यी हुन् नेपाल आईडलका उत्कृष्ट ११ प्रतियोगीहरु

१७ माघ २०७६, शुक्रबार २०:०५
Featured Video Play Icon

मकवानपुर, १७ माघ । चर्चित सिंगिङ रियालिटी शो ‘नेपाल आईडल’ सिजन ३ मा उत्कृष्ट ११ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट १२ मा रहेकी मकवानपुरकी स्वस्तिका ढकाल बिहिबार कम भोटका कारण बाहिरिएपछि उपाधी दाबेदारहरुको संख्या ११ मा झरेको हो । यस भिडियो सामग्रीमा उत्कृष्ट ११ मा परेका प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । उनी २४ वर्षकी छिन् । काठमाडौँ अडिसनबाट छानिएकी मेघा काठमाडौँ बसुन्धारा निवासी हुन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । त्यस समयमा ब्याण्ड प्रस्तुतिका क्रममा आफुमात्र फिमेल सिंगरका रुपमा स्टेजमा उत्रने गरेको उनी सम्झन्छिन् । अहिले पुरानो विद्यालयमा जाँदा समेत उनको चर्चा हुन्छ । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा चौलागाई मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । उनी अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै छिन् । साँगितिक दुनियाँमा ६ वर्षदेखि संघर्षरत सज्जा रेष्टुरेन्टहरुमा समेत गीत गाउँथिन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । बुवा गाउँमा भएका कारण भाईका लागि आवश्यक सबै कुराको जोहो गर्न उनी संघर्षरत छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध उनलाई ब्याण्ड मेम्बरहरुले साँगितिक करियर निर्माणकालागि निकै सहयोग गरेका छन् । उनले काठमाडौँ अडिसन र थिएटर राउण्डको बेस क्याम्पबाट ‘बर्जर ग्लामर मोमेन्ट अफ द डे’ जित्न सफल भएकी थिईन् ।

नेपाल आईडल सिजन ३ को मञ्चमा सबैको मन जित्न सफल अर्की प्रतियोगी हुन् ममता गुरुङ । पोखरा निवासी उनी १७ वर्षकी छिन् । । रेडियो साराङकोटमा रेडियो जक्कीका रुपमा कार्यरत ममताले सानैदेखि बुवासँग संगीत सिकेकी हुन् । संगीत क्षेत्रमा नै संघर्षरत बुवाको पदचाप पछ्याउँदै अघि बढेकी ममता आफ्नो आमाबुवाको सपना पुरा गर्न चाहान्छिन् । कारणवश संगीत क्षेत्र छोड्न बाध्य भएका आफ्ना बुवाको सपना पुरा गर्ने जिम्मेवारी पनि ममताको काँधमा छ । बुवालाई बेस्ट फ्रेण्ड सम्झने ममता निरन्तर संगीतको शिखरतर्फ अग्रसर छिन् । नेपाल आईडल सिजन ३ मा रकिङ प्रस्तुति दिँदै चर्चामा आएकी अर्की प्रतियोगी हुन् मिङ्मा लामा । सुमधुर आवाजकी धनी मिङ्मा हेटौँडा निवासी हुन् । उनी २१ वर्षकी छिन् । स्केचेच ब्याण्डमा आवद्ध मिङ्मा काठमाडौँको विभिन्न स्थानहरुमा गीग समेत गर्छिन् । मिङ्माले पियानो राउण्डमा बर्जर ग्लामर मोमेन्ट अफ द उईक अवार्ड समेत जितेकी थिईन् ।

