नेपाल आईडलका उत्कृष्ट ५ प्रतियोगीहरुको कथा

६ चैत्र २०७६, बिहीबार १६:३८
Featured Video Play Icon

मकवानपुर, ०६ चैत । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ का उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । बिहीबार शोका चर्चित प्रतियोगी मुस्कान रानाभाट बाहिरिएसँगै उत्कृष्ट ५ प्रतियोगीहरुको छनौट पुरा भएको हो । प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ, मेघा श्रेष्ठ र नेशन पुन मगर रहेका छन् । यस भिडियो सामग्रीमा यी नै ५ प्रतियोगीहरुको बारेमा छोटो जानकारी र उनीहरुले पाएका अवार्डहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

१) नेशन पुन मगर– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् नेशन पुन मगर । पोखराका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्ता मेघा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले तेस्रो हप्ता नै उत्कृष्ट १० को प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको पाँचौँ हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड र गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै गाला राउण्डको आठौँ हप्ता धमेन्द्र सेवानसँगको प्रस्तुतिका क्रममा उनले स्वप्निल शर्मासँग युगल गायन प्रस्तुत गरेका केविन ग्लान तामाङसँगै कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड प्राप्त गरेका थिए । उनले गाला राउण्डको पहिलो र सातौँ हप्ताको प्रस्तुति पश्चात सर्वाधिक भोट प्राप्त गरेका थिए । उनले गाला राउण्डको आठौँ हप्तामा नै उत्कृष्ट ५ को सोालो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द डे अवार्ड प्राप्त गरेका थिए ।

म्याग्दीका नेशन पुन मगर २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । उनले यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागी भएका थिए ।

२) मेघा श्रेष्ठ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् मेघा श्रेष्ठ । मेघाले गोल्डेन माईकसँगै गाला राउण्डमा ७ वटा अवार्ड जितिसकेकी छिन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा र तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेकी थिईन् । उनले चौथो हप्ता केविन ग्लान तामाङ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा उनले बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । उनले गाला राउण्डको आठौँ हप्ता उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा पनि बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड नै जितेकी थिईन् ।

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारामा बस्छिन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघाले औपचारिक रुपमा संगीत भने सिकेकी छैनन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । संगीत यात्रामा आफन्तको पनि साथ पाएकी मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीतसँगीतमा रुचि राख्छन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

३) सज्जा चौलागाइ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जित्ने प्रतियोगीमध्येकी एक सज्जाले गाला राउण्डको आठौँ हप्तासम्ममा ९ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, केविन ग्लान तामाङ र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । पाँचौँ हप्ता प्रविण बेड्वालसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी उनले पाँचौँ हप्ता नै उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । त्यस्तै छैटौँ हप्ता बिक्रम बरालसँगको युगल प्रस्तुतिका क्रममा पनि सज्जाले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेकी थिईन् । उनले गाला राउण्डको सातौँ हप्ता उत्कृष्ट ६ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

४) प्रविण बेड्वाल– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविनले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ८ वटा अवार्ड जितेका छन् । उनले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र चौथो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिका क्रममा पनि ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड नै जितेका थिए । त्यस्तै उनले चौथो हप्ताकै सोलो पर्फोमेन्सका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र केविन ग्लान तामाङ, सज्जा चौलागाई र मेघा श्रेष्ठसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले पाँचौँ हप्ता सज्जा चौलागाईसँगको प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र पाँचौँ हप्ता नै उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा सज्जा चौलागाईसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । त्यस्तै गाला राउण्डको आठौँ हप्ता उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेका थिए । उनले गाला राउण्डको उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा सर्वाधिक भोट प्राप्त गरेका थिए ।

बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । संगीतका उस्तादको संज्ञा पाएका प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ११ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि अहिले उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।

५) केविन ग्लान तामाङ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् केविन ग्लान तामाङ । केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिन ग्लान तामाङले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका थिए । उनले बिरगञ्ज अडिसनमा बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड समेत जितेका थिए । गाला राउण्डको चौथो हप्ता उनले मेघा श्रेष्ठ, सज्जा चौलागाई र प्रविण बेड्वालसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनले गाला राउण्डको पाँचौँ हप्ता उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा किरण कुमार भुजेलसँग संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै छैटौँ हप्तामा उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । त्यस्तै गाला राउण्डको आठौँ हप्ता गायक स्वप्निल शर्मासँगको प्रस्तुतिका क्रममा उनले धमेन्द्र सेवानसँग प्रस्तुति दिएका नेशन पुन मगरसँगै कोकाकोला अपलिफ्टीङ पफोर्मेन्स अफ दे डे अवार्ड प्राप्त गरेका थिए । केविनले उत्कृष्ट ८ को प्रस्तुति पश्चात खुलेको भोटिङमा सर्वाधिक भोट समेत प्राप्त गरेका थिए ।

नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुतिका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*