नकआउट राउण्डका लागि थप ९ जना छनौट

२१ आश्विन २०७६, मंगलवार १४:२७

चन्द्र घलान, २१ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्याटल राउण्ड चलिरहेको छ । डिजिटल अडिसन हुँदै ब्लाईन्ड अडिसनबाट छनौट भएका ६४ जना प्रतियोगीहरुले अहिले ब्याटलमा प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि नै ब्याटलको दुई एपिसोडबाट ८ जना प्रतियोगीहरु छनौट भईसकेका छन् भने ८ जना बाहिरीसकेका छन् । यसै क्रममा गएको शुक्रबार र शनिबार यस रियालिटी शोको दुई वटा थप ब्याटल एपिसोड पनि प्रसारण भईसेकेका छन् । शुक्रबार र शनिबारको एपिसोडबाट ९ जना प्रतियोगीहरु नक आउट राउण्डका लागि छानिएका छन् भने ७ जना बाहिरिएका छन् । कोच प्रमोदले आफ्नो एक स्टील पावर प्रयोग गरेका कारण ९ जना प्रतियोगीहरु नकआउटका लागि छानिएका हुन् ।

शुक्रबार भएको पहिलो ब्याटल टिम राजुको समूहबाट भएको थियो । जसमा गीता शर्मा र प्रेक्षा लम्सालले साँगितिक ब्याटल भिडेका थिए । ‘कसको आँखा लाग्यो बरै बोलको’ गीतमा प्रतिस्पर्धा गरेका गीता र प्रेक्षामध्ये गीताले नकआउटका लागि बाजी मारिन् भने प्रेक्षा बाहिरिईन् । सुरिलो स्वरकी धनी प्रेक्षाले भ्वाईसको मञ्चमा आफुलाई चर्चित बनाउँदै बाहिरिईन् अनि उस्तै सुरिलो आवाजकी धनी गीता नकआउटमा भिड्ने तयारी गर्दैछिन् । ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल यी दुई प्रतिभाको ब्याटल निकै नै दमदार थियो । प्रतियोगीताको फम्र्याट अनुसार नै चल्नु पर्ने भएकोले कोच राजुलाई यसमा निर्णय लिन निक्कै गाह्रो समेत भयो । प्रेक्षाले कोच राजुसँग युगल गीत पनि गाउने अवसर प्राप्त गरेकी छिन् । त्यस्तै दोस्रो ब्याटलमा टिम प्रमोदबाट सदिक्षा पोखरेल र विशाल राई भिडेका थिए । उनीहरुले ‘रातो टिका निधारमा’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । निकै नै रोमाञ्चक प्रस्तुति दिएका सदिक्षा र विशाल मध्ये विशालले नकआउट राउण्डका लागि बाजी मारे । सदिक्षा ब्याटलबाट बाहिरिईन् । फरक जेनरको गीत गाएर सदिक्षाले आफुलाई राम्रो गायिकाका लागि योग्य भएको प्रमाणित गर्न सकिन् । विशालको दमदार आवाज र सदिक्षाको सुमधुर आवाजको निकै प्रशंसा भयो ।


त्यस्तै तेस्रो ब्याटलमा टिम आस्थाबाट शोलुखुम्बुकी सविना राई र नविना जोशी भिडेका थिए । उनीहरुले ‘माया यो माया’ बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । यस ब्याटलबाट नविना नकआउटका लागि सेलेक्ट भईन् । दमदार आवाजकी नविना र सुमधुर आवाज भएकी सविनाबिचको ब्याटलमा सविना सफल हुन सकिनन् । उनले भ्वाईसको तेस्रो सिजनमा थप तयारी गरेर आउने आशा गरेकी छिन् । १५ औँ एपिसोडको अन्तिम ब्याटलमा टिम दिपका राम लिम्बु र सुमन परियारले प्रतिस्पर्धा गरे । ‘आवाज देउ’ बोलको गीतमा भएको यो प्रतिस्पर्धाबाट सुमन परियार नकआउटका लागि छानिए । ब्याटलमा पहिलो पटक स्टीलको प्रयोग गर्दै कोच प्रमोदले राम लिम्बुलाई नकआउटका लागि सेभ गरे । यससँगै राम र सुमन दुबै जना नक आउटका लागि छनौट भए । उनीहरुको ब्याटललाई ३ जना कोचहरुले स्ट्याण्डिङ अवेसन दिएका थिए ।


त्यस्तै १६ औँ एपिसोडको पहिलो ब्याटलमा टिम प्रमोदबाट जमिर अली र बलबहादुर राजवंशीले प्रतिस्पर्धा गरे । ‘बस है आमा’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये बलबहादुर नकआउटका लागि छनौट भए भने जमिर बाहिरिए । दुबैको गायिकीलाई सबैले मन पराए । जमिरले अझै खारिएर फेरि अर्को सिजनमा आउने संकेत देखाएका छन् । त्यस्तै दोस्रो ब्याटलमा टिम आश्थाबाट सोनिया राई र जमुना बान्तावा राईले प्रतिस्पर्धा गरेका थिए । ‘कोपिलामा रंग चढ्यो’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये जमुना राई नकआउटका लागि छनौट भएकी छिन् । निकै नै सुमधुर आवाज भएकी सोनिया राई ब्याटलबाट बाहिरिईन् ।


१६ औँ एपिसोडको तेस्रो ब्याटलमा टिम दिपबाट सुरज प्रताप सिंह र पृथ्वी खनालले प्रतिस्पर्धा गरेका थिए । ‘भुलुँ भुलुँ लाग्यो मलाई’ बोलको गीतमा भएको यो ब्याटलमा पृथ्वीले बाजी मार्दै नकआउटका लागि छनौट भए । उत्तिकै दमदार आवाज भएका सुरजप्रतापले आफु आवाजको यात्रामा अब्बल भएको सावित गरिदिए । उनीहरु दुबैको ब्याटल निकै रोमाञ्चक समेत भएको थियो । त्यस्तै यस एपिसोडको अन्तिम ब्याटल टिम राजुका वैशाली लामा र सम्झना तामाङबिच भएको थियो । ‘हेरेको तिमीलाई’ बोलको गीतमा भएको यस ब्याटलमा वैशाली लामाले बाजी मारेर नकआउटका लागि छनौट भईन् । यता सम्झनाले पनि सुमधुर आवाजका साथमा निकै दमदार प्रस्तुति दिईन् ।

यो पनि हेर्नुहोस्
नकआउट राउण्डमा भिड्नेहरु, भाग २ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*