भाग २–यी हुन् ब्याटलका लागि छानिएका भ्वाईस अफ नेपाल सिजन २ का ६४ जना प्रतियोगीहरु

११ आश्विन २०७६, शनिबार २१:४७

चन्द्र घलान, ११ असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ ।
यस सामाग्रीमा हामीले भ्वाईसको दोस्रो सिजनमा ब्याटलका लागि छनौट हुन सफल ६४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरेका छौँ ।


आरिफ रौफ,नयाँ बानेश्वर, काठमाण्डु – भ्वाईस अफ नेपालको पहिलो सिजनमा समेत सहभागी भएका आरिफ यो वर्ष थप तयारीका साथ आएका छन् । पार्ट टाईम लेक्चरका रुपमा कार्यरत आरिफ हार्डवेयरको व्यवसाय पनि गर्छन् । पहिलो सिजनमा धेरैको प्रशंसा पाएका उनी थप खारिएर सिजन दुईमा भाग लिन आएका छन् । २३ वर्षीय आरिफले यस पटक ब्लाईन्ड अडिसनमा ‘उडायो हावाले बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्केका थिए । उनी कोच आस्थाको टिममा छन् ।


सम्झना पाण्डे, कोलोराडो, अमेरिका – भ्वाईस अफ नेपालमा सहभागी हुन संयुक्त राज्य अमेरिकादेखि नेपाल आएकी सम्झना विभिन्न कार्यक्रममा व्यस्त भईरहने प्रतिभा हुन् । विभिन्न देशका भाषाभाषीहरु बिचको कार्यक्रममा सहभागी भईरहने सम्झनाले गीत गाउन थालेको करिब आधा दशक भयो । स्वास्थ्य समस्याका कारण लामो समय गाउन छोडेकी सम्झना रोगसँग जुध्दै फेरि साँगितिक क्षेत्रमा सक्रिय भएकी हुन् । ३७ वर्षीया सम्झनाले ब्लाईन्ड अडिसनमा ‘तिम्रो मायाले मलाई’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् ।


सुष्मा विश्वकर्मा, बुटवल –सुष्मा नेपाली तारा सिजन ३ मा उत्कृष्ट १० सम्म पुगेकी प्रतियोगी हुन् । ख्रिष्टियन परिवारमा जन्मिएकी सुष्माले चर्चमा भजन गाउँदादेखि नै सँगीतमा रुचि राखेको बताउँछिन् । उनले ब्लाईन्ड अडिसनमा आशा भोष्लेको ‘झझल्को लिएर आएछ सावन’ बोलको गीत गाएकी थिईन् । २६ वर्षीय सुष्माको आवाज सुनेर कोच आश्था बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छिन् ।


सौगात न्यौपाने, नेपालगञ्ज, बाँके, हाल किर्तिपुर –सानैदेखि मामाघरमा हुर्किएका सौगात आमा र मामालाई निकै महत्व दिन्छन् । सानै उमेरमा बुवा गुमाएका उनले मामाघर नजिकै भएको मेडिकलमा बस्नुहुने गुरुसँग उनले संगित सिकेका हुन् । उनी जीवनको पहिलो गुरुलाई पनि मामा भनेर नै सम्बोधन गर्छन् । समीरका नामले समेत चिनिने १९ वर्षीय सौगातले ब्लाईन्ड अडिसनमा राजु लामाको ‘पर्खाईमा बोल’को गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।


विजय राई, ईलाम, हाल काठमाडौँ –अध्ययनसँगै जागिरे जिवन बिताईरहेका विजयको पारिवारिक पृष्ठभूमि सँगीतको होईन तर उनी सँगीतलाई औधी माया गर्छन् । अवसर मिल्ने बित्तिकै गीत गाउन थालिहाल्ने विजयले आफ्नो गाउँको परम्परा अनुसारै गीत गाउन सिकेका हुन् । सँगीत क्षेत्रमै करियर बनाउने उदेश्यका साथ काठमाडौँमा आएका विजयले ब्लाईन्ड अडिसनमा ‘गहिरो गहिरो सागर जस्तै’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।


