कुलमान घिसिङको सत्य कथा (भिडियो)

६ मंसिर २०७६, शुक्रबार १४:०२

मकवानपुर, ६ मंसिर । कुनै समय नेपालमा लोडसेडिङले विरक्त बनाएको समय थियो । देशमा १८ घण्टाभन्दा बढी लोडसेडिङ भएका कारण देशको विकास पनि ठप्प भएको थियो । एक प्रकारले विद्यूत माफियाहरुले देशलाई कंगाल बनाईसकेका थिए । तर त्यस्तै समयमा एक जना व्यक्तिले अँध्यारो नेपाललाई उज्यालो बनाईदिए । उनको प्रयासमा मलजल गर्नुको साटो उनलाई विफल बनाउने र फसाउने षड्यन्त्रहरु रचियो तै पनि ती व्यक्ति धर्मराएनन् । उनले उज्यालो नेपालको सपना साकार पारे । उनी हुन् उज्यालो नेपालका महानायक कुलमान घिसिङ । उनी नेपाली समाजमा राष्ट्रिय हिरोको रुपमा परिचित छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हुन् कुलमान घिसिङ । उनले वि सं २०७३ साल देखि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा काम गरेका हुन् । उनी विगत २५ वर्ष देखि प्राधिकरणको सेवामा छन् ।

वि.सं. २०२७ साल मंसिर २७ गते रामेछाप जिल्लाको तत्कालिन वेथान गाविसमा पर्ने डहुमा जन्मिनुभएका उनी सामान्य परिवारमा हुर्किएका थिए । कक्षा २ सम्म गाउँमा नै अध्ययन गरेका कुलमान तेज दिमाग भएका विद्यार्थीका रुपमा चिनिन्थे । एक स्कूलबाट अर्को स्कुलमा भर्ना गर्दा उनी आफुले अध्ययन गरिरहेको कक्षाभन्दा एक कक्षामाथि भर्ना गर्थे । वास्तवमा भन्नुपर्दा उनले कक्षा ३ र कक्षा ६ कहिल्यै पढेनन् । उनको अद्भूत क्षमता देखेर उनका दाजुहरुले उनलाई एक कक्षा थपेर भर्ना गरिदिन्थे । कुशेश्वर निम्न मावि बेथानमा उनले ४ र ५ कक्षामात्रै पढे अनि दाजुसंगै काठमाण्डौं आएर एकैचोटि ७ कक्षामा भर्ना भए । सधैं प्रथम नै हुने कुलमानले गणित विषयको परिक्षामा सतप्रतिशत अंक ल्याउँथे । बानेश्वरको अमर आदर्श माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरेका कुलमानले लैनचौरको अमृत साईन्स कलेजबाट आइ एस्सी गरेका हुन् । त्यसपछि भारतको जमशेदपुरमा रहेको रिजनल ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिक इन्जिनियरिङमा उनले स्नातक गरे । त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘मास्टर्स इन पावर सिस्टम’ मा स्नानातकोत्तर गरेका कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’ मा थेसिस गरे । भारतबाट पढाई सकेर आउँदा आउँदै प्राधिकरणको इन्जिनियरिङ सातौं तहमा उनले नाम निकाले । काम गर्दा गर्दै उनले इन्जिनियरिङमा स्नानातकोत्तर देखि पोखरा विश्वविद्यालय अन्तर्गतको एसिई ईन्स्टिच्युट अफ म्यानेजमेण्टबाट २०६८ सालमा एक्जुकेटिभ एमबिए पनि गरे । हेरौँ उनको सत्यकथाको यो भिडियो–

प्राधिकरणमा भएको व्यवस्थापन कमजोरिलाई ध्यानमा राखेर नै एक्जुकेटिभ एमबिए गरेका उनी अन्तत प्राधिकरणको उच्च तहमा पुग्न सफल भए । प्रबन्ध निर्देशक भएको तीन वर्षमा उनले कडा मेहनत गरेर नेपाललाई लोडसेडिङमुक्त गराएका छन् । ९ अर्बको घाटामा गएको प्राधिकरण ३ वर्षको अन्तरालमा ७ अर्बको नाफा गर्न सफल भएको छ । उनले लोडसेडिङ अन्त्यका लागि प्राधिकरणमा संरचनाको सुधार, मानव जनशक्ति र सुशासनको अवस्थाको सुधार गरे । पन्ध्र बर्षदेखि लगातार घाटामा भएको प्राधिकरण यति खेर नाफा छ । प्राधिकरण अब प्रत्येक वर्ष १० अर्ब नाफामा जानसक्ने घोषणा समेत गरिएको छ । नेपालमा २०७३ साल चैतदेखि लोडसेडिङ आधिकारिक रुपमा अन्त्य भएको हो । त्यसै कारण घिसिङ कान्तिपुर आईकन २०१८ बाट सम्मानित भएका छन् । कुलमान घिसिङ प्राधिकरणको सर्वोच्च पदमा पुग्नु अगाडि प्राधिकरण कै ग्रामीण विद्युत वितरण प्रणाली सुदृढीकरण परियोजनाका प्रमुख थिए ।

त्यसपछि चिलिमे हाईड्रो प्रोजेक्टको व्यवस्थापक निर्देशकको रुपमा काम गरेका उनले सोही प्रोजेक्टबाट प्राधिकरणलाई अत्याधिक सफलता दिलाउन सफल भए । उनले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन् बरु सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिलाएको थियो । तर चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराएका थिए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमान घिसिङलाई औधि विश्वास गर्नथाले । तर, उनलाई आयोजनाबाट हटाइयो र प्राधिकरणको केन्द्रमा बोलाईयो । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी नै पाएनन् । त्यसपछि राहुघाट प्रोजेक्टमा काम गर्दैगर्दा प्राधिकरणको सर्वोच्च पदमा उनी छानिए । उनलाई बिगतदेखि नै षड्यन्त्रकारीहरुले कहिले जिम्मेवारी बिहिन गराउने, कहिले आयोजनाबाट हटाउने तथा भ्रष्टाचारको आरोप लगाउने लगायतका कार्य गर्दै आएका छन् । तर उनी आम नेपालीको मुटुमा राज गर्दै ती सबै षड्यन्त्रको सामना गर्दैछन् ।
यो पनि हेर्नुहोस्
ब्लाईन्ड अडिसनबाट बाहिरिएका १९ प्रतिभाहरु (भिडियो) (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*