भाग १–यी हुन् ब्याटलका लागि छानिएका भ्वाईस अफ नेपाल सिजन २ का ६४ जना प्रतियोगीहरु

११ आश्विन २०७६, शनिबार २१:४५

चन्द्र घलान, ११ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ ।
यस सामाग्रीमा हामीले भ्वाईसको दोस्रो सिजनमा ब्याटलका लागि छनौट हुन सफल ६४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरेका छौँ ।


रमा घतानी यादव, मकवानपुर–सानैदेखि सँगीतमा रुचि भएकी रमालाई परिवारका सदस्यले पहिलेदेखि नै गायिका बन्छिन् होला भन्ने विश्वास गर्थे । २६ वर्षीय रमा मकवानपुरकी हुन् । उनी २६ वर्षकी छिन् । कक्षा ६ मा पढ्दादेखि नै गैरसरकारीसंस्थामा काम गरेकी रमाले उक्त कामलाई कक्षा १० सम्म नै निरन्तरता दिईन् । त्यही संस्थाकै छात्रवृत्ति पाएर अध्ययन गरेकी रमालाई साँगितिक क्षेत्र र काम मध्ये एउटा छान्नुपर्ने अवस्था थियो । अन्ततः उनले आफ्नो करियरलाई रोजिन् र आमालाई मात्र जानकारी गराएर संस्था छोडिन् । काम छोडेर काठमाडौँमा आएकी रमालाई ललितकला क्याम्पसमा सँगीत पढ्ने ठूलो रहर थियो तर त्यहाँ ईन्टर पढ्न नपाएका कारण उनले बाध्य भएर अर्कै विषयमा प्लस टु हुँदै मास्टर्ससम्म अध्ययन गरिन् । त्यसै समयमा अन्तरजातिय विवाह गरेकी उनले संगीतप्रतिको आफ्नो भोकलाई कायमै राखिन् र अन्ततः भ्वाईस अफ नेपालमा उनको आवाज गुञ्जियो ।
चर्चित गायिका आशा भोष्लेको आवाजमा रहेको ‘किन बढ्दैछ मेरो ढुकढुकी’ बोलको गीत गाएकी रमाले ३ जना कोचलाई आफुतिर फर्काउन सफल भईन् । कोच राजु लामा बाहेक अन्य तिनै जना कोच उनीतर्फ फर्किएका थिए । जसमध्ये उनी टिम दिपमा समावेश भएकी छिन् ।


साजन लामा, धनगढी–भ्वाईस अफ नेपालमा लाईभ राउण्डका लागि छानिएका अर्का प्रतियोगित हुन् साजन लामा । २६ वर्षीय साजन सुदुर पश्चिमको धनगढीका हुन् । भजन गाउँदै साँगितिक यात्रा सुरु गरेका साजन कतारमा सेक्युरिटी गार्डका रुपमा समेत कार्यरत छन् । चर्चित नेपाली कथानक चलचित्र अल्लारेको ‘अब चोटहरुले’ बोलको गीत गाएका उनले कोच प्रमोद खरेल र आस्था राउतलाई आफुतिर फर्काउन सफल भएका थिए । उनले प्रमोद खरेलको टिममा आफुलाई समावेश गरेका छन् ।


सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ–हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको सुनाउँछन् । १९ वर्षीय सनिशले चर्चित नेपाली कथानक चलचित्र प्रसादकौ लै लै बोलको गीत गाएका थिए । भ्वाईसको दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छन् ।