कुमा सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमा सागरले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि भोग्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।


सशिका सुनार राई, मकवानपुर, हाल बालुवाटार –कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरिन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै अहिले संगीतको रेसमा नै सामेल हुने निर्णय गरेकी छिन् । ब्लाईन्ड अडिसनमा ‘माया पिरती’ बोलको गीत गाएकी सशिकाको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छिन् ।


राजिव सोनार, आसाम –सानैदेखि दाईको गीत सुनेर हुर्किएका उनलाई दाईको गीतले नै संगीतमा लाग्ने प्रेरणा मिल्यो । परिवार र गुरुहरुबाट थप हौसला पाएका राजिवले ब्लाईन्ड अडिसनमा ‘खै जालमा पारेर गई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए ।


श्रवण कुमार अधिकारी, पोखरा, हाल काठमाडौँ –ललितकला क्याम्पसबाट औपचारिक रुपमा संगीत सिकेका श्रवण रक गीत गाउन रुचाउँछन् । जीवनका दौडको दौडान कयौँ पटक हरेश खाएका श्रवण धेरै पटक परिवारको साथ सम्झेर जुर्मुराएर उठेका छन् । उनले ब्लाईन्ड अडिसनमा ‘सम्झिने मुटु’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र दिप फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।


कविराज हुमागाई, हेटौँडा मकवानपुर–लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत कविराज हुमागाईँ मकवानपुरको चर्चित नाम हो । रेडियो थाहा सञ्चारमा कार्यरत उनी सुमधुर स्वरका धनी पनि छन् । विभिन्न साँगितिक कार्यक्रममा प्रस्तुति दिँदै आएका कविराजले आफ्नै आवाजमा पनि केही गीत रेकर्ड गराएका छन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँधीले रोक्नुपर्ने भो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद बाहेक अन्य सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।


रीता राई, संखुवासभा–जन्मिएको ४ वर्षदेखि आँखा नदेखे पनि रीताले जीवनलाई सँगीतले उज्यालो बनाएकी छिन् । सानैदेखि गीत गुनगुनाउने रीताले ब्लाईन्ड अडिसनमा कम्मरमाथि पटुकी बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था उनीतर्फ फर्किएकी थिईन् ।


विनय कार्की, हेटौँडा, मकवानपुर–बोल्नमा केही समस्या भएता पनि सुरिलो स्वरका धनी विनय कुमार कार्कीलाई धेरैले विनय केटु भनेर पनि चिन्छन् । उनी चर्चित गायक तथा संगीतकार पनि हुन् । सिजन्स ब्याण्डका चर्चित भोकलिष्ट सुजिल कर्मचार्य लगायतका ब्याण्ड पर्फोमेन्सबाट प्रभावित भएका विनयले कुन समयबाट आफुले गीत गाउन रुचि बढाए त्यो उनी पनि भन्न सक्दैनन् । अर्थात उनी गीतसँगीतमा प्रभावित भएदेखि नै गाउने भएका हुन् । प्रमोद खरेललाई फेभरेट कोच बताउने विनय चर्चित गायककै रुपमा समेत स्थापित छन् । मकवानपुरको हेटौँडा निवासी विनयले आफ्नै आवाजमा समेत धेरै गीतहरु रेकर्ड गराईसकेका छन् । ३५ वर्षीय विनयले ब्लाईन्ड अडिसनमा सुजिलकै ‘भुमो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।


सृष्टि सुनार, सिन्धुपाल्चोक हाल काठमाडौँ कपन–सृष्टिले सानै उमेरदेखि गीत गाउन थालेकी हुन् । बुवा कान्छी आमासँगै बस्न थालेपछि उनी अहिले आमासँग बस्छिन् । सानैदेखि टिभी हेर्दै गीत गाउने गरेकी सृष्टिले सबैको हेला सहेको पनि उनकी आमा बताउँछिन् । आमाको दुःखलाई नजिकबाट नियालेकी सृष्टि जन्मिएको बेलै छोरा नभएको भन्दै उनकी आमा रोएको उनी बताउँछिन् । छोरालाई मात्र महत्व दिने परिवारमा जन्मिएकी सृष्टि सानैदेखि बुवाको प्रेमबाट बञ्चित हुनुपरेको सम्झँदै आँशु खसाल्छिन् । बिगत सम्झँदा उनी भाव विह्वल हुन्छिन् । बिगतका तिता पलहरुलाई सँगीतबाटै चिर्ने सपना बोकेकी सृष्टिले ब्लाईन्ड अडिसनमा ‘यो दिल मेरो’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु लामा उनीतिर फर्किएका थिए ।


