भ्वाईस अफ नेपालले गुमाएका १९ प्रतिभाहरु

१० आश्विन २०७६, शुक्रबार २१:१०

चन्द्र घलान, १० असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा सबै ब्लाईन्ड अडिसनहरु सकिएका छन् । ब्लाईन्ड अडिसनबाट चारै जना कोचले १६–१६ जनाको ड्रिम टिम तयार पारेका छन् । ब्लाईन्ड अडिसनको १२ वटा एपिसोड सकिएसँगै अब ब्याटल राउण्ड सुरु हुनेछ । ब्लाईन्ड अडिसनबाट ६४ जना सहभागीहरुले ब्याटलका लागि आफुलाई योग्य ठहराएका छन् । जसमध्ये २१ जना सहभागीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । साथै ब्लाईन्ड अडिसनमा सहभागी भएका १९ जनाको अगाडि बढ्ने सपना सकिएको छ । यस सामग्रीमा हामीले सिजन २ मा भ्वाईसले गुमाएका १९ जना प्रतिभाहरुका बारेमा चर्चा गरेका छौँ ।

१) पदम मगर, संखुवासभा–भ्वाईस अफ नेपालमा ब्लाईन्ड अडिसनबाट बाहिरिएका पहिलो प्रतिभा हुन् संखुवासभा निवासी पदम मगर । वर्कशप सञ्चालन समेत गरेका पदम सानैदेखि सँगीतमा रुचि राख्थे । एसएलसी कटाएपछि सँगीत पढ्न गन्धर्व संगीत विद्यालय असनमा ३ वर्ष संगीत सिकेका उनले एसएलसी दिने क्रममा ट्युसन सेन्टरमा भेट भएकी आफ्नी जीवनसाथी भेट्टाएका थिए । वर्कशपमा काम गर्दै गर्दा एसएलसी दिएपछि संगीत पढ्न पाईन्छ भन्ने सुनेका उनले एसएलसी दिन ट्युसन पढेका थिए । ब्लाईन्ड अडिसनमा उनले मन थिएन जोगी बन्नलाई बोलको गीत गाएका थिए ।


२) बबिना भट्टराई, विराटनगर, मोरङ हाल काठामाडौँ– सँगीत सिक्दै गर्दा लभ म्यारिज गरेकी बबिना सँगीत क्षेत्रमा आफ्नो श्रीमानले आफुलाई गरेको सहयोगको कदर गर्छिन् । विराटनगर घर भई हाल काठमाडौँ बस्दै आएकी २९ वर्षीया बबिनाले ब्लाईण्ड अडिसनमा ‘नाई नभन्नु ल’ को शिर्ष गीत गाएकी थिईन् । उनी दोस्रो राउण्डका लागि छनौट हुन सकिनन् ।


३) जमुना न्यौपाने, पाल्पा– पाल्पाको तानसेन निवासी जमुनालाई साथी र परिवारले राम्रो गीत गाउने प्रतिभाका रुपमा चिन्छन् । उनी परिवार र साथीहरुकै हौसलाबाट भ्वाईस अफ नेपालमा सहभागी हुन आएकी हुन् । १८ वर्षीया जमुनाले बनेको छ पाहाराले बोलको गीत गाएकी थिईन् । उनको दोस्रो राउण्डमा पुग्ने ईच्छा यस पटकको लागि भने अधुरो रह्यो ।