नेपाल आईडल सिजन ३ मा फरक प्रस्तुतिहरु दिएर चर्चामा आएकी प्रतियोगी हुन् मुस्कान रानाभाट । उनी पोखरा अडिसनबाट छानिएकी हुन् । उनी २२ वर्षकी छिन् । संगीत विषयमै स्नातक अध्ययन गरिरहेकी मुस्कान अहिले तेस्रो वर्षमा अध्ययन गर्दैछिन् । ९ वर्षको उमेरमा नै ‘बेबी मुस्कान’ नामक एल्बम निकालेकी मुस्कान सानै उमेरदेखि सँगीतको क्षेत्रमा लागेकी हुन् । आफु सहभागी भएको कुनै पनि साँगितिक कार्यक्रममा प्रथम हुने गरेकी मुस्कानलाई उनका परिवारले पनि संगीतमै करियर बनाउन मदत गरेका छन् । नेपाल आईडलको पहिलो र दोस्रो सिजनमा समेत भाग लिने ईच्छा गरेकी मुस्कान अन्ततः तेस्रो सिजनमा संगीतको शिखर पुग्ने दौडमा होमिएकी छिन् । नेपाल आईडल सिजन ३ को उपाधि दाबेदारका रुपमा हेरिएका अर्का प्रतियोगी हुन् नेशन पुन मगर । दमदार आवाजका कारण चर्चा कमाउन सफल नेशन पोखराबाट छानिएका हुन् । उनी २० वर्षका छन् । दोस्रो सिजनमा समेत सहभागी भएका उनलाई यो पटक उपाधि दाबेदारको रुपमा समेत हेरिएको छ । उनले पोखरा अडिसनबाट बर्जर ग्लामर पर्फोमर मोमेन्ट अफ द डे पनि जितेका थिए । नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका प्रतियोगी हुन् प्रविण बेड्वाल । सुमधुर आवाजले दर्शकको मन जित्न सफल प्रविण चितवन निवासी हुन् । उनी २३ वर्षका छन् । उनी बुटवल अडिसनबाट छानिएका हुन् । उनले सँगीत विषयमा नै स्नातक गरेका छन् ।

नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुति दिएर चर्चामा आएका अर्का प्रतियोगी हुन् कमल शोब । निर्णायकको मन जित्न सफल कमल धनगढी निवासी हुन् । उनी २० वर्षका छन् । सानैदेखि संगीतमा रुचि राख्ने कमल कुनै समय ब्याण्डमा समेत आवद्ध थिए । उनी ब्याण्डसँगै प्रस्तुति दिन्थे । ब्याण्डमा नै उनले सँगीतको सारेगम सिकेका हुन् । ब्याण्डमा रिदम गितारिष्ट र भोकलिष्ट भएर काम गरेका कमलले औपचारिक रुपमा भोकल क्लास भने लिएका छैनन् । गीतार सिकेका कमल संगीतलाई निकै महत्व दिन्छन् । उनले नेपालगञ्ज अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड पनि जितेका थिए । नेपाल आईडल सिजन ३ मा धमाका मच्चाउन सफल प्रतियोगी हुन् केविन ग्लान तामाङ । दमदार प्रस्तुतिका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २२ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई बुवाले उपहार दिनुभएको गीतारले थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गरे । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । विभिन्न स्थानमा गीगहरु गर्दै आएको ब्याण्डलाई उनी निकै माया गर्छन् । ब्याण्डका साथीहरुले उनको अभ्यासका लागि निकै सहयोग समेत गर्दै आएका छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । उनले बिरगञ्ज अडिसनबाट बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड समेत जितेका थिए ।

किरण कुमार भुजेल– नेपाल आईडल सिजन ३ का अर्का चर्चित प्रतियोगी हुन् किरण कुमार भुजेल । २६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरण आफुलाई अझै निखार्दै संगितको शिखरतिर अग्रसर छन् । रचना रिमाल– नेपाल आईडल सिजन ३ मा आफ्नो गायन कला प्रस्तुत गरिरहेकी अर्की प्रतियोगी हुन् रचना रिमाल । सुमधुर आवाजकी धनी रचना झापाको भद्रपुर निवासी हुन् । उनी १७ वर्षकी छिन् । कक्षा ११ मा अध्ययनरत रचनाले सानै उमेरमा संघर्ष गर्न सिकेकी छिन् । मिठो चटपटे बनाउने रचनालाई भद्रपुरमा धेरैले चटपटेवाली भनेर चिन्छन् । विद्यालयमा पढ्दाको समयमा नै गायन प्रतियोगिताहरुमा भाग लिने गरेकी रचनाले गायन प्रतियोगिताबाटै हार्मोनियम पनि जित्न सफल भएकी थिईन् । सबैले चटपटेवाली भनेर चिनेता पनि उनी आफ्नै नामले चिनिन चाहान्छिन् । निर्णायक न्ह्यु बज्रचार्य उनको घरमै उनको आवाज सुन्न पुगेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published.


*