निर्मला घिसिङ, फापरबारी,मकवानपुर–पूर्वी मकवानपुरको तत्कालिन फापरबारी गाविस वडा नम्बर ४ लामिटार निवासी निर्मला तामाङ समुदायकी चर्चित गायिका समेत हुन् । विभिन्न गीतमा आवाज दिइसकेकी २७ वर्षीय निर्मला माओवादी जनयुद्धकालमा साँस्कृतिक आन्दोलनमा समेत होमिएकी थिईन् । काठमाडौँको बौद्धमा कक्षा ३ सम्म अध्ययन गरेर गाउँमा गएकी उनी माओवादको सिद्धान्तबाट प्रभावित भईन् र माओवादी आन्दोलनमा लागिन् । जनसाँस्कृति परिवारमा रहेकी उनी विभिन्न युद्ध र शैन्य प्रशिक्षणमा समेत लागेकी थिईन् । युद्धको कहालीलाग्दो रुप समेत देखेकी उनले कठोर बन्न सिकेकी थिईन् । माओवादी युद्धमा कठोर बन्न सिकेकी निर्मलाले भ्वाईस अफ नेपालको मञ्चमा भने आँशु रोक्न सकिनन् । किन कि उनको आवाजले ३ जना कोचहरुलाई फर्कन बाध्य बनायो । प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएकी उनको आवाज सुनेर कोच आस्था राउत बाहेक ३ जना कोच फर्किएका थिए । उनी टिम दिपमा छन् ।


रजनी रिदम राई, दार्जिलिङ, हाल पोखरा–दार्जिलिङबाट साँगितिक यात्रा थालेकी रजनी अहिले पोखरामा बस्छिन् । पोखरा बसाईमा एक दशक लामो यात्रा तय गरेकी रजनीले सानैदेखि संगीत क्षेत्रमा लागेका कारण आफ्नो नाममा रिदम जोडिन् । आफुलाई मनपर्ने नाम भएका कारण उनले आफ्नी १० वर्षीय छोरीको नाम पनि रिदम नै राखेकी छिन् । साँगेतिक करियरकै क्रममा पोखरामा श्रीमानसँगै आएकी रजनीले त्यसबेला ठूलो चोट पनि सहिन् । संगीतकार समेत रहेका आफ्नो पतिसँग उनले छुट्टिएर बस्नुपर्यो । जसका कारण उनकी छोरी पनि दार्जिलिङमै बसिन् । छोरीको खुशीका लागि पनि उनी आफु भ्वाईसमा आएको बताउँछिन् । ३३ वर्षीया रजनीले ब्लाईन्ड अडिसनमा पुरानो हुँदैन माया बोलको गीत गाएकी थिईन् । उनको आवाजमा कोच आस्था बाहेक अन्य ३ जना कोचहरु उनीतिर फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।


जमिर अलि, धुलाबारी, झापा–सँगीतमा धेरै रुचि भएका जमिर गीत गाउँदा खाना खान पनि भुल्छन् । परिवारको ठूलो सहयोग पाएका उनी सानैदेखि गीतसँगीतमा रुचि राख्छन् । आमाबुवाको चाहाना अनुसार चलेका उनी २० वर्षका मात्र छन् । चर्चित गायक श्याम कार्कीको ‘तिम्रो मायाले बाँधेर राख’ बोलको गीत गाएका जमिरले कोच प्रमोदलाई फर्काउन सफल भएका थिए ।


प्रेक्षा लम्साल, दाङ– दाङकी प्रेक्षा २० वर्षकी छिन् । भ्वाईस अफ नेपालको सिजन वानमा पनि सहभागी भएकी प्रेक्षाले त्यस समयमा ‘बाहरसँगै उड्यो मन’ बोलको गीत गाएकी थिईन् । तर उनी छनौटमा परिनन् । कोचहरुको कमेन्टलाई आत्मासाथ गरेर तयारी गरेर आएकी प्रेक्षाले दोस्रो सिजनको ब्लाईन्ड अडिसनमा कुन्ती मोक्तानको ‘कहिले काँही मलाई पनि’ बोलको गीत गाएकी थिईन् ।
यो गीतबाट उनले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भईन् । उनी सिजन २ मा चारै जना कोच फर्काउन सफल दोस्रो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छिन् ।


