मिस ईन्टरनेशनलमा नेपालकी मीरा कक्षपतिको चर्चा र प्रस्तुति (भिडियो)

२६ कार्तिक २०७६, मंगलवार १०:०२
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २६ कात्तिक । मिस ईन्टरनेशनल २०१९ जापानको टोक्योमा हुँदैछ । यस प्रतियोगिताका लागि विभिन्न देशहरुबाट सहभागी भएका मिस ईन्टरनेशनलका दाबेदारहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । नोभेम्बर १२ तारिखमा फाईनल हुने प्रतियोगिताको लागि नेपालबाट मिस नेपाल ईन्टरनेशनल २०१९ मीरा कक्षपति सहभागी भएकी छिन् । मीराले जापानको कागासिटीमा आफ्नो प्रतिभा पनि देखाईसकेकी छिन् । बोल्नमा माहिर मीराले जापानी भाषामा नै सम्बोधन समेत गरेकी थिईन् ।

उनले ‘लहनाले जुरायो कि’ बोलको गीत र बहुचर्तित ‘मन मगन’ बोलको गीतमा समेत नृत्य प्रस्तुत गरेकी थिईन् । आफुले गरेको नृत्यलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै मीराले उक्त प्रस्तुति आफ्नो जीवनकै पहिलो एकल नृत्य भएको बताएकी छिन् । पहिले समूहगत रुपमा र केही विवाहमा बाहेक अन्य स्थानमा ननाचेकी उनले प्रतियोगिताको रुपमा नभए पनि नृत्य गर्ने मौका छुटाउन नचाहेका कारण प्रस्तुति दिएको बताएकी छिन् । मीराले मिस ईन्टरनेशनलका लागि निकै नै मेहनत गरेर ईन्ट्रोडक्सन भिडियो पनि तयार पारेकी छिन् । यो सामग्री तयार पार्दाको समयमा उनको भिडियोलाई युट्युबमा १ लाख ८६ हजारभन्दा बढीले हेरिसकेका छन् । उनले ईन्ट्रोडक्सन भिडियोमा नेपालको प्रकृति र रितिरिवाज तथा राष्ट्रिय धरोहरका विषयमा बताएकी छिन् । उनले आफ्नो परिवारको सहयोग र आफ्नो पेशाप्रतिको लगावका बारेमा समेत भिडियोमा बताएकी छिन् ।

उनले प्रतियोगितामा भाग लिन आएका विभिन्न देशका सुन्दरीहरुलाई समेत नेपाली गीतमा नचाएकी छिन् । केही समयअघि सार्वजनिक भएको एउटा भिडियोमा उनले नेपाली गीतमा मिस ईन्टरनेशनल युएसए र मिस ईन्टरनेशनल ईटलीलाई समेत नचाएकी छिन् । मीराले बेला–बेलामा मिस ईन्टरनेशलमा भईरहेका गतिविधिहरुका बारेमा समेत अनलाईन मार्फत बताउने गरेकी छिन् । भक्तपुर निवासी मीरा कक्षपति २२ वर्षकी छिन् । ५ फिट ४ ईन्च उचाईकी मीराले मिस नेपाल २०१९ मा मिस ब्युटिफुल हेयरमा जीत हासिल गर्नुका साथै मिस ईन्टरनेशनल २०१९ को ताज पहिरिन सफल भएकी थिईन् । हेर्नुहोस् यो भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*