कोरोनाबाट आफुलाई मात्र होईन अरुलाई पनि बचाउनुहोस्

६ चैत्र २०७६, बिहीबार १६:४४
Featured Video Play Icon

मकवानपुर, ६ चैत । नेपाल सरकारले नागरिकलाई सकभर घरभित्रै बस्न निर्देशन दिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न निर्देशन दिएको हो । चैत ५ गते सिंहदरबारमा बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आम जनमानसलाई घरभित्रै बस्न, धार्मिक तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्न र २५ जना भन्दा धेरै जना भेला नहुन पनि निर्देशन दिएको छ । त्यस्तै पार्टी प्यालेसहरुमा जमघट नगर्न पनि सरकारले निर्देशन दिएको छ । त्यसैले कोरोनाबाट बच्नका लागि केही नियमहरु पालना गर्नुपर्ने देखिन्छ–

१) सरकारको निर्देशन मान्नुहोस्
कोरोनाको उच्च जोखिमबाट बच्न हामी सबैले नेपाल सरकारले दिएका निर्देशनहरुको पालना गर्नु उचित देखिन्छ । हुन त नेपालमा अहिले कोरोनाले केही गर्न सक्दैन । यो बुढाबुढी भएकाहरुका लागि र मुटु तथा फोक्सो सम्बन्धी रोग लागेकाहरुका लागि मात्र खतरनाक हो भनेर प्रचार गरिएको छ । यो कुरा केही मात्रमा सही भएता पनि पूर्णरुपमा सही कुरा होईन । रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिसलाई कोरोना लाग्यो भने पनि त्यसको खतरा हाम्रा आमाबुवाका साथै रोगी आफन्तलाई रहन्छ । त्यसैले बुद्धिमानपूर्वक सरकारले दिएका निर्देशनहरु पालना गर्नु नै उचित देखिन्छ ।

२) आफैले कदम चाल्नुहोस्
‘बुद्धिमान मानिस खतरा आएको देखेपछि लुक्छ तर अनुभवहीन मानिस सरासर अगाडि बढ्छ र दुःख भोग्छ’ अहिले हाम्रो अवस्था यस्तै छ । त्यसैले बुद्धिमान बन्नु नै यो खतराको समयमा उचित कदम हुनेछ । मलाई केही हुँदैन, डराएर हुँदैन भन्ने मानसिकता हामीमा भयो भने हामीले आफुलाई मात्र होईन अरुलाई पनि खतरामा पार्छौँ । त्यसैले बेलैमा सचेत बनौँ । आफ्ना साथीहरुसँग जमघट हुने युवाहरुले सावधानी अपनाउनुपर्ने जरुरत देखिएको छ । हामीले आफैले सावधानी अपनायौँ भने हामी मात्र होईन हामीले अरुलाई पनि बचाउन सक्छौँ ।

३) अरुको अनुभवबाट सिक्नुहोस्
हामीले कोरोनाको खतराका बारेमा सुरुमा चीनबाट अनि दोस्रो पटक ईटालीको जनताको अनुभवबाट धेरै कुरा सिकेका छौँ । यसले कसैलाई बाँकी राख्दैन । मानिसले सबै कुरा अनुभव गरेर मात्र होईन हेरेर पनि सिक्नजान्नुपर्छ । चीनमा उच्च जोखिम भएका बेला त्यसलाई हल्का रुपमा लिएका ईटालीहरुले निकै जोखिम भोगे । हामी त्यस्तो जोखिम उठाउन सक्ने अवस्थामा छैनौँ । याद गर्नुहोस्, एक वर्षअघि डेङ्गु लाग्दा हाम्रा अस्पतालहरुमा उपचार गर्न मौका नै थिएन । बेड पनि थिएन र स्वास्थ्यकर्मी पनि । कोरोना त्यो भन्दा पनि ब्यापक र खतरनाक छ । यस्तो अवस्थामा हामी आफुले सजग भएनौँ भने हामीले अरु धेरेलाई जोखिममा पार्नेछौँ । त्यसैले बेलैमा सचेत बनाँै, बिगतका र अरुका अनुभवबाट पाठ सिकौँ ।

४) कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठन, बिबिसी र नेपाल सरकारको निर्देशन पालना गर्नुहोस्
कोरोना भाईरसको आतंक बढेसँगै युट्युब र विभिन्न संचारमाध्यममा केबल पैसा कमाउने उदेश्यले मात्रै पनि विभिन्न गलत सूचनाहरुको प्रवाह भईरहेको छ । यस्तो अवस्थामा तपाईले भरपर्दो सूचनाको श्रोतको रुपमा विश्व स्वास्थ्य संगठनको वेबसाईट, यसले तयार पारेको भिडियो र कोरोनाबाट बच्न दिएको निर्देशनलाई भरपर्दो सूचनाका रुपमा उपयोग गर्न सक्नुहुन्छ । त्यस्तै अंग्रेजी बुझ्न गारो छ भने बिबिसी नेपाली सेवाको वेबसाईटमा कोरोनाबारे नेपालीमै अपडेटहरु पढ्न र हेर्न सक्नुहुन्छ । यी दुई श्रोत र नेपाल सरकारले कोरोनाबाट बच्न दिएका निर्देशनहरुको राम्ररी पालना गर्नुहोस् । राम्ररी हात धुन, स्यानिटाईजर प्रयोग गर्न, भिडभाडमा नजान, कार्यक्रमहरु नगर्न, शंका लागेमा उपचार गर्न र नेपाल सरकारले उपचारका लागि तोकेका ठाउँहरुका बारेमा जानकारी लिएर तपाई यी तीनै माध्यमहरु नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र बिबिसी नेपाली सेवाको निर्देशनहरु पालन गर्न सक्नुहुन्छ ।
बिपद पर्दा धेरै चिन्ता नगरी बुद्धिमान निर्णय गर्नका लागि तपाईलाई हामी आग्रह गर्छौँ । तपाई यी कुराहरुलाई मनमा राखेर अगाडि बढ्नुहोस् । सचेत रहनुहोस्, स्वस्थ रहनुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*