यी हुन् ‘भ्वाईस अफ नेपाल २’ मा सबै कोचलाई फर्काउन सफल प्रतिभा

१३ भाद्र २०७६, शुक्रबार ११:५५

चन्द्र घलान, मकवानपुर, १३ भदौ । चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले देश तथा विदेशका प्रतिभावान गायक गायिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । यो सामग्री तयार पार्दाको समयमा यस सिजनको ४ वटा एपिसोडहरु प्रसारण भईसकेका छन् । अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । डिजिटल अडिसनबाट छानिएर उनीहरु ब्लाईन्ड अडिसनमा सहभागी भएका हुन् । चर्चित गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले प्रतियोगितामा कोचको भूमिका निभाइरहेका छन् । अहिलेसम्म २१ जना सहभागीहरु दोस्रो राउण्डका लागि छानिएका छन् भने ६ जनाको यात्रा ब्लाईन्ड अडिसनबाट सकिएको छ । यस सामग्रीमा अहिलेसम्म चारै जना कोचहरुको चियरलाई आफुतर्फ फर्काउन सफल ९ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ ।

१) सनिश श्रेष्ठ, कोटेश्वर, काठमाडौँ–हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका सनिशले हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका थिए । गीतार बजाउँदै गीत गाउँदै गरेका उनी गीतारकै कारण आफुले पढाईमा खासै उन्नती गर्न नसकेको सुनाउँछन् । १९ वर्षीय सनिशले चर्चित नेपाली कथानक चलचित्र प्रसादकौ लै लै बोलको गीत गाएका थिए । भ्वाईसको दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छन् ।

२) प्रेक्षा लम्साल, दाङ– दाङकी प्रेक्षा २० वर्षकी छिन् । भ्वाईस अफ नेपालको सिजन वानमा पनि सहभागी भएकी प्रेक्षाले त्यस समयमा ‘बाहरसँगै उड्यो मन’ बोलको गीत गाएकी थिईन् । तर उनी छनौटमा परिनन् । कोचहरुको कमेन्टलाई आत्मासाथ गरेर तयारी गरेर आएकी प्रेक्षाले दोस्रो सिजनको ब्लाईन्ड अडिसनमा कुन्ती मोक्तानको ‘कहिले काँही मलाई पनि’ बोलको गीत गाएकी थिईन् ।
यो गीतबाट उनले चारै जना कोचलाई आफुतिर फर्काउन सफल भईन् । उनी सिजन २ मा चारै जना कोच फर्काउन सफल दोस्रो प्रतियोगी हुन् । उनी कोच राजु लामाको टिममा छिन् ।

३) याङ्की योल्मो, दार्जिलिङ– दार्जिलिङको आलुबारीबाट भ्वाईस अफ नेपालको दोस्रो सिजनमा सहभागी हुन आएकी याङ्कीको वास्तविक नाम याङ डोल्मो हो । हेलम्बुको सँस्कृतिसँग जोडिएकी याङ्की आफ्नो हजुरबुवालाई प्रेरणाको श्रोत मान्छिन् । ह्योल्मो सँस्कृतिको गीत समेत गाएकी उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको मेरो आँशु बोलको गीत गाएकी थिईन् ।
२२ वर्षीय याङ्कीको गीत सुनेर चारै जना कोच फर्किएका थिए । दोस्रो सिजनमा उनी चारै जना कोचलाई आफुतिर फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । उनी कोच आश्थाको टिममा छिन् ।

४) सुशान्त गौतम, ईलाम – ईलामका २२ वर्षीय सुशान्त आफुलाई मन लागेको कुरा गर्न रुचाउँछन् । उनी आफु संगीतमा निरन्तर लागिरहेको बताउँछन् । उनले ब्लाईन्ड अडिसनमा द एज ब्याण्डको थाहा छैन बोलको गीत गाएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल चौथो प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

५) गीता शर्मा, सिक्किम– बुवाले परिवारलाई छोडेपछि पिडामा परेकी गीताले अध्ययन बिचैमा रोकिएपछि संगीतलाई आफ्नो लक्ष्य बनाईन् । आफै कमाउदै सँगीत क्षेत्रमा संघर्ष गरेकी गीता उनले नै संगीत सिकाएका एक विद्यार्थीको अनुरोधमा द भ्वाईसमा सहभागी भएको बताउँछिन् । ३३ वर्षीया गीताले ब्लाईन्ड अडिसनमा अरुणा लामाको पाहोर साल खुशी साट्दा बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच उनीतर्फ फर्किएका थिए । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल पाँचौ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् । अडिसनमै राजुसँगै उनले गाएको गीत पनि अहिले भाईरल भईरहेको छ ।

६) राम लिम्बु, विर्तामोड, झापा–स्थानीय ब्याण्डका दाईहरुसँगै गीत गाउँदै हिँड्ने गरेका रामले औपचारिक रुपमा साँगितिक कक्षा लिएका छैनन् । तर उनी गीत गाउन माहिर छन् । २३ वर्षीय रामले ब्लाईन्ड अडिसनमा सविन राईको म संसार जित्ने आँट बोलको गीत गाएका थिए । उनको आवाजमा चारै जना कोच फर्किएका थिए । उनी दोस्रो सिजनमा चारै जना कोचलाई फर्काउन सफल छैटौँ प्रतियोगी हुन् । उनी कोच दिपको टिममा छिन् ।

७) वैशाली लामा, सिलीगुडी–भ्वाईस अफ ईण्डियामा समेत भाग लिएकी वैशाली आफ्नै मातृभाषामा प्रतिस्पर्धा गर्न पाएकोमा खुशी लागेको बताउँछिन् । साईबाबाको भक्त रहेकी उनले साई भजनबाटै सँगीतमा पाईला चालेकी हुन् । सानैदेखि गाउन सुरु गरेकी उनले ब्लाईन्ड अडिसनमा लहनाले जुरायो कि बोलको गीत गाएकी थिईन् । २५ वर्षीय वैशालीले चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल भएकी थिईन् । उनी सिजन २ मा चारै जना कोचलाई फर्काउन सफल सातौँ प्रतिभा हुन् । उनी कोच राजुको टिममा छिन् ।

८) साईकिरण लम्साल, काँकटभिट्टा, झापा–६ वर्षदेखि भजन गाउँदै संगीत क्षेत्रमा लागेका साईकिरण फिटनेस सेन्टर समेत चलाउँछन् । बुवा र श्रीमतीबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएका साईकिरणले ब्लाईन्ड अडिसनमा नारायण गोपालको प्रियसीका यादहरु बोलको गीत गाएका थिए । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । सिