प्रविण बेड्वालको पर्दा पछाडिको कथा

२३ चैत्र २०७६, आईतवार १२:१९
Featured Video Play Icon

मकवानपुर, २३ चैत । नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविण बेड्वाल स्टेजमा पुग्ने बित्तिकै उनको त्यस दिनको प्रस्तुति कस्तो होला भनेर दर्शक श्रोताहरुको मनमा कौतुहलता हुन्छ । सदैव सुमधुर आवाजमा गीत गाएर सबैको मन जित्न सफल प्रविणको आवाजमा फेरि अर्को गीत सुन्न श्रोता, दर्शक र शोका निर्णायकहरु पनि लालायित हुन्छन् । यदि भोटको सिस्टम नहुने हो भने प्रविण नेपाल आईडल सिजन ३ को विजेता हुन् भन्नेहरुको जमात पनि ठूलो छ । उनलाई निर्णायकहरुले संगीतका उस्तादको संज्ञा समेत दिएका छन् । नारायण गोपालदेखि अहिलेको पुस्तासम्मका गीतहरुलाई न्याय गरेर गाउन सफल प्रविणको फ्यान फलोईङ पनि उत्तिकै छ । तर प्रविण आफैमा एक रहस्य हुन् भन्नेहरु पनि धेरै छन् । स्टेजमा देखिने प्रविण, टेलिभिजन पर्दामा देखिने प्रविण र वास्तविक जीवनको प्रविणमा ठूलो अन्तर त छैन तर केही अन्तर भने अवश्य छन् । उनको पर्दा पछाडिको संघर्षको कथा छुट्टै छ । उनको आवाजको चर्चा एक ठाउँमा भएता पनि उनको वास्तविक कथा के हो ? यो सबैको चासोका विषय बनेको छ ।

प्रविण बेड्वाल गीत गाउँदा आफ्नो दाहिने हात सधैँ गोजीमा राख्छन् । उनको हात नेपाल आईडलको अडिसन हुनुभन्दा करिब केही महिनाअघि दुर्घटनामा परेर प्लाष्टर गरिएको धेरैले बताउँछन् । उनले शोमा पनि सोही कुरा बताएका छन् । तर उनको हातको विषय र त्यसको कथा दर्शकहरु प्राय जान्न चाहान्छन् । हुन त यो सामग्री तयार पार्दाको समयमा उनको हातका विषयमा धेरैको प्रश्नहरु तेर्सिएको थियो । ती प्रश्नहरु पढ्दा प्रविण अझ धेरै रहस्यमयी व्यक्तिका रुपमा परिचित हुन्छन् । जे होस् यो प्रश्न उनलाई सोधेर फेरि पनि त्यही दुर्घटनाको याद दिलाउन हामीले चाहेनौँ । अझ भनौँ प्रविणको हातको वास्तविकता के हो भनेर उनलाई प्रश्नको तनावमा पार्न हामीले चाहेनौँ । हरेक दर्शक श्रोतालाई प्रविणको आवाजसँगमात्र परिचित हुनु नै काफी छ जस्तो हामीलाई लाग्छ । उनको व्यक्तिगत मामलामा हस्तक्षेप गरेर अथवा उनलाई त्यो प्रश्न सोधेर हैरान बनाउनु त्यत्ति उचित नहोला । त्यसैले उनको हातको कथा यदि अहिले बताइएको भन्दा फरक रहेछ भने कुनैदिन अवश्य उनले बताउनेछन् । किनभने उनी गायन क्षेत्रमा स्थापित हुनेछन्, त्यो उनको आजका प्रस्तुतिहरुले बताउँछ । गायनसँगै उनी कुनै दिन चर्चाको शिखरमा हुनेछन् । उनी पब्लिक फिगर हुनेछन् जसबाट सायद प्रविणको जीवन व्यक्तिगत भन्दा पनि सामाजिक रुपमा बढी चासोको विषय बन्नेछ । हेर्नुहोस् भिडियो–

बर्दियाका प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । २३ वर्षीय प्रविण बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ४ सम्म आईपुगेका छन् । उनको फाईनल यात्रा कस्तो होला त्यो केही महिनामा नै थाहा हुनेछ । प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा उनी गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ पाएका थिएनन् । तर पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि अहिले उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।

प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ८ वटा अवार्ड जितेका छन् । उनले ६ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द विक अवार्ड प्राप्त गरेका छन् भने २ वटा रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड प्राप्त गरेका छन् । प्रविणले गाला राउण्डको उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा सर्वाधिक भोट समेत प्राप्त गरेका थिए । यसरी चर्चा र परिचर्चाका केन्द्रबिन्दु बनेका प्रविण नेपाल आईडलको विजेता नै बन्लान् वा नबन्लान् त्यो भने केही हप्ता कुर्नु नै पर्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*