याङ्की योल्मो, दार्जिदिलङ– दार्जिलिङको आलुबारीबाट भ्वाईस अफ नेपालको दोस्रो सिजनमा सहभागी हुन आएकी याङ्कीको वास्तविक नाम याङ डोल्मो हो । हेलम्बुको सँस्कृतिसँग जोडिएकी याङ्की आफ्नो हजुरबुवालाई प्रेरणाको श्रोत मान्छिन् । ह्योल्मो सँस्कृतिको गीत समेत गाएकी उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको मेरो आँशु बोलको गीत गाएकी थिईन् ।
२२ वर्षीय याङ्कीको गीत सुनेर चारै जना कोच फर्किएका थिए । दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । उनी कोच आश्थाको टिममा छिन् ।


धर्मबज्र लामा, स्वयम्भु– चाईनिजका साथै विभिन्न भाषाका गीत समेत गाएका धर्मबज्र सानैदेखि संगीतमा रुचि राखेको बताउँछन् । कलेज अध्ययनरत रहँदा ब्याण्डमा समेत जोडिएका उनी कुनै समय सँगीत क्षेत्रमा करियर छैन भन्दै त्यसलाई छोड्ने मनस्थितिमा समेत पुगेका थिए । तर उनलाई सँगीतले सधैँ तानिरह्यो । ३७ वर्षीय धर्मबज्रले ब्लाईन्ड अडिसनमा नविन के भट्टराईको साँझ पख बोलको गीत गाएका थिए । उनको आवाजमा कोच दिप श्रेष्ठ उनीतर्फ फर्किएका थिए ।

मेचु धिमाल, मोरङ– गीतहरु लेख्नुका साथै आफ्नै भाषामा पनि गीत गाएकी मेचु आफुलाई अहिले पनि सघर्षरत गायिका बताउँछिन् । आफ्नै भोगाईबाट जीवन बुझेकी २४ वर्षीया मेचुले ब्लाईन्ड अडिसनमा रजिना रिमालको पानीको फोकाजस्तै बोलको गीत गाएकी थिईन् । उनले कोच आस्था बाहेक ३ जना कोचहरुलाई आफुतिर फर्काउन सफल भएकी थिईन् । उनी कोच प्रमोदको टिममा छिन् ।


सोनिया राई, खोटाङ – आमासँग बस्दै आएकी सोनिया बुवाको मायाबाट बञ्चित छिन् तर उनी आमासँग खुशी छिन् । आमाको संघर्ष देखेकी सोनिया आफ्नी आमालाई रोल मोडल बताउँछिन् । २५ वर्षीया सोनियाले अरुणा लामाको लहरेबर बोलको गीत गाएकी थिईन् । उनको गीत सुनेर कोच प्रमोद र कोच आश्था फर्किएका थिए । उनी कोच आश्थाको टिममा छिन् ।


सुशान्त गौतम, ईलाम – ईलामका २२ वर्षीय सुशान्त आफुलाई मन लागेको कुरा गर्न रुचाउँछन् । उनी आफु संगीतमा निरन्तर लागिरहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको थाहा छैन बोलको गीत गाएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल चौथो प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।


सुरजराज खत्री, काँडाघारी– कक्षा १० सकिएपछि गीतार कक्षा लिएका सुरजले प्लस टु पछि भोकल कक्षा लिएका थिए । परिवारको साथ पाएका १९ वर्षीय सुरजले ब्लाईन्ड अडिसनमा सुनिल गिरीको ‘कस्तो यो मन’ बोलको गीत गाएका थिए । उनले कोच आश्थालाई आफुतर्फ फर्काउन सफल भएका थिए ।


रेवन लामा,जोरपाटी– संगीतलाई आफ्नो सहयात्री ठान्ने रेवन व्यवसायसँगै संगीतलाई अगाडि बढाउन चाहान्छन् । वैदेशिक रोजगारका लागि कतारमा समेत जीवन विताएका रेवनलाई संगीत छोडेर विदेश गएकोमा साथीहरुले निकै गाली समेत गरे । उनीहरुकै हौसलाका कारण उनी विदेशबाट फर्किए र वि.सं. २०७२ पछि संगीत क्षेत्रमा निरन्तर लागे । २९ वर्षीय रेवनले रविन शर्माको तिमी यसै लजायौ बोलको गीत गाएका थिए । उनले कोच दिप र कोच राजुलाई आफुतर्फ फर्काउन सफल भएका थिए । उनी कोच राजुको टिममा छन् ।


