ब्याटलका लागि छानिएका थप ११ प्रतिभाहरु

३१ भाद्र २०७६, मंगलवार १५:१२

चन्द्र घलान, मकवानपुर, ३१ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यो अडिसनको १० औँ भाग प्रसारण भईसक्दा अब ब्लाईन्ड अडिसनका केबल २ एपिसोडहरुमात्र बाँकी छन् । १० औँ एपिसोड प्रसारण भईसक्दा ५४ जना सहभागीहरु ब्याटलका लागि छानिसकिएका छन् भने ५४ मध्ये १९ जनाले चारै जना कोचहरु दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आश्था राउतलाई आफुतिर फर्काउन सफल भएका छन् । साथै १५ जना सहभागीहरु ब्लाईन्ड अडिसनबाट बाहिरिएका छन् । यस अगाडिका सामग्रीहरुमा हामीले ब्याटलका लागि छानिन सफल ४३ जना प्रतिभाहरुका बारेमा चर्चा गरिसकेका छौँ । यस सामग्रीमा हामी गत शुक्रबार र शनिबारको एपिसोडबाट ब्याटलका लागि छानिएका थप ११ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ ।

विनय कार्की, हेटौँडा, मकवानपुर–बोल्नमा केही समस्या भएता पनि सुरिलो स्वरका धनी विनय कुमार कार्कीलाई धेरैले विनय केटु भनेर पनि चिन्छन् । उनी चर्चित गायक तथा संगीतकार पनि हुन् । सिजन्स ब्याण्डका चर्चित भोकलिष्ट सुजिल कर्मचार्य लगायतका ब्याण्ड पर्फोमेन्सबाट प्रभावित भएका विनयले कुन समयबाट आफुले गीत गाउन रुचि बढाए त्यो उनी पनि भन्न सक्दैनन् । अर्थात उनी गीतसँगीतमा प्रभावित भएदेखि नै गाउने भएका हुन् । प्रमोद खरेललाई फेभरेट कोच बताउने विनय चर्चित गायककै रुपमा समेत स्थापित छन् । मकवानपुरको हेटौँडा निवासी विनयले आफ्नै आवाजमा समेत धेरै गीतहरु रेकर्ड गराईसकेका छन् । ३५ वर्षीय विनयले ब्लाईन्ड अडिसनमा सुजिलकै ‘भुमो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

सृष्टि सुनार, सिन्धुपाल्चोक हाल काठमाडौँ कपन–सृष्टिले सानै उमेरदेखि गीत गाउन थालेकी हुन् । बुवा कान्छी आमासँगै बस्न थालेपछि उनी अहिले आमासँग बस्छिन् । सानैदेखि टिभी हेर्दै गीत गाउने गरेकी सृष्टिले सबैको हेला सहेको पनि उनकी आमा बताउँछिन् । आमाको दुःखलाई नजिकबाट नियालेकी सृष्टि जन्मिएको बेलै छोरा नभएको भन्दै उनकी आमा रोएको उनी बताउँछिन् । छोरालाई मात्र महत्व दिने परिवारमा जन्मिएकी सृष्टि सानैदेखि बुवाको प्रेमबाट बञ्चित हुनुपरेको सम्झँदै आँशु खसाल्छिन् । बिगत सम्झँदा उनी भाव विह्वल हुन्छिन् । बिगतका तिता पलहरुलाई सँगीतबाटै चिर्ने सपना बोकेकी सृष्टिले ब्लाईन्ड अडिसनमा ‘यो दिल मेरो’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच राजु लामा उनीतिर फर्किएका थिए ।

राजिव पाठक, दमक, झापा–कक्षा ५ मा छँदा नै टाईटानिकको बहुचर्चित गीत गाएर स्टेज टेकेका राविले त्यसपछि संगीतलाई नै आफ्नो लक्ष्य बनाए । त्यस समयमा विद्यालयभरी नै उनी फेमस थिए । दाजु डाक्टर र बुवा प्रोफेसर भएको परिवारमा जन्मिएका उनले संगीतलाई प्राथमिकता दिए । आफ्नो ध्यान पढाईमा कम र सँगीतमा बढी लागेको उनी बताउँछन् । सँगीतमा आमाको निकै साथ पाएका उनले बम्बईबाट समेत संगित प्रशिक्षण लिएका छन् । ब्लाईन्ड अडिसनमा ‘मस्की मस्की’ बोलको गीत गाएका उनका आवाज सुनेर कोच प्रमोद र कोच दिप फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

विकास लिम्बु, झापा, हाल काठमाडौँ–साँगितिक परिवारमा जन्मिएका विकासले सानैदेखि गीत गाउन थालेका हुन् । एक रियालिटी शोका क्रममा झापाबाट छानिएर काठमाडौँ आएका विकासलाई पछि झापा फर्कनै मन लागेन । ५ वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका विकासलाई गाएर के गरिस् भन्ने प्रश्नले सधैँ सताउँथ्यो । संघर्षकै बिच गजल साँझमा गजल गाउन थालेका विकासले राम्रो प्ले ब्याक सिंगर हुने सपना पालेका छन् । त्यही सपनालाई पुरा गर्न उनी भ्वाईसमा आएको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा ‘मैले पूण्य मन पराएँ’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

