हुन् सलिना बि.क. । चितवनकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । तर सामाजिक रुपमा भने छोरी भएका कारण समाजले लगाउने लाञ्छनाले उनलाई पिडा दिन्छ । छोरीले पनि केही गर्न सक्छे भन्ने देखाउन तम्तयार भएर अगाडि बढेकी सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् । उनले अडिसनमा ‘मोया मोह’ बोलको गीत गाएर निर्णायकहरुको मन जितेकी थिईन् । अञ्जु पन्तलाई आईडल मान्ने गरेकी सलिनालाई अञ्जु पन्तले नै स्टेजमा गएर दोस्रो राउण्डका लागि छनौट गरेकी थिईन् ।

१०) लक्ष्मण महतो– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका दशौँ प्रतियोगी हुन् लक्ष्मण महतो । सर्लाही निवासी लक्ष्मण अहिले नवलपरासीको दलदलेमा कार्यरत छन् । संगीतमा निकै रुचि राख्ने लक्ष्मणले आफ्नो गुरुबाट सांगितिक क्षेत्रमा लाग्न निकै साथ पाएका छन् । करिब डेढ वर्ष गुरुसँगै संगीत सिकेका लक्ष्मणले विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाईसकेका छन् । धेरै ठाउँमा असफलता पाएता पनि एक न एकदिन सफल हुन्छु भन्ने सोचका साथ अगाडि बढेका लक्ष्मणले नेपाल स्टारको पहिलो चरण पार गरेका छन् । उनले यसअघि भ्वाईस अफ नेपाल सिजन २ र नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण आँखा अस्पतालमा सहायकको रुपमा काम गर्छन् । उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए । उनले अडिसनमा ‘मखमली पछ्यौरीले सानु’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट नै सबै निर्णायकहरुको मन जितेका लक्ष्मणले दोस्रो गीतको स्थायी मात्र गाए । त्यसपछि उनी दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

११) सन्दिप प्रधान– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका एघारौँ प्रतियोगी हुन् सन्दिप प्रधान । संगीत क्षेत्रमा सक्रिय उनले अडिसनमा ‘पंक्षी’ बोलको गीत गाएका थिए । निर्णायकहरुले दोस्रो गीत गाउन लाएपछि उनले ‘पैसा’ बोलको गीत गाएका थिए । दुई वटा गीत पश्चात उनी दोस्रो राउण्डका लागि छानिएका हुन् ।

१२) मोहन केसी– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका बाह्रौँ प्रतियोगी हुन् मोहन केसी । यसअघि उनी नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनले अडिसनमा ‘मायाले बोलायो मलाई’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छनौट भएका हुन् ।

१३) चन्द्रबहादुर पुन– नेपाल स्टारमा दोस्रो चरणका लागि चितवनबाट छानिएका तेह्रौँ प्रतियोगी हुन् चन्द्रबहादुर पुन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनले अडिसनमा ‘बाबुको जुंगो’ बोलको गीत गाएका थिए । उनी सोही गीतबाट दोस्रो चरणका लागि छानिएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*