राजिव पाठक, दमक, झापा–कक्षा ५ मा छँदा नै टाईटानिकको बहुचर्चित गीत गाएर स्टेज टेकेका राविले त्यसपछि संगीतलाई नै आफ्नो लक्ष्य बनाए । त्यस समयमा विद्यालयभरी नै उनी फेमस थिए । दाजु डाक्टर र बुवा प्रोफेसर भएको परिवारमा जन्मिएका उनले संगीतलाई प्राथमिकता दिए । आफ्नो ध्यान पढाईमा कम र सँगीतमा बढी लागेको उनी बताउँछन् । सँगीतमा आमाको निकै साथ पाएका उनले बम्बईबाट समेत संगित प्रशिक्षण लिएका छन् । ब्लाईन्ड अडिसनमा ‘मस्की मस्की’ बोलको गीत गाएका उनका आवाज सुनेर कोच प्रमोद र कोच दिप फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


विकास लिम्बु, झापा, हाल काठमाडौँ–साँगितिक परिवारमा जन्मिएका विकासले सानैदेखि गीत गाउन थालेका हुन् । एक रियालिटी शोका क्रममा झापाबाट छानिएर काठमाडौँ आएका विकासलाई पछि झापा फर्कनै मन लागेन । ५ वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका विकासलाई गाएर के गरिस् भन्ने प्रश्नले सधैँ सताउँथ्यो । संघर्षकै बिच गजल साँझमा गजल गाउन थालेका विकासले राम्रो प्ले ब्याक सिंगर हुने सपना पालेका छन् । त्यही सपनालाई पुरा गर्न उनी भ्वाईसमा आएको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘मैले पूण्य मन पराएँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।


आकांक्षा थापा, दार्जिलिङ–दार्जिलिङदेखि भ्वाईस अफ नेपालमा भाग लिन दार्जिलिङ देखि आएकी आकांक्षाले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । सँगीतसँगै अन्य काममा पनि सक्रिय बुवा र आमाको प्रेरणा पाएकी उनले पहिलो पटक प्रतियोगीतामा भाग लिएकी हुन् । १८ वर्षीया आकांक्षाले ब्लाईन्ड अडिसनमा ‘आज बारा हाते’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।


अमित राई, धरान, हाल कलंकी–औपचारिक रुपमा संगीत नसिकेका अमित सेल्फ प्राक्टिसकै भरमा भ्वाईसको मञ्चमा उक्लिएका प्रतिस्पर्धी हुन् । हाउस पेन्टिङको काम गरिरहेका अमितले एसएलसी पश्चात संगीतमा चासो दिएका हुन् । दाईहरुको ब्याण्डमा ड्रम बजाउँदै संगीतको दुनिया प्रवेश गरेका उनले ब्लाईन्ड अडिसनमा ‘डुब्न देउ मलाई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


बलबहादुर राजवंशी, झापा–झापाको राजवंशी कुलबाट आएका बलबहादुरलाई गायनमा सबै गाउँवासीको साथ छ । गाउँमा नै चिनिएका बलबहादुरले ब्लाईन्ड अडिसनमा कोच दिपकै आवाजमा रहेको ‘ उ यात्री’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच दिप र प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


सम्झना तामाङ, सिन्धुपाल्चोक, हाल कपन–घरबाट सबैको साथ पाएका सम्झना पहिलो पटक कुनै ठूलो प्रतिस्पर्धामा भाग लिँदैछिन् । विभिन्न कार्यक्रममा पनि गाउने अवसर पाएकी उनी साथीहरुको हौसलामा भ्वाईसको मञ्चमा आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिमी तारे भीर’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।