४) शान्ति सदा, सिराहा, – आमा र बुवाबाट गाउन प्रेरणा पाएकी शान्ति २९ वर्षीय शान्ति आफ्नो आवाजलाई आफ्नी आमाको जस्तो भएको बताउँछिन् । मुसहर बस्तीमा कसैले पढ्न नपाए पनि उनले कक्षा ९ सम्म पढ्ने मौका पाएकी थिईन् । रोगले सिकिस्त भएकी आमाले मर्नुभन्दा अघि आफ्नो विवाह भएको हेर्ने चाहाना गरेपछि उनी विवाह गर्न बाध्य भईन् । आमाको हेरचाहा गर्ने गरेकी उनी जब विवाह गरेर आईन् तब आमाको स्वास्थ्य झन् बिग्रियो र आमा एक वर्षपछि नै बितिन् । बुहरीलाई घुम्टोभित्रै बस्नुपर्ने समाजमा हुर्किएकी उनले श्रीमानको प्रेमका कारण त्यस्तो बाध्यतामा बस्नु परेन । सासुले पनि उनलाई पढ्न थप हौसला दिईन् । घुम्टोमा बस्नुपर्ने बुहारीलाई स्कर्ट लगाएर बोर्डिङ पठाएको भन्दै उनकी सासुले छरछिमेकबाट निकै नै किचलो सहिन् । ब्लाईन्ड अडिसनमा मैथली गीत गाएकी उनले कुनै कोचलाई फर्काउन नसकेपनि सबैको मन जित्न सफल भईन् । उनको श्रीमानको प्रेम र सासुको ममतालाई आम नेपाली दर्शकले रुचाए ।


५) सन्तोष गन्दर्भ, सिक्किम– नेपालको भोजपुरमै जन्मिएका सन्तोष सानैमा आमा गुमाएपछि बुवासँगै सिक्किम गए । सिक्किममा नै बुवासँगै सारंगी रेट्न सिकेका छन् । उनी सारंगी रेटेर नै परिवारलाई सघाउँछन् । छोरालाई साँस्कृतिक पेशा सिकाएता पनि उसले बाटोमा गाउन नपरोस् भन्ने भावना बोकेका उनी कोच प्रमोदका गीतहरु मन पराउँछन् । ३० वर्षीय सन्तोषले कुमार शुब्बाको आवाजमा रहेको सारंगीको तार मेरो बोलको गीत गाएका थिए । उनी दोस्रो राउण्डमा जान सफल भएनन् ।


६) मिरोज तुलाधार,काठमाडौँ–सँगीतमा बुवाको साथ पाएका मिरोज सँगीतसँगै जागिरलाई पनि निरन्तरता दिँदै छन् । २५ वर्षीय मिरोजले ब्लाईन्ड अडिसनमा बिपुल क्षेत्रीको डढेलो लाग्यो बोलको गीत गाएका थिए । उनले कुनै कोचलाई आफुतर्फ फर्काउन सकेनन् ।


७) लक्ष्मण महतो, सर्लाही–सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण सर्लाही निवासी हुन् । आँखा अस्पतालमा साहायकको काम गर्ने उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए । उनलाई परिवारबाट साथ भएता पनि गीत गाएर जीवन चल्ला र भन्ने प्रश्न तेर्सिन्छ । तर उनी गीत गाउन निकै रुचि राख्छन् । संगीतमा लाग्दा मरे पनि अमर बनिन्छ भन्ने सोच बोकेका सञ्जयले ब्लाईन्ड अडिसनमा पैसा कसले बनायो भन्ने गीत गाएका थिए । तर उनी दोस्रो राउण्डमा छनौट हुन सफल भएनन् ।


८) ऐश्वर्य राई, काठमाडौँ –आमाले राखिदिनुभएको ऐश्वर्य नाममा गर्व गर्ने ऐश्वर्यलाई एक्लै हिँड्न निकै मनपर्छ । सानैदेखि संगीतम रुचि भएता पनि परिवारबाट उनलाई यस क्षेत्रमा लाग्न सानोमा खासै सहयोग नभएको उनी बताउँछिन् । धरानकी २१ वर्षीया ऐश्वर्यले ब्लाईन्ड अडिसनमा निश्चल बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कुनै कोच फर्किएनन् तर उनले सकरात्मक अपेक्षा लिएर भ्वाईसको मञ्चबाट विदा लिएकी छिन् ।


