भ्वाईस अफ नेपाल २ ले गुमाएका ९ प्रतिभाहरु

१७ भाद्र २०७६, मंगलवार २२:०९

चन्द्र घलान,मकवानपुर, १७ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यो सामग्री तयार पार्दाको समयमा यस सिजनको ६ वटा एपिसोडहरु प्रसारण भईसकेका छन् । अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । अहिलेसम्म ३२ जना सहभागीहरु दोस्रो राउण्डका लागि छानिएका छन् भने ९ जनाको यात्रा ब्लाईन्ड अडिसनबाटै सकिएको छ । ३२ जनामध्ये १३ जना प्रतियोगीहरुले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएका छन् । यस सामाग्रीमा अहिलेसम्म बाहिरिएका ९ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ ।

१) पदम मगर, संखुवासभा–भ्वाईस अफ नेपालमा ब्लाईन्ड अडिसनबाट बाहिरिएका पहिलो प्रतिभा हुन् संखुवासभा निवासी पदम मगर । वर्कशप सञ्चालन समेत गरेका पदम सानैदेखि सँगीतमा रुचि राख्थे । एसएलसी कटाएपछि सँगीत पढ्न गन्धर्व संगीत विद्यालय असनमा ३ वर्ष संगीत सिकेका उनले एसएलसी दिने क्रममा ट्युसन सेन्टरमा भेट भएकी आफ्नी जीवनसाथी भेट्टाएका थिए । वर्कशपमा काम गर्दै गर्दा एसएलसी दिएपछि संगीत पढ्न पाईन्छ भन्ने सुनेका उनले एसएलसी दिन ट्युसन पढेका थिए । ब्लाईन्ड अडिसनमा उनले मन थिएन जोगी बन्नलाई बोलको गीत गाएका थिए ।

२) बबिना भट्टराई, विराटनगर, मोरङ हाल काठामाडौँ– सँगीत सिक्दै गर्दा लभ म्यारिज गरेकी बबिना सँगीत क्षेत्रमा आफ्नो श्रीमानले आफुलाई गरेको सहयोगको कदर गर्छिन् । विराटनगर घर भई हाल काठमाडौँ बस्दै आएकी २९ वर्षीया बबिनाले ब्लाईण्ड अडिसनमा ‘नाई नभन्नु ल’ को शिर्ष गीत गाएकी थिईन् । उनी दोस्रो राउण्डका लागि छनौट हुन सकिनन् ।

३) जमुना न्यौपाने, पाल्पा– पाल्पाको तानसेन निवासी जमुनालाई साथी र परिवारले राम्रो गीत गाउने प्रतिभाका रुपमा चिन्छन् । उनी परिवार र साथीहरुकै हौसलाबाट भ्वाईस अफ नेपालमा सहभागी हुन आएकी हुन् । १८ वर्षीया जमुनाले बनेको छ पाहाराले बोलको गीत गाएकी थिईन् । उनको दोस्रो राउण्डमा पुग्ने ईच्छा यस पटकको लागि भने अधुरो रह्यो ।

४) शान्ति सदा, सिराहा, – आमा र बुवाबाट गाउन प्रेरणा पाएकी शान्ति २९ वर्षीय शान्ति आफ्नो आवाजलाई आफ्नी आमाको जस्तो भएको बताउँछिन् । मुसहर बस्तीमा कसैले पढ्न नपाए पनि उनले कक्षा ९ सम्म पढ्ने मौका पाएकी थिईन् । रोगले सिकिस्त भएकी आमाले मर्नुभन्दा अघि आफ्नो विवाह भएको हेर्ने चाहाना गरेपछि उनी विवाह गर्न बाध्य भईन् । आमाको हेरचाहा गर्ने गरेकी उनी जब विवाह गरेर आईन् तब आमाको स्वास्थ्य झन् बिग्रियो र आमा एक वर्षपछि नै बितिन् । बुहरीलाई घुम्टोभित्रै बस्नुपर्ने समाजमा हुर्किएकी उनले श्रीमानको प्रेमका कारण त्यस्तो बाध्यतामा बस्नु परेन । सासुले पनि उनलाई पढ्न थप हौसला दिईन् । घुम्टोमा बस्नुपर्ने बुहारीलाई स्कर्ट लगाएर बोर्डिङ पठाएको भन्दै उनकी सासुले छरछिमेकबाट निकै नै किचलो सहिन् । ब्लाईन्ड अडिसनमा मैथली गीत गाएकी उनले कुनै कोचलाई फर्काउन नसकेपनि सबैको मन जित्न सफल भईन् । उनको श्रीमानको प्रेम र सासुको ममतालाई आम नेपाली दर्शकले रुचाए ।