पृथ्वी खनाल, नुवाकोट–आर्किटेक्चर फाईनल एयरका विद्यार्थी समेत रहेका पृथ्वी शशस्त्र प्रहरी बलमा ईन्स्पेक्टर समेत छन् । चिन्ताको साथीका रुपमा संगीतलाई लिने गरेका पृथ्वीले सानैदेखि सेना अथवा प्रहरी बन्छु भन्ने सोच राखेका थिए । उनी सन् २०१० देखि एपिएफमा छन् । उनको ब्लाईन्ड अडिसनम ‘अच्छा लेकिन लढडनको चिसोले’ बोलको गीत गाएका िथिए । उनको आवाज सुनेर कोच दिप र राजु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।


अनिश महर्जन, सानेपा–सानैमा मामासँग गितार बजाउन सिकेका अनिशलाई अन्तत संगीतले नै आफुतिर तान्यो । बिस्तारै गाउने रहरसँगै अगाडि बढेका उनलाई साथीहरुले पनि हौसला दिए । सुरुमा सँगीतमा लागेर के गर्न सकिन्छ र भन्ने दबाब पाएका अनिशले गायनलाई निरन्तरता नै दिईरहे फलस्वरुप अहिले उनको परिवार पनि उनको साथमा छ । उनले ब्लाईन्ड अडिसनमा ‘भूल’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए ।


विमोचना लम्जेल, दार्जिलिङ–सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी विमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन काठमाडौँ आएकी विमोचनाले सँगीतमा नै जीवन डोराउने लक्ष्य राखेकी छिन् । सँगीत कक्षा सँगै औपचारिक अध्ययन समेत गरिरहेकी उनी आमाबुवाकै बाटो पछ्याउन चाहान्छिन् । उनले ब्लाईन्ड अडिसनमा ‘भैँसी लड्यो है माया’ बोलको गीत गाएकी थिईन् । उनकी आमा चर्चित गायिका डेजी बराईलीको यो गीत गाउँदा चारै जना कोच उनीतिर फर्किए । डेजीको सुरिलो आवाजमा ४४ बर्ष अगाडि रेकर्ड भएको यो गीत विमोचनाले आफ्नै आवाजमा गुञ्जाएकी थिईन् । भ्वाईसको मञ्चमा ४४ वर्ष पछि डेजी आफैले पनि यो गीत गाईन् । विमोचना कोच प्रमोदको टिममा छिन् ।

सुनिल लोहला श्रेष्ठ, भक्तपुर–भक्तपुर निवासी सुनिलले भारतबाट ईण्डियन क्लासिकल म्युजिकमा मास्टर्स गरेका छन् । सामान्य किसान परिवारमा जन्मेका उनी रागलाई कहिल्यै पनि परिवर्तन नहुने र सदाबहार संगीतका रुपमा लिन्छन् । १० वर्ष अध्ययनका लागि भारतमा बसेका सुनिलले ब्लाईन्ड अडिसनमा राग अहिर भैरव गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।


जमुना वान्तावा राई, खोटाङ हाल ईटहरी–सानैदेखि संगीतमा रुचि राखेकी जमुनाले एक स्थापित गायिका हुने लक्ष्य राखेकी छिन् । भ्वाईस अफ नेपालमार्फत आफुलाई सबै माझ चिनाउने आसा राखेकी जमुना परिवारका लागि पनि केही गर्न चाहान्छिन् । सानैमा हजुरआमाले जमुना र उनकी दिदीलाई हजरआमाले अध्ययनका लागि भन्दै ईटहरी पुराउनुभएको थियो । प्लस टु सकाएकी जमुना अहिले संगीत पनि सिक्दैछिन् । ब्लाईन्ट अडिसनमा उनले ‘पोखिएर घामको झुल्का’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।


सौगात राई, धरान, हाल ठमेल–ब्याण्ड चलाएर अगाडि बढेका सौगात सँगीतमा नै करियर बनाउन चाहान्छन् । भ्वाईसलाई प्रतिभा प्रष्फुटनका लागि उत्कृष्ट स्टेज र नामका लागि पनि राम्रो स्थान रहेको उनी बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिम्रो मन’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।


