नेपालमा तेस्रो व्यक्तिमा पनि कोरोना सङ्क्रमण भएको पुष्टि,को हुन् तेस्रो व्यक्ति ?

मकवानपुर, १२ चैत । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले यसको पुष्टि गरेको बिबिसीले जनाएको छ । योसहित नेपालमा भेटिएका सङ्क्रमितको संख्या तीन पुगेको छ । तर त्यसमध्ये एक जना निको भइसकेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि अरूबाट अलग्गै राखिएको बताइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०–३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका थिए ।
यसअघिका दुई संक्रमित मध्ये फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थी निको भइसकेका छन् भने गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि सङ्क्रमण भएको पुष्टि भएको थियो । उनको अहिले उपचार भईरहेको छ । दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन सरकारले मंगलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।–बिबिसीको सहयोगमा