९) राजा राजेन्द्र, झापा –चर्चित हाँस्यकलाकार राजा राजेन्द्रलाई नचिन्ने सायदै कमै होलान् । कमेडी र क्यारिकेचरका क्रममा दर्शकमाझ रुचाइएका राजेन्द्रले के भुल भयो प्रिया बोलको गीत गाएका थिए । उनले कुनै कोचलाई फर्काउन सकेनन् तर उनले स्टेजमा सबैलाई हँसाएर बिदा भए ।


१०) हृदेश बस्नेत, विरगञ्ज, पर्सा हाल स्वयम्भु – धेरै ठाउँमा सँगीत सिक्न गएका हृदेश अन्तत घरमै आएर बसे । संगीत क्षेत्रमा भविष्य छैन भनेर बुवाले भनेपछि उनी अन्य क्षेत्रमा करियर बनाउन लागे । हाल बैँकमा कार्यरत हृदेशले ब्लाईन्ड अडिसनमा ‘फुलको डाली डालीमा’ बोलको गीत गाएका थिए । २५ वर्षीय हृदेशको आवाज सुनेर कुनै कोच फर्किएनन् । उनी दोस्रो राउण्डमा पुग्न असफल रहे ।


११) प्रेक्षा कोईराला, हेटौँडा, मकवानपुर – परिवारमा कोही संगीत क्षेत्रमा नभए पनि आफु संगीतको पारखी भएको प्रेक्षा बताउँछिन् । २२ वर्षीया प्रेक्षाले रेडियो टेलिभिजनबाटै गीत गाउने प्रेरणा बढेको बताउँछिन् । क्लासिकल र ज्याज सिकिरहेकी प्रेक्षाले ब्लाईन्ड अडिसनमा ‘बसन्त’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटल राउण्डका लागि छनौट हुन सकिनन् ।


१२) पुजा परियार, बुढानिलकण्ठ –माईती नेपालकी नाईटिङ्गेल भनेर समेत चिनिने पूजा अहिले नारायणथानमा बस्छिन् । १८ वर्षको उमेरसम्म माईती नेपालमा बिताएकी उनी आफ्नो जीवनलाई संघर्षको रुपमा लिन्छिन् । वृद्धाश्रमदेखि बालबच्चासम्मको साहारा र मायालु पात्र बनेकी पूजाले जीवनमा विभिन्न उतार चढाव भोगेकी छिन् । २५ वर्षीया पूजाले ब्लाईन्ड अडिसनमा ‘म चाँही नेपाली’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् ।


१३) विदिशा शाक्य, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमानसँगै सहभागी हुन आएकी विदिशा सँगीतमै आफ्नो करियर बनाउन चाहान्छन् । परिवारबाट सहयोग पाएकी विदिशाका श्रीमान पनि अडिसनमा सहभागी भएका थिए । विदिशाले ब्लाईन्ड अडिसनमा ‘तिम्रो नै माया’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटल राउण्डका लागि छनौट हुन सकिनन् तर उनको गायिकीको निकै प्रशंसा भयो ।


१४) युश्के केसी, लाजिम्पाट–भ्वाईस अफ नेपालको ब्लाईन्ड अडिसनमा श्रीमतीसँगै सहभागी हुन आएका उनी सँगीतमै आफ्नो करियर बनाउन चाहान्छन् । परिवारबाट सहयोग पाएका उनकी श्रीमती विदिशाले पनि ब्लाईन्ड अडिसनमा सहभागिता जनाएकी थिईन् । तर विदिशा ब्याटलका लागि छनौट हुन सकिनन् । युश्केले ब्लाईन्ड अडिसनमा ‘यो नानीको शिरैमा’ बोलको गीत गाएका थिए । उनी ब्याटलका लागि छनौट हुन सकेनन् ।


