प्रविण बेड्वाललाई सर्वाधिक भोट, भन्छन्–‘दर्शकको माया र भोटले सफल भएँ’

२५ फाल्गुन २०७६, आईतवार १५:४१
Featured Video Play Icon

मकवानपुर, २५ फागुन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को उत्कृष्ट ६ मा परेका प्रविण बेड्वाललाई सर्वाधिक भोट प्राप्त भएको छ । उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा उनले सर्वाधिक भोट प्राप्त गरेका हुन् । सर्वाधिक भोट प्राप्त गरेसँगै उनले आफ्ना सबै दर्शक र शुभचिन्तकहरुलाई आभार प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसको केही अंश यस्तो छ–‘यो हप्ता सबैभन्दा धेरै भोटले म उत्कृष्ट ६ भित्र पर्न सफल भएँ । यो सफलता मेरोभन्दा बढि तपाई दर्शक श्रोताहरुको हो भन्ने मलाई लाग्छ । नेपाल आइडलको मन्चमा मैले गित प्रस्तुत गरेर मात्रै मेरो यात्रा अगाडि बढेको होइन । निर्णायकहरुको उचित सल्लाह, सुझाब र हौसला मेरो लागि सन्जिवनी हो भने दर्शक श्रोताहरुको साथ, माया र अमुल्य भोट मेरो नेपाल आइडल यात्राको भर्याङ हो । तपाइहरुको भर्याङरुपी भोटका आधारमा म कति पनि बिचलित नभै यात्रा गर्नेछु । हेरौँ भिडियो–

दर्शकको माया धेरै आवश्यक छ, तर तपाईहरुको धेरै मायाले म कदापी मात्तिने छैन । मेरो ध्यान केवल आफ्नो प्रस्तुति कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित भइरहने छ । मैले जुनसुकै गितलाई न्याय गरेर गाउन सकेँ भनेँ मात्रै दर्शक श्रोताको माया र भोट माग्न योग्य हुनेछु । यहाँहरुको साथ, माया र भोटले आजसम्मको यात्रा तय भएको सम्पुर्ण जस तपाईहरुलाई नै दिन चाहन्छु । यात्रा अझै जारी छ । त्यसैले फेरी पनि मेरो गायकीको उचित मुल्याङ्कन गरेर धेरैभन्दा धेरै भोट गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । भोटिङ खुला भइसकेको छ । आगामी सोमबार दिउँसो १२ बजेसम्मको अवधिमा धेरैभन्दा धेरै भोट गरेर संगितको शिखरमा पुग्ने यात्रामा सारथी बनिदिनुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु । सबैमा नमन अनि प्रणाम ।

प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविनले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । उनले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र चौथो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिका क्रममा पनि ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड नै जितेका थिए । त्यस्तै उनले चौथो हप्ताकै सोलो पर्फोमेन्सका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र केविन ग्लान तामाङ, सज्जा चौलागाई र मेघा श्रेष्ठसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । साथै पाँचौँ हप्ता उनले सज्जा चौलागाईसँगको प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र पाँचौँ हप्ता नै उत्कृष्ट ८ को सोलो प्रस्तुतिका क्रममा सज्जा चौलागाईसँगै संयुक्त रुपमा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले गाला राउण्डको छैटौँ हप्ता उत्कृष्ट ७ को सोलो प्रस्तुतिका क्रममा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जिेतका थिए । उनले गाला राउण्डको उत्कृष्ट ७ को प्रस्तुतिपश्चात खुलेको भोटिङमा सर्वाधिक भोट प्राप्त गरेका थिए ।

बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । उनले गाला राउण्डको पहिलो हप्ता नरेन्द्र प्यासीको आवाजमा रहेको ‘के भुल भयो प्रिया’ बोलको गीत गाएर ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ को अवार्ड समेत जितेका थिए । निर्णायक कालिप्रसाद बासकोटाले उनलाई उस्तादको संज्ञा समेत दिएका थिए । उनको प्रस्तुति नै सिजन ३ को गाला राउण्डमा पहिलो रेष्पेक्ट पर्फोमेन्स बन्न सफल भएको थियो । नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका प्रविण २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ११ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । साँगितिक परिवारमा नहुर्के पनि उनी संगीतको क्षेत्रमा सानैदेखि सक्रिय छन् ।

सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि नेपाल आईडलमा आएपछि उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । बुवा भनेको नमान्दै ‘संगीत कि घर’ भन्ने अप्सनमा उनले संगीतलाई रोजेका थिए । त्यसैकारण प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर संगीत क्षेत्रमै लागेर प्रसिद्धि कमाएका कारण अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*