अंकित बस्नेत, खुमल्टार, ललितपुर– सानैदेखि संगीतमा लागेका अंकित आमाको भजनबाट प्रभावित भएर गायन क्षेत्रमा लागेका हुन् । संगीतलाई जीवनको सुखदुखसँग जोडेका उनी आफ्नो प्रतिभा भ्वाईसमार्फत प्रस्तुत गर्न पाएकोमा गर्व महशुस गर्छन् । २३ वर्षीय अंकितले ब्लाईन्ड अडिसनमा नमान लाज यसरी बोलको गीत गाएका थिए । उनको आवाजले कोच दिपलाई फर्काउन सफल भएको थियो ।


गीता शर्मा, सिक्किम– बुवाले परिवारलाई छोडेपछि पिडामा परेकी गीताले अध्ययन बिचैमा रोकिएपछि संगीतलाई आफ्नो लक्ष्य बनाईन् । आफै कमाउदै सँगीत क्षेत्रमा संघर्ष गरेकी गीता उनले नै संगीत सिकाएका एक विद्यार्थीको अनुरोधमा द भ्वाईसमा सहभागी भएको बताउँछिन् । ३३ वर्षीया गीताले ब्लाईन्ड अडिसनमा अरुणा लामाको पाहोर साल खुशी साट्दा बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच उनीतर्फ फर्किएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल पाँचौ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् । अडिसनमै राजुसँगै उनले गाएको गीत पनि अहिले भाईरल भईरहेको छ ।


मधु लामा, चितवन– बुवाको गीत सुन्दै संगीत क्षेत्रमा लागेका मधु चितवनमा परिचित नाम हो । बुवाआमाको संघर्ष देखेका उनले आफैले पनि विदेशमा पसिना बगाएका छन् । एसएलसी दिएर कतार गएका उनले त्यहाँ पनि गाउन छोडेनन् । दुःखकै अवस्थामा पनि परिवारको साथ पाएका उनलाई नजिकै आफन्तले पनि संगितमा लाग्न प्रेरणा दिए । ३० वर्षीय मधुले ब्लाईन्ड अडिसनमा सन्तोष लामा र श्वेच्छा तिवारीको आवाजमा रहेको ‘मैले रोजेको जस्तै’ बोलको गीत गाएका थिए । उनले कोच आश्था बाहेक अन्य ३ जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


राम लिम्बु, विर्तामोड, झापा–स्थानीय ब्याण्डका दाईहरुसँगै गीत गाउँदै हिँड्ने गरेका रामले औपचारिक रुपमा साँगितिक कक्षा लिएका छैनन् । तर उनी गीत गाउन माहिर छन् । २३ वर्षीय रामले ब्लाईन्ड अडिसनमा सविन राईको म संसार जित्ने आँट बोलको गीत गाएका थिए । उनको आवाजमा चारै जना कोच फर्किएका थिए । उनी दोस्रो सिजनमा चारै जना कोचलाई फर्काउन सफल छैटौँ प्रतियोगी हुन् । उनी कोच दिपको टिममा छिन् ।


वैशाली लामा, सिलीगुडी–भ्वाईस अफ ईण्डियामा समेत भाग लिएकी वैशाली आफ्नै मातृभाषामा प्रतिस्पर्धा गर्न पाएकोमा खुशी लागेको बताउँछिन् । साईबाबाको भक्त रहेकी उनले साई भजनबाटै सँगीतमा पाईला चालेकी हुन् । सानैदेखि गाउन सुरु गरेकी उनले ब्लाईन्ड अडिसनमा लहनाले जुरायो कि बोलको गीत गाएकी थिईन् । २५ वर्षीय वैशालीले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएकी थिईन् । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल सातौँ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् ।