राहुल विश्वकर्मा, नारायणघाट, चितवन–सानैदेखि गीत गाउन थालेका राहुललाई विद्यालयका शिक्षकहरुले निकै मन पराउँथे । होमवर्क गर्न बिर्सिँदा पनिस्मेन्टका रुपमा गीत गाउने जिम्मेवारी पाएका राहुललाई सँगीत क्षेत्रमा लाग्न आमाको साथ छ तर बुवाको अलि साथ छैन । फेमिली बिजनेस र सँगीतलाई सँगै लान चाहाने राहुल आफुलाई सँगीतमा स्थापित गराउने सोचमा छन् । उनले ब्याटल ब्लाईन्ड अडिसनमा ‘जाउँ कि बसुँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।


श्रृङ्खला जोशी, बझाङ–सुदुर पश्चिमको बझाङ निवासी श्रृङ्खला चर्चित एङ्करका रुपमा समेत चिनिन्छिन् । साथै उनी प्राध्यापक र भ्वाईस ओभर आर्टिस्ट समेत हुन् । उनी चर्चित देउडा गीतका गायक नन्दकृष्ण जोशीका छोरी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘राईझुमा’ गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था फर्किएकी थिईन् । उनी कोच आश्थाको टिममा छिन् ।


अञ्जु राना मगर, चितवन–सानैदेखि गीत गाउन थालेकी अञ्जुले छोरी भएकै कारण केही समय सँगीतलाई स्थगित गरिन् । २ वर्षसम्म उनले गीत गाउन छाडिन् । तर समाजले के भन्छ भन्ने कुरालाई पछि छाड्दै उनी गीत गाउन अगाडि बढिन् । उनी चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । ब्लाईन्ड अडिसनमा उनले ‘नछोड्नु’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी कोच राजु लामाको टिममा छिन् ।


सुमन परियार, हेटौँडा, मकवानपुर–नेपाल आईडल जस्ता कार्यक्रमहरुमा समेत सहभागिता जनाएकी सुमन मकवानपुरको हेटौँडा निवासी हुन् । १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी सुमन आफ्नो बुवालाई सँगीतको प्रेरणाको श्रोत मान्छिन् । उनले ब्लाईन्ड अडिसनमा कोच आस्थाको ‘झुम्के बुलाकी’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच दिप फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।


एजेश पौडेल, धनकुटा, हाल ईटहरी–सानैमा ईटहरीमा आएका एजेश ब्यापार समेत गर्छन् । सँगीत र व्यापारलाई सँगसँगै अगाडि बढाएका एजेश बुवा आमाले आफुलाई स्टेजमा देख्न चाहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘म त मर्छु क्यारे’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु लामा बाहेक अन्य ३ जना कोचहरु फर्किएका थिए । उनी कोच आस्थाको टिममा छन् ।


सुरज प्रताप सिंह, सर्लाही–नृत्य सिकाउनुका साथै फिटनेस ट्रेनरका रुपमा कार्यरत सुरजलाई गीतसँगीतमा पनि सानैदेखि रुचि थियो । उनले ब्लाईन्ड अडिसनमा ‘भन्छु आज मनका कुरा’ बोलको गीत गाएका थिए । उनको गीत सुनेर कोच दिप फर्किएका थिए । चर्चित डान्सरका रुपमा समेत करियर बनाउँदै गरेका सुरजले सँगीतको कुनै क्लास लिएका छैनन् । उनी कोच दिपको टिममा छन् ।


विशाल राई, भोजपुर हाल भक्तपुर –भोजपुरमा जन्मिएका विशाल अहिले भक्तपुरमा बस्छन् । उनले परिवारबाट सँगीतमा लाग्न निकै सहयोग पाएका छन् । उनी प्ले ब्याक सिंगर पनि हुन् । सँगीतको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गर्ने दौडमा रहेका विशालले ब्लाईन्ड अडिसनमा ‘उभो उभो खासा’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद उनीतिर फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*