नकआउट राउण्डका लागि ८ जना छनौट, ८ जना बाहिरिए

१३ आश्विन २०७६, सोमबार १२:२५

चन्द्र घलान, १३ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्याटल राउण्ड चलिरहेको छ । डिजिटल अडिसन हुँदै ब्लाईन्ड अडिसनबाट छनौट भएका ६४ जना प्रतियोगीहरुले अहिले ब्याटलमा प्रतिस्पर्धा गरिरहेका छन् । शुक्रबार र शनिबार यस रियालिटी शोको दुई वटा ब्याटल एपिसोड पनि प्रसारण भईसेकेका छन् । शुक्रबार र शनिबारको एपिसोडबाट ८ जना प्रतियोगीहरु नक आउट राउण्डका लागि छानिएका छन् भने ८ जना बाहिरिएका छन् ।

शुक्रबार भएको पहिलो ब्याटल टिम दिपको समूहबाट भएको थियो । जसमा मकवानपुरकी रमा घतानी यादव र झापाका विकास लिम्बु भिडेका थिए । ‘साराङ्गीको धुनले’ गीतमा प्रतिस्पर्धा गरेका विकास र रमामध्ये विकासले नकआउटका लागि बाजी मारे भने रमा बाहिरिईन् । सुरिलो स्वरकी धनी रमाले भ्वाईसको मञ्चमा आफुलाई चर्चित बनाउँदै बाहिरिईन् अनि दमदार प्रस्तुति दिएका विकास अझै अगाडि बढ्दै नकआउटमा भिड्ने तयारी गर्दैछन् । दोस्रो ब्याटलमा टिम राजुबाट पाल्पाकी अनुशा आचार्य र ईलामका विजय राई भिडेका थिए । उनीहरुले साँझ परेपछि बोलको गीत गाएका थिए । निकै नै रोमाञ्चक प्रस्तुति दिएका अनुशा र विजय मध्ये विजयले नकआउट राउण्डका लागि बाजी मारे । अनुशा ब्याटलबाट बाहिरिईन् ।


त्यस्तै तेस्रो ब्याटलमा टिम आस्थाबाट कोलोराडोमा बसोबास गर्ने सम्झना पाण्डे र संखुवासभाकी रीता राई भिडेका थिए । उनीहरुले जाउँ जाउँ रेलैमा बोलको गीतमा प्रतिस्पर्धा गरेका थिए । यस ब्याटलबाट रीता नकआउटका लागि सेलेक्ट भईन् । राम्रो गाउँदा गाउँदै पनि विभिन्न कारणले बाहिरिनु परेकी सम्झनाले रीताका लागि पनि स्याक्रिफाईस गरेको आभाश दर्शकदिर्घले गरे । उनले सबैको मन जित्दै ब्याटलबाट बाहिरिईन् । कोच आस्थाको लागि यो ब्याटल निकै भारी सावित भयो । १३ औँ एपिसोडको अन्तिम ब्याटलमा टिम प्रमोदका सुशान्त गौतम र राजीव पाठकले प्रतिस्पर्धा गरे । गहिरो बोलको गीतमा तिनै जना कोचको स्ट्याण्डिङ अवेसन पाएको यो प्रतिस्पर्धाबाट सुशान्त गौतम नकआउटका लागि छानिए । राजिव बाहिरिनु परेता पनि उनले आफ्नो ट्यालेन्टलाई सबै सामु परिचित गराए । कोच प्रमोदलाई छनौटका लागि नै हम्मेहम्मे पारेका राजिवको आवाजको सर्वत्र प्रशंसा भयो ।


चौधौँ एपिसोडको पहिलो ब्याटलमा टिम राजुबाट श्रवणकुमार अधिकारी र करण दोङले प्रतिस्पर्धा गरे । ‘पश्चताप’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये करण नकआउटका लागि छनौट भए भने श्रवण बाहिरिए । निकै दमदार प्रस्तुति दिएका श्रवणले सबैको मन जिते । करण दोस्रो राउण्डका लागि तयारी गर्दैछन् । निकै उर्जावान प्रस्तुति दिएका कारण श्रवणलाई केही समय गारो समेत भएको थियो । त्यस्तै दोस्रो ब्याटलमा टिम प्रमोदबाट साईकिरण लम्साल र सुस्मा विश्वकर्माले प्रतिस्पर्धा गरेका थिए । ‘तिमी बिना बाँच्न गारो भो’ बोलको गीतमा प्रतिस्पर्धा गरेका उनीहरुमध्ये साईकिरण लम्साल नकआउटका लागि छनौट भएका छन् । निकै नै सुमधुर आवाज भएकी सुस्मा ब्याटलबाट बाहिरिईन् ।


चौधौँ एपिसोडको तेस्रो ब्याटल टिम आस्थाबाट भएको थियो । दार्जिलिङकी याङ्की योल्मो र अनिश महर्जनको यो साँगितिक भिडन्तलाई भ्वाईस अफ नेपाल सिजन २ को निकै नै यादगार ब्याटलका रुपमा लिईन्छ । चारै जना कोचको स्ट्यान्डिङ अवेसन पाएको यो ब्याटल ‘सधैँ सधैँ आईरहन्छ’ बोलको गीतमा भएको थियो । निकै नै खारिएको यो ब्याटलमा याङ्कीले बाजी मारिन् अनि नकआउटका लागि छनौट भईन् । यता उत्तिकै दमदार आवाज भएका अनिशले आफुलाई आवाजको दुनियाँमा निकै अगाडिको यात्रा तय गर्ने धावकका रुपमा प्रमाणित गरिदिए । त्यस्तै यस एपिसोडको अन्तिम ब्याटलमा टिम दिपका धर्मबज्र लामा र डम्बर हिङमाङबिच भएको थियो । ‘अब यो बाटो’ बोलको गीतमा भएको यस ब्याटलमा डम्बरले बाजी मारेर नकआउटका लागि छनौट भए । यता धम्रबज्रले निकै नै दमदार प्रस्तुति दिएर बाहिरिए । कोचहरुसँग भएको एक स्टिलको अधिकार अहिलेसम्म कसैले प्रयोग गरेका छैनन् ।

यो पनि हेर्नुहोस्
यी हुन् ब्याटलका लागि छानिएका उत्कृष्ट ६४ प्रतियोगीहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*