साईकिरण लम्साल, काँकटभिट्टा, झापा–६ वर्षदेखि भजन गाउँदै संगीत क्षेत्रमा लागेका साईकिरण फिटनेस सेन्टर समेत चलाउँछन् । बुवा र श्रीमतीबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएका साईकिरणले ब्लाईन्ड अडिसनमा नारायण गोपालको प्रियसीका यादहरु बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । सिजन २ मा चारैजना कोचलाई फर्काउन सफल उनी आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।


झुप्री भण्डारी,अछाम–१० वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी झुप्री भण्डारी अहिले सामाजिक सञ्जालमा भाईरल छिन् । कमल भण्डारीको सहयोगमा भ्वाईसको मञ्चसम्म आएकी झुप्रीले अपाङ्ग भएकै कारण सामाजिक दुव्र्यव्यहार समेत सहेको बताउँछिन् । भ्वाईसको मञ्चमा उनको आवाज गुञ्जिएपछि संसार नदेखेका उनका आँखाले दर्शकको माया र सद्भाव महशुस गर्न पाएका छन् । आफ्नै रचनामा गीत गाउने झुप्रीले ब्लाईन्ड अडिसनमा देउडा भाका गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी सिजन २ मा सबै कोचलाई फर्काउन सफल नवौँ प्रतिभा हुन् । उनी कोच आश्थाको टिममा छिन् ।


सञ्जय महत, डिल्लीबजार, काठमाडौँ–सानैदेखि सुपर न्याचुरल पावरमा आकर्षित भएर कथित ड्राकुलाको जस्तै दाँत हालेका सञ्जय महतको दाँत देख्दा डरलाग्दो जस्तो लागेता पनि उनी वास्तवमा नरम दिलका छन् । सुमधुर गीत गाउने सञ्जयलाई धेरैले ड्राकुला भनेर चिन्छन् । उनले ब्लाईन्ड अडिसनमा चौबन्दी चोलो बोलको गीत गाएका थिए । २६ वर्षीय सञ्जयको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छन् ।


नविना जोशी,बालाजु, काठमाडौँ–रेडियो नेपालमा बुवाले गीत गाउँदै गर्दा संगीतमा रुचि राखेकी नविनाले बुवाबाट नै सारेगम सिकेका हुन् । ३० वर्षीय नविनाले ब्लाईन्ड अडिसनमा सम्हाली राखे मैले बोलको गीत गाएकी थिईन् । उनको आवाजमा कोच आश्था राउत फर्किएकी थिईन् ।


शिवा गीरी, कपिलवस्तु, हाल काठमाडौँ–सँगीत सिक्नका लागि कपिलवस्तुबाट काठमाडौँको यात्रा तय गरेकी शिवालाई संगीत क्षेत्रमा लाग्न आमाको साथ छ । सुरुमा बुवाको खासै सहयोग नभएता पनि अहिले भने परिवारको नै सहयोग रहेको उनी बताउँछिन् । उनले उदय सोताङ र मनिला सोताङको आवाजमा रहेको माया नमार है बोलको गीत गाएकी थिईन् । २५ वर्षीय शिवाको आवाज सुनेर कोच दिप फर्किएका थिए ।


कमल विष्ट, टिकापुर, कैलाली–शास्त्रीय संगीत सिक्दै गरेका कमल विष्ट टिकापुरको कैलाली निवासी हुन् । गाउँमा सामान्य गाउन सिकेका कमलले काठमाडौँमा संगीतको शिक्षा लिएका हुन् । राग बागेश्वरी गाएका २४ वर्षीय कमलको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