१५) सुनिता बिसी, धादिङ–बिए थर्ड एयरमा अध्ययनरत सुनितालाई गाउन निकै मनपर्छ । कुनै ठूलो कार्यक्रममा गएर गीत गाउने मौका खोजिरहेकी सुनिताले भ्वाईसको मञ्चलाई निकै महत्वपूर्ण स्थान दिएकी छिन् । चाईल्ड केयरको काम गरिरहेकी सुनिताले ब्लाईन्ड अडिसनमा ‘बोल बोल’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् ।


१६) अरुणा शाक्य, चाबाहिल–सँगीतलाई पहिलो प्रेम बताउने अरुणाले आफ्नो नामसँग पनि चर्चित गायिका अरुणा लामाको नाम जोडिएको बताउँछिन् । बुवाको फेभरेट गायिका अरुणा लामा भएका कारण बुवाले नै उनको नाम अरुणा राखिदिएको उनी बताउँछिन् । सँगीतमा आमाबुवाको सहयोग पाएकी अरुणाले घरमा पनि साँगितिक वातावरण पाएकी छिन् । भ्वाईसको पहिलो सिजनको डिजिटल अडिसनमा छनौट नभएपछि उनले सँगीत सिकिन् र पूनः सिजन २ मा तयारीका साथ आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘अभिमान’ बोलको गीत गाएकी थिईन् । उनी ब्याटलका लागि छनौट हुन सकिनन् तर उनले तयारीका साथ सिजन ३ मा आउने पनि तयारी गरेकी छिन् । उनले ब्लाईन्ड अडिसनमा आउन पाउनुलाई निकै ठूलो अचिभ्मेन्ट भएको बताएकी छिन् ।


१७) नविन गजमेर, सिक्किम–सानोमा धेरै पटक राजु लामाको गीत गाउने गरेका रविनको फेभरेट कोच भने प्रमोद खरेल भएको उनी बताउँछन् । भ्वाईसमा सहभागी हुन पश्चिम सिक्किमदेखि नेपाल आएका उनी नेपाली भाषा र गीतसँगीतलाई निक्कै मन पराउँछन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँशुको अर्थ’ बोलको गीत गाएका थिए । निकै नै राम्रो गीत गाएका नविन कारणवश ब्याटलका लागि छनौट हुन सकेनन् । उनलाई बज नगरेकोमा पहिलो पटक भ्वाईस अफ नेपाल सिजन २ मा दर्शकहरुले नकरात्मक कमेन्ट गरेका छन् ।


१८) अलिशा घिमिरे, काठमाडौँ–१८ वर्षीया अलिशालाई सँगीत क्षेत्रमा परिवारबाट खासै सहयोग छैन तर पनि उनी सँगीतलाई माया गर्छिन् । उनी ब्यागलाई निकै माया गर्छिन् । ब्यागलाई साथीको रुपमा हेर्ने उनको अनौठो बानी छ । उनले ब्लाईन्ड अडिसनमा ‘आवाज देउ मलाई’ बोलको गीत गाएकी थिईन् । कुनै पनि सँगीत कक्षा नलिएकी अलिशा ब्याटलका लागि छानिन सकिनन् ।


१९) शितलराज पाण्डे, गोरखा–क्यारिकेचरमा पनि मन लगाएका शितलराज गोरखा निवासी हुन् । सानैदेखि सँगीतमा रुचि राखेका शितल आर्थिक अवस्थाका कारण गायनबाट ब्याक हटे । तर उनले सँगीतलाई माया मार्न सकेनन् । जोनी जिप अपरेटरका रुपमा समेत कार्यरत उनले भ्वाईस अफ नेपालको सिजन वानमा पनि जोनी जीप अपरेट गरेका थिए । उनले ब्लाईन्ड अडिसनमा ‘नाई नभन्नु ल’ बोलको गीत गाएका थिए । उनी ब्याटलका लागि छनौट हुन सकेनन् ।
यो पनि हेर्नुहोस्
यस्ता छन् उत्कृष्ट २१ आवाज, जसले चारै जना कोच फर्काए


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*