नकआउट राउण्डका लागि थप ९ जना छनौट

२८ आश्विन २०७६, मंगलवार १४:५८

चन्द्र घलान,मकवानपुर, २८ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्याटल राउण्ड चलिरहेको छ । डिजिटल अडिसन हुँदै ब्लाईन्ड अडिसनबाट छनौट भएका ६४ जना प्रतियोगीहरुले अहिले ब्याटलमा प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि नै ब्याटलको ४ वटा एपिसोडबाट १७ जना प्रतियोगीहरु छनौट भईसकेका छन् भने १५ जना बाहिरीसकेका छन् । यसै क्रममा शुक्रबार र शनिबार यस रियालिटी शोको दुई वटा थप ब्याटल एपिसोड पनि प्रसारण भईसेकेका छन् । शुक्रबार र शनिबारको एपिसोडबाट ९ जना प्रतियोगीहरु नक आउट राउण्डका लागि छानिएका छन् भने ७ जना बाहिरिएका छन् ।

शुक्रबार भएको पहिलो ब्याटल टिम राजुको समूहबाट भएको थियो । जसमा सनिश श्रेष्ठ र सशिका सुनारले साँगितिक ब्याटल भिडेका थिए । ‘मिठो तिम्रो मुस्कानमा’ बोलको गीतमा प्रतिस्पर्धा गरेका सनिश र सशिकामध्ये सनिशले नकआउटका लागि बाजी मारिन् । निकै सुरिलो स्वरकी धनी सशिकालाई पनि कोच आस्थाले आफ्नो स्टील पावरको प्रयोग गर्दै सेभ गरिन् । यससँगै सशिका पनि नकआउटमा प्रवेश गरेकी छिन् । उनी अब कोच राजुको टिमबाट कोच आस्थाको टिममा पुगेकी छिन् । कोच प्रमोदपछि आस्थाले आफ्नो स्टील पावर प्रयोग गरेकी हुन् । ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल सनिश र उत्तिकै मिठो आवाज भएकी सशिकाको ब्याटल निकै नै दमदार थियो । त्यस्तै दोस्रो ब्याटलमा टिम दिपबाट अंकित बस्नेत र सुनिल लोहला श्रेष्ठ भिडेका थिए । उनीहरुले ‘भन के छ बन्दोबस्त’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । निकै नै रोमाञ्चक प्रस्तुति दिएका अंकित र सुनिल मध्ये अंकितले नकआउट राउण्डका लागि बाजी मारे । ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल सुनिल नकआउटमा पुग्न सकेनन् ।


त्यस्तै तेस्रो ब्याटलमा टिम आस्थाबाट एजेश पौडेल र राजिव सोनार भिडेका थिए । उनीहरुले ‘विरताको चिनो’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । यस ब्याटलबाट राजिव नकआउटका लागि सेलेक्ट भए । मिठो स्वरका धनी एजेशले अर्को सिजनमा समेत फेरि आउने अपेक्षा लिएका छन् । शुक्रबारको एपिसोडको अन्तिम ब्याटलमा टिम प्रमोदबाट प्रवेश खतिवडा र विमोचना लोम्जेलले प्रतिस्पर्धा गरे । ‘मखमली पछ्यौरीले सानु’ बोलको गीतमा भएको यो प्रतिस्पर्धाबाट विमोचना लोम्जेल नकआउटका लागि छानिए । भर्सटाईल सिंगरका रुपमा चिनिएका प्रवेश ब्याटलबाट बाहिरिए । विमोचना र प्रवेशको स्वरको मिठास तारिफयोग्य भएको सबैले आभास गरे ।


शनिबार भएको पहिलो ब्याटलमा टिम प्रमोदबाट साजन लामा र मधु लामाले प्रतिस्पर्धा गरे । ‘हंगामा भो’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये मधु नकआउटका लागि छनौट भए भने साजन बाहिरिए । दुबैको गायिकीलाई सबैले मन पराए । दमदार प्रस्तुति दिएकै कारण कोच प्रमोदले दुबै प्रतिभालाई भ्वाईसको मञ्चबाट बिदा गर्ने सोच राखेनन् । उनले भ्वाईस अफ नेपालको ईतिहासमा नै पहिलो पटक ‘डुओ’ को लागि साजन र मधुलाई अफर गरे । डुओमा दुबै सहमत भएमा दुबैले एकै प्रतिस्पर्धीका रुपमा युगल जोडी भएर नकआउटका लागि भिड्न सक्थे र अन्तिमसम्मै अघि बढ्ने मौका पाउने थिए । तर नाताले साजको ज्वाई बताएता पनि मधुले डुओका लागि सहमति जनाएनन् । यता साजनले भने आफन्त भएको भन्दै डुओमा एकै भएर अगाडि बढ्न सहमति जनाएका थिए । डुओमा सहमति नजुटेपछि कोच प्रमोदले एड्भाईजरको सल्लाहमा मधुलाई अघि बढाएका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएपनि निकै राम्रो गाएका साजनलाई कोच राजु र दिपले स्टिल गरेनन् । उनी भावुक हुँदे शोबाट बाहिरिए । मधु र साजनको ब्याटल भ्वाईस अफ नेपालको सिजन २ मा सबैभन्दा दमदार ब्याटलका रुपमा लिइएको छ । यो ब्याटललाई कोच दिपले ह्याट्सअप समेत दिएका थिए । मधुले डुओको लागि अस्विकार गरेको भन्दै दर्शकहरुले समेत विरोधमा कमेन्ट गरेका छन् । तर प्रतियोगिताका भएका कारण यसलाई सामान्य रुपमा लिन पनि धेरैले आग्रह गरेका छन् । यो पनि हेर्नुहोस्–
मधु लामाले खोले वास्तविकता, साजन मेरो ज्वाईँ होईनन्

त्यस्तै दोस्रो ब्याटलमा टिम दिपबाट मकवानपुरकी निर्मला घिसिङ र कपिलवस्तुकी शिवा गिरीले प्रतिस्पर्धा गरेका थिए । ‘आज तिम्रो कुरा चल्यो’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये निर्मला नकआउटका लागि छनौट भएकी छिन् । निकै नै सुमधुर आवाज भएकी शिवा ब्याटलबाट बाहिरिईन् ।


ब्याटलको छैटौँ एपिसोडको तेस्रो ब्याटलमा टिम राजुबाट अञ्जु राना मगर र सृष्टि सुनारले प्रतिस्पर्धा गरेकी थिईन् । ‘रेलैमा’ बोलको गीतमा भएको यो ब्याटलमा अञ्जुले बाजी मार्दै नकआउटका लागि छनौट भईन् । उत्तिकै दमदार आवाज भएकी सृष्टिले पनि निकै दमदार प्रस्तुति दिईन् । उनीहरु दुबैको ब्याटल निकै रोमाञ्चक समेत भएको थियो । त्यस्तै यस एपिसोडको अन्तिम ब्याटल टिम आस्थाबाट आरिफ रौफ र सुरजराज खत्रीबिच भएको थियो । ‘समय पन्छी हो’ बोलको गीतमा भएको यस ब्याटलमा आरिफले बाजी मारेर नकआउटका लागि छनौट भए । यता सुरजले पनि सुमधुर आवाजका साथमा निकै दमदार प्रस्तुति दिए ।

यो पनि हेर्नुहोस्
मधु लामाले खोले वास्तविकता, साजन मेरो ज्वाईँ होईनन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*