आकांक्षा थापा, दार्जिलिङ–दार्जिलिङदेखि भ्वाईस अफ नेपालमा भाग लिन दार्जिलिङ देखि आएकी आकांक्षाले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । सँगीतसँगै अन्य काममा पनि सक्रिय बुवा र आमाको प्रेरणा पाएकी उनले पहिलो पटक प्रतियोगीतामा भाग लिएकी हुन् । १८ वर्षीया आकांक्षाले ब्लाईन्ड अडिसनमा ‘आज बारा हाते’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छिन् ।

अमित राई, धरान, हाल कलंकी–औपचारिक रुपमा संगीत नसिकेका अमित सेल्फ प्राक्टिसकै भरमा भ्वाईसको मञ्चमा उक्लिएका प्रतिस्पर्धी हुन् । हाउस पेन्टिङको काम गरिरहेका अमितले एसएलसी पश्चात संगीतमा चासो दिएका हुन् । दाईहरुको ब्याण्डमा ड्रम बजाउँदै संगीतको दुनिया प्रवेश गरेका उनले ब्लाईन्ड अडिसनमा ‘डुब्न देउ मलाई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोचहरु फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

बलबहादुर राजवंशी, झापा–झापाको राजवंशी कुलबाट आएका बलबहादुरलाई गायनमा सबै गाउँवासीको साथ छ । गाउँमा नै चिनिएका बलबहादुरले ब्लाईन्ड अडिसनमा कोच दिपकै आवाजमा रहेको ‘ उ यात्री’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच दिप र प्रमोद फर्किएका थिए । उनी कोच प्रमोदको टिममा छन् ।

सम्झना तामाङ, सिन्धुपाल्चोक, हाल कपन–घरबाट सबैको साथ पाएका सम्झना पहिलो पटक कुनै ठूलो प्रतिस्पर्धामा भाग लिँदैछिन् । विभिन्न कार्यक्रममा पनि गाउने अवसर पाएकी उनी साथीहरुको हौसलामा भ्वाईसको मञ्चमा आएकी हुन् । उनले ब्लाईन्ड अडिसनमा ‘तिमी तारे भीर’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था बाहेक तिनै जना कोचहरु फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

पृथ्वी खनाल, नुवाकोट–आर्किटेक्चर फाईनल एयरका विद्यार्थी समेत रहेका पृथ्वी शशस्त्र प्रहरी बलमा ईन्स्पेक्टर समेत छन् । चिन्ताको साथीका रुपमा संगीतलाई लिने गरेका पृथ्वीले सानैदेखि सेना अथवा प्रहरी बन्छु भन्ने सोच राखेका थिए । उनी सन् २०१० देखि एपिएफमा छन् । उनको ब्लाईन्ड अडिसनम ‘अच्छा लेकिन लढडनको चिसोले’ बोलको गीत गाएका िथिए । उनको आवाज सुनेर कोच दिप र राजु फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

अनिश महर्जन, सानेपा–सानैमा मामासँग गितार बजाउन सिकेका अनिशलाई अन्तत संगीतले नै आफुतिर तान्यो । बिस्तारै गाउने रहरसँगै अगाडि बढेका उनलाई साथीहरुले पनि हौसला दिए । सुरुमा सँगीतमा लागेर के गर्न सकिन्छ र भन्ने दबाब पाएका अनिशले गायनलाई निरन्तरता नै दिईरहे फलस्वरुप अहिले उनको परिवार पनि उनको साथमा छ । उनले ब्लाईन्ड अडिसनमा ‘भूल’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए ।

विमोचना लम्जेल, दार्जिलिङ–सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी विमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन काठमाडौँ आएकी विमोचनाले सँगीतमा नै जीवन डोराउने लक्ष्य राखेकी छिन् । सँगीत कक्षा सँगै औपचारिक अध्ययन समेत गरिरहेकी उनी आमाबुवाकै बाटो पछ्याउन चाहान्छिन् । उनले ब्लाईन्ड अडिसनमा ‘भैँसी लड्यो है माया’ बोलको गीत गाएकी थिईन् । उनकी आमा चर्चित गायिका डेजी बराईलीको यो गीत गाउँदा चारै जना कोच उनीतिर फर्किए । डेजीको सुरिलो आवाजमा ४४ बर्ष अगाडि रेकर्ड भएको यो गीत विमोचनाले आफ्नै आवाजमा गुञ्जाएकी थिईन् । भ्वाईसको मञ्चमा ४४ वर्ष पछि डेजी आफैले पनि यो गीत गाईन् । विमोचना कोच प्रमोदको टिममा छिन् ।
यो पनि हेर्नुहोस्
ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग 9 (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*