नेपाल आईडलका उत्कृष्ट ९ प्रतियोगीहरु

३ फाल्गुन २०७६, शनिबार ०८:१४
Featured Video Play Icon

मकवानपुर, ३ फागुन । चर्चित गायन प्रतियोगिता नेपाल आईडलको उत्कृष्ट ९ प्रतियोगीहरु छनौट भएका छन् । गाला राउण्डमा प्रतिस्पर्धा गरेका १० प्रतियोगीहरुमध्ये हेटौँडाकी मिग्मा लामा बाहिरिएपछि उत्कृष्ट ९ प्रतियोगीहरुको छनौट भएको हो । उत्कृष्ट ९ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, ममता गुरुङ, मुस्कान रानाभाट, नेशन पुन मगर, प्रविण बेड्वाल, केविन ग्लान तामाङ, किरण कुमार भुजेल र रचना रिमाल रहेका छन् । यस भिडियो सामग्रीमा उत्कृष्ट ९ मा पर्न सफल प्रतियोगीहरुका बारेमा विस्तृत रुपमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

१) मेघा श्रेष्ठ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी पहिलो प्रतियोगी हुन् मेघा श्रेष्ठ । मेघाले गोल्डेन माईकसँगै गाला राउण्डमा ४ वटा अवार्ड जितिसकेकी छिन् । मेघाले गाला राउण्डको पहिलो हप्ता बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी थिईन् । त्यस्तै गाला राउण्डको दोस्रो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिमा र तेस्रो हप्ता नेशन पुन मगरसँगको जोडी प्रस्तुतिका क्रममा उनले कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन् । तेस्रो हप्ता नै उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेकी थिईन् । मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा नै ब्याण्ड प्रस्तुतिका क्रममा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् ।

विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघो औपचारिक रुपमा संगीत भने नसिकेको बताउँछिन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । उनको संगीत यात्रामा उनको आफन्तको पनि साथ छ । मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीत गुनगुनाउँछन् । एकप्रकारले साँगितिक परिवारमै मेघा हुर्किएकी हुन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।

२) सज्जा चौलागाइ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी दोस्रो प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जित्ने एकमात्र प्रतियोगी बनेकी सज्जाले गाला राउण्डको तेस्रो हप्तासम्ममा ४ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले गाला राउण्डको पहिलो र दोस्रो हप्तामा गरी २ वटा ‘रेस्पेक्ट पर्फोमेन्स अफ द विक’ को अवार्ड जितेकी थिईन् । त्यस्तै काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ को अवार्ड पनि जित्न सफल भएकी थिईन् । यसर्थ उनले नेपाल आईडलमा ४ वटा अवार्डहरु जितिसकेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जाले साँगितिक दुनियाँमा ६ वर्षदेखि लागिपरिहेकी छिन् । सानैदेखि गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध उनलाई ब्याण्ड मेम्बरहरुले साँगितिक करियर निर्माणकालागि निकै सहयोग गरेका छन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

३) ममता गुरुङ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी तेस्रो प्रतियोगी हुन् ममता गुरुङ । नेपाल आईडल सिजन ३ को मञ्चमा सबैको मन जित्न सफल ममता गुरुङ १७ वर्षकी छिन् । रेडियो साराङकोटमा रेडियो जक्कीका रुपमा कार्यरत ममताले सानैदेखि बुवासँग संगीत सिकेकी हुन् । संगीत क्षेत्रमा नै संघर्षरत बुवाको पदचाप पछ्याउँदै अघि बढेकी ममता आफ्नो आमाबुवाको सपना पुरा गर्न चाहान्छिन् । कारणवश संगीत क्षेत्र छोड्न बाध्य भएका आफ्ना बुवाको अधुरो सपना उनी पुरा गर्न चाहान्छिन् । शास्त्रीय संगीतमा रुचि राख्ने ममताको संगीतको पहिलो गुरु नै उनको बुवा हुन् । कक्षा ११ मा अध्ययनरत ममता निरन्तर संगीतको शिखरतर्फ अग्रसर छिन् ।

४) मुस्कान रानाभाट– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी चौथो प्रतियोगी हुन् मुस्कान रानाभाट । पोखराकी मुस्कान रानाभाटले गाला राउण्डको दोस्रो हप्ताको प्रस्तुतिमा ‘बर्जर ग्लामर मोमेन्ट अफ द विक’ अवार्ड समेत जितेकी छिन् । नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी २२ वर्षिया मुस्कानले संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी छिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । सानोमा गाउन नजाने पनि गाउँछु भन्दै अग्रसरता देखाएको उनी सम्झन्छिन् । सानोमा साईबाबाको भजन गाउने गरेकी मुस्कानले साँगितिक परिवारमै हुर्कने मौका पाएकी थिईन् । बुवा साँगितिक बाजाहरु ब्जाउने र आमा गाउने कलामा निपुण भएका कारण मुस्कानले पनि संगीतमा रुचि राख्दै अघि बढेकी हुन् । संगीतकार बन्ने बुवा र आमाको सपनालाई अहिले मुस्कानले अघि बढाएकी छिन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् ।