अनुशा आचार्य, पाल्पा, हाल ललितपुर–सानै उमेरदेखि गीत गाउन थालेकी अनुशाले कक्षा ६–७ मा गीत गाउँदा देखि नै प्रशंसा पाउन थालेकी थिईन् । सन् २००० मार्च १ मा पाल्पामा जन्मिएकी अनुशाले अनुशाले क्लासिकल, ज्याज लगायत विभिन्न विधाका गीतहरु गाउने गरेकी छिन् । सेन्ट जेभियर्सबाट एस.एल.सी तथा प्लस टु विज्ञान तर्फ उतिर्ण गरेकी अनुशा हाल पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिंगमा स्नातक तहको दोश्रो बर्षमा अध्ययन गर्दै छिन् । सँगीत क्षेत्रमा करिब ८ वर्ष बिताएकी अनुशाले क्लासिकल संगीतको साधना र ज्ञान सुरशाला म्युजिक एकेडेमीका गुरु अमृत क्षेत्रीसँग लिएकी हुन् भने वेस्टर्न ज्याजको प्रशिक्षण काठमाडौं ज्याज कन्जरभेटरीका स्प्यानिश गुरु मारिया फजारडोसँग लिएकी थिईन् । हालसम्म उनले दुईवटा ओरिजिनल गीत र थुप्रै कभर गीतहरु गाईसकेकी छिन । उनले टाढा टाढा बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु लामा फर्किएका थिए ।


करण दोङ,जोरपाटी, काठमाडौँ –भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागिता जनाएर छनौटमा नपरेपनि करणले यो पटक भने स्टेजलाई निकै तताए । २१ वर्षीय करणको गीत सुनेर चारै जना कोच मात्र फर्केनन् भ्वाईस अफ नेपालको स्टुडियोको माहोल नै तात्तियो । कोच राजु र आश्था स्टेजमा उनीसँगै उक्लिएर नाचे । कोच राजुको युनिक जम्पलाई पनि यही पर्फोमेन्सले भाईरल बनाएको थियो । उनले सविन राईको कोमल त्यो तिम्रो बदनमा बोलको गीत गाएका थिए । उनी कोच राजुको टिममा छन् ।


प्रवेश खतिवडा, नुवाकोट, हाल काठमाडौँ –सानैदेखि संगीतमा रुचि भएका प्रवेश संगीतको कुरा गर्दा आफ्नो विद्यालयका गुरुलाई सम्झन्छन् । गुरुकै प्रेरणा पाएर उनी संगीतमा अघि बढेका हुन् । भ्वाईस अफ नेपालमा सहभागी हुनुलाई ठूलो सौभाग्य ठानेका प्रवेश २० वर्षका छन् । ब्लाईन्ड अडिसनमा हे बरै बोलको गीत गाएका प्रवेशको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


सविना राई, शोलुखुम्बु, हाल काठमाडौँ –बुवाबाट प्रभावित भएर संगीत क्षेत्रमा प्रवेश गरेकी सविनाले व्यवसायसँगै संगितलाई निरन्तरता दिँदै छिन् । २६ वर्षीया सविनाले कोच आश्थाकै आवाजमा रहेको चौबन्दीमा पटुकी बोलको गीत गाएकी थिईन् । उनको आवाजमा कोच आश्था फर्किएकी थिईन् ।


सदिक्षा पोखरेल, काठमाडौँ –डेन्टिस्ट पढिरहेकी सदिक्षा पोखरेल काठमाडौँमा बस्छिन् । २३ वर्षीया सदिक्षाले ब्लाईन्ड अडिसनमा खुला आकाश बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु र प्रमोद फर्किएका थिए । सदिक्षा कोच प्रमोदको टिममा छिन् ।


कुमार गुरुङ, स्याङ्जा, हाल जापान –एसएलसी पछि गीत गाउन थालेका कुमार जापानमा बसोबास गर्छन् र त्यहाँ गीत पनि गाउँछन् । २७ वर्षीय कुमारले ब्लाईन्ड अडिसनमा चौबन्दी चोली र बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र दिप फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।


डम्बर हिङमाङ,सुनसरी – भ्वाईस अफ नेपालको पहिलो सिजनमा तुहिएको सपना साकार पार्न बलियो भएर आएका अर्का प्रतियोगी हुन् डम्बर हिङमाङ । गत वर्ष ब्लाईन्ड अडिसनबाट बाहिरिँदा आमाको पिडा देखेर विह्वल भएका उनले यो वर्ष भने खाली हात फर्कनु परेन । २६ वर्षीय डम्बरको आवाज सुनेर कोच दिप फर्किए । जसका कारण उनी दोस्रो राउण्डमा जान सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*