ब्याटलका लागि थप ६ जना छनौट

२२ भाद्र २०७६, आईतवार १८:०५

चन्द्र घलान, २२ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यो सामग्री तयार पार्दाको समयमा यस सिजनको ब्लाईन्ड अडिसन अन्तर्गत ८ वटा एपिसोडहरु प्रसारण भईसकेका छन् । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । अहिलेसम्म ४३ जना सहभागीहरु ब्याटल राउण्डका लागि छानिएका छन् भने १२ जनाको यात्रा ब्लाईन्ड अडिसनबाटै सकिएको छ । ४३ जनामध्ये १६ जना प्रतियोगीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । भदौ २१ गते प्रसारित एपिसोडबाट थप ६ जना थपिएपछि ब्याटलमा जानेको संख्या ४३ पुगेको हो । यस सामग्रीमा शनिबार प्रसारित एपिसोडबाट थपिएका ६ प्रतिस्पर्धीका बारेमा चर्चा गरिएको छ ।

कुमार सागर, भक्तपुर–वेष्टर्न रक तथा गीतार बजाउन मन पराउने कुमारले नेवारी सँस्कृति अनुसार नलागेको भन्दै कहिले काँही आफन्तको गुनासो पनि खेप्छन् तर उनी आफुलाई मनपर्ने शैलीको गीत गाउनमा तल्लिन् छन् । लुकी–लुकी गीतार सिकेका उनले पढाई समेत बिगारे तर उनको संगीतको भोक मरेन । गीतार सिकेका कारण आफुले कुटाई खाएको पल पनि उनी सम्झन्छन् । ब्लाईन्ड अडिसनमा उनले ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । उनको पर्फोमेन्स् र आवाजमा चारै जना कोच उनीतिर फर्किएका थिए । उनी कोच आश्थाको टिममा छन् ।

सशिका सुनार राई, मकवानपुर, हाल बालुवाटार –कलेज लेभलदेखि नै गायन प्रतियोगितामा विजेता बन्दै संगीत यात्रा थालेकी सशिकाले संगीतमा लाग्न अध्ययनलाई नै स्थगित गरिन् । अन्तरजातिय विवाह गरेकी सशिकाले जीवनमा उतार चढाव भोग्दै अहिले संगीतको रेसमा नै सामेल हुने निर्णय गरेकी छिन् । ब्लाईन्ड अडिसनमा ‘माया पिरती’ बोलको गीत गाएकी सशिकाको आवाज सुनेर कोच राजु र आश्था फर्किएका थिए । उनी कोच राजुको टिममा छिन् ।

राजिव सोनार, आसाम –सानैदेखि दाईको गीत सुनेर हुर्किएका उनलाई दाईको गीतले नै संगीतमा लाग्ने प्रेरणा मिल्यो । परिवार र गुरुहरुबाट थप हौसला पाएका राजिवले ब्लाईन्ड अडिसनमा ‘खै जालमा पारेर गई’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच आश्था फर्किएका थिए ।

श्रवण कुमार अधिकारी, पोखरा, हाल काठमाडौँ –ललितकला क्याम्पसबाट औपचारिक रुपमा संगीत सिकेका श्रवण रक गीत गाउन रुचाउँछन् । जीवनका दौडको दौडान कयौँ पटक हरेश खाएका श्रवण धेरै पटक परिवारको साथ सम्झेर जुर्मुराएर उठेका छन् । उनले ब्लाईन्ड अडिसनमा ‘सम्झिने मुटु’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच राजु र दिप फर्किएका थिए । उनी कोच राजुको टिममा छन् ।

कविराज हुमागाई, हेटौँडा मकवानपुर–लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत कविराज हुमागाईँ मकवानपुरमा चर्चित नाम हो । रेडियो थाहा सञ्चारमा कार्यरत उनी सुमधुर स्वरका धनी पनि छन् । विभिन्न साँगितिक कार्यक्रममा प्रस्तुति दिँदै आएका कविराजले आफ्नै आवाजमा पनि केही गीत रेकर्ड गराएका छन् । ब्लाईन्ड अडिसनमा उनले ‘आँधीले रोक्नुपर्ने भो’ बोलको गीत गाएका थिए । उनको आवाज सुनेर कोच प्रमोद बाहेक अन्य सबै कोच फर्किएका थिए । उनी कोच दिपको टिममा छन् ।

रीता राई, संखुवासभा–जन्मिएको ४ वर्षदेखि आँखा नदेखे पनि रीताले जीवनलाई सँगीतले उज्यालो बनाएकी छिन् । सानैदेखि गीत गुनगुनाउने रीताले ब्लाईन्ड अडिसनमा कम्मरमाथि पटुकी बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कोच आश्था उनीतर्फ फर्किएकी थिईन् ।

यो पनि हेर्नुहोस्

ब्याटल राउण्डमा पुगेका प्रतियोगीहरु भाग १ (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*