५) नेशन पुन मगर– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेका पाँचौँ प्रतियोगी हुन् नेशन पुन मगर । पोखराका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ३ वटा अवार्ड जितेका छन् । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र गाला राउण्डको तेस्रो हप्ता मेघा श्रेष्ठसँगको जोडी प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । त्यस्तै उनले तेस्रो हप्ता नै उत्कृष्ट १० को प्रस्तुतिका क्रममा कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड नै जितेका थिए । उनले एकपटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । पोखराका नेशन पुन मगरले गाला राउण्डको पहिलो हप्ता सर्वाधिक भोट प्राप्त गरेका थिए । उत्कृष्ट १२ मा परेकाहरुमध्ये नेशनले सर्वाधिक भोट प्राप्त गरेका हुन् । ‘हाईएस्ट भोटेट कन्टेस्टेन्ट’ बनेका नेशन २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागी भएका उनले पोखरा अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे पनि जितेका थिए ।

६) प्रविण बेड्वाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेका छैटौँ प्रतियोगी हुन् प्रविण बेड्वाल । उनले नेपाल आईडलको स्टेजमा अहिलेसम्म २ वटा अवार्ड जितेका छन् । उनले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र चौथो हप्ता मिग्मा लामासँगको जोडी प्रस्तुतिका क्रममा पनि ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड नै जितेका थिए । बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । उनले गाला राउण्डको पहिलो हप्ता नरेन्द्र प्यासीको आवाजमा रहेको ‘के भुल भयो प्रिया’ बोलको गीत गाएर ‘कोकाकोला अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ को अवार्ड समेत जितेका थिए । निर्णायक कालिप्रसाद बासकोटाले उनलाई उस्तादको संज्ञा समेत दिएका थिए । उनको प्रस्तुति नै सिजन ३ को गाला राउण्डमा पहिलो रेष्पेक्ट पर्फोमेन्स बन्न सफल भएको थियो । नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका प्रविण २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ११ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । साँगितिक परिवारमा नहुर्के पनि उनी संगीतको क्षेत्रमा सानैदेखि सक्रिय छन् ।

सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि नेपाल आईडलमा आएपछि उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । बुवा भनेको नमान्दै ‘संगीत कि घर’ भन्ने अप्सनमा उनले संगीतलाई रोजेका थिए । त्यसैकारण प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर संगीत क्षेत्रमै लागेर प्रसिद्धि कमाएका कारण अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।

७) केविन ग्लान तामाङ– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेका सातौँ प्रतियोगी हुन् केविन ग्लान तामाङ । केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ३ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिन ग्लान तामाङले गाला राउण्डको पहिलो हप्ता ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ को अवार्ड जितेका थिए । उनले बिरगञ्ज अडिसन र गाला राउण्डको तेस्रो हप्तामा बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड समेत जितेका थिए । नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुतिका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् ।

पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । विभिन्न स्थानमा गीगहरु गर्दै आएको ब्याण्डलाई उनी निकै माया गर्छन् । ब्याण्डका साथीहरुले उनको अभ्यासका लागि निकै सहयोग समेत गर्दै आएका छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।

८) किरण कुमार भुजेल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेका आठौँ प्रतियोगी हुन् किरण कुमार भुजेल । नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरणले नेपाल आईडलमा अहिलेसम्म एकवटा अवार्ड जितेका छन् । गाला राउण्डको दोस्रो हप्ताको शुक्रबार उनले ‘कोकाकोला अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड जितेका हुन् । २६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरणले एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरे । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ‘नरनारीबाट प्रेमको’ बोलको पहिलो गीत सार्वजनिक गरेपश्चात किरणले ब्याण्डहरुसँगको सहकार्यका गीगहरु समेत गर्दै आएका छन् । ५० वटाभन्दा बढी गीत सार्वजनिक गरिसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् ।

९) रचना रिमाल– नेपाल आईडल सिजन ३ को उत्कृष्ट ९ मा पुगेकी नवौँ प्रतियोगी हुन् रचना रिमाल । गाला राउण्डको तेस्रो र चौथो हप्ता सर्वाधिक भोट प्राप्त गरेकी रचना उत्कृष्ट ९ मा प्रवेश गरेकी¬ हुन् । झापाको भद्रपुर निवासी रचना रिमाल १७ वर्षकी छिन् । कक्षा ११ मा अध्ययनरत रचनाले सानै उमेरमा संघर्ष गर्न सिकेकी छिन् । मिठो चटपटे बनाउने रचनालाई भद्रपुरमा धेरैले चटपटेवाली भनेर चिन्छन् । सानो छँदा मन्दिरमा भजन गाउने गरेकी रचनाले विद्यालयमा हुने विभिन्न कार्यक्रममा भाग लिँदै गीत गाउन थालेकी हुन् । कक्षा ९ मा अध्ययन गर्दाको समयमा संगीतको कक्षामा भर्ना भए पनि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । उनको संगीत सिकाईको समय ४ महिनामा मात्र सिमित भयो । संगीतमै करियर बनाउने योजनामा रहेकी रचनालाई संगीतमा लगाव भएका कारण उनका आमाबुवाले समेत साथ दिएका छन् । सबैले चटपटेवाली भनेर चिनेता पनि उनी आफ्नै नामले चिनिन चाहान्छिन् । आदरणिय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईको विचारमा नेपाल आईडन सिजन ३ को विजेता को बन्नेछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*