सविता लामाको ‘मौन’ कविता

एउटा रुख
उभिरहेछ
ठिङ्गरिङ्ग
चैतमासको हुरीभन्दा ठुलो
मेघ सामना गर्दै
सुख्खा मरुभूमिबिच
वास्तविकताको उभाई भन्दा
बिल्कुलै फरक तरिकाले ।।
एकटकले हेरिराख्छ
र
महसुशको पानापाना
पल्ट्याईराक्छ
पटकपटक
वास्तविकताको सानो
आँखिझ्यालबाट
आफुभन्दा दुर रहेको
अर्को सुन्दर रुखलाई ।
तर त्यो
बिल्कुलै मौन तरिकाले ।
मानौँ त्यहाँ मौनताको बृहत सागर छ ।
तर बिडम्बना !
मौनताको सागरमा कोहि कतैबाट
फ्याट्ट आउँछ र फालिदिन्छ
कोलाहलको ठुलो ढुङ्गा
‘छुर्लम्म’
अनायासै छोपिदिन्छ
र घाइते पारिदिन्छ
दुरको नयन खोज्ने नयन
र
बेपर्वाह बहकिने मन
हुन त
सदाबहार
मौन बस्ने अधिकार
कहाँ ,कसलाई हुन्छ र ?
ए साँच्चै,,
एकचोटी भनिदेउन प्रिय
तिमीसामु मौन बस्ने अधिकार
मलाई कति थियो ???
सर्जक–सविता लामा
काभ्रे