५) सन्तोष गन्दर्भ, सिक्किम– नेपालको भोजपुरमै जन्मिएका सन्तोष सानैमा आमा गुमाएपछि बुवासँगै सिक्किम गए । सिक्किममा नै बुवासँगै सारंगी रेट्न सिकेका छन् । उनी सारंगी रेटेर नै परिवारलाई सघाउँछन् । छोरालाई साँस्कृतिक पेशा सिकाएता पनि उसले बाटोमा गाउन नपरोस् भन्ने भावना बोकेका उनी कोच प्रमोदका गीतहरु मन पराउँछन् । ३० वर्षीय सन्तोषले कुमार शुब्बाको आवाजमा रहेको सारंगीको तार मेरो बोलको गीत गाएका थिए । उनी दोस्रो राउण्डमा जान सफल भएनन् ।

६) मिरोज तुलाधार,काठमाडौँ–सँगीतमा बुवाको साथ पाएका मिरोज सँगीतसँगै जागिरलाई पनि निरन्तरता दिँदै छन् । २५ वर्षीय मिरोजले ब्लाईन्ड अडिसनमा बिपुल क्षेत्रीको डढेलो लाग्यो बोलको गीत गाएका थिए । उनले कुनै कोचलाई आफुतर्फ फर्काउन सकेनन् ।

७) लक्ष्मण महतो, सर्लाही–सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण सर्लाही निवासी हुन् । आँखा अस्पतालमा साहायकको काम गर्ने उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए । उनलाई परिवारबाट साथ भएता पनि गीत गाएर जीवन चल्ला र भन्ने प्रश्न तेर्सिन्छ । तर उनी गीत गाउन निकै रुचि राख्छन् । संगीतमा लाग्दा मरे पनि अमर बनिन्छ भन्ने सोच बोकेका सञ्जयले ब्लाईन्ड अडिसनमा पैसा कसले बनायो भन्ने गीत गाएका थिए । तर उनी दोस्रो राउण्डमा छनौट हुन सफल भएनन् ।

८) ऐश्वर्य राई, काठमाडौँ –आमाले राखिदिनुभएको ऐश्वर्य नाममा गर्व गर्ने ऐश्वर्यलाई एक्लै हिँड्न निकै मनपर्छ । सानैदेखि संगीतम रुचि भएता पनि परिवारबाट उनलाई यस क्षेत्रमा लाग्न सानोमा खासै सहयोग नभएको उनी बताउँछिन् । धरानकी २१ वर्षीया ऐश्वर्यले ब्लाईन्ड अडिसनमा निश्चल बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर कुनै कोच फर्किएनन् तर उनले सकरात्मक अपेक्षा लिएर भ्वाईसको मञ्चबाट विदा लिएकी छिन् ।

९) राजा राजेन्द्र, झापा –चर्चित हाँस्यकलाकार राजा राजेन्द्रलाई नचिन्ने सायदै कमै होलान् । कमेडी र क्यारिकेचरका क्रममा दर्शकमाझ रुचाइएका राजेन्द्रले के भुल भयो प्रिया बोलको गीत गाएका थिए । उनले कुनै कोचलाई फर्काउन सकेनन् तर उनले स्टेजमा सबैलाई हँसाएर बिदा भए ।

यो पनि हेर्नुहोस्

दमदार आवाज, जसले चारै जना कोचलाई फर्काए (भिडियो) भाग–१

दमदार आवाज, जसले चारै जना कोच फर्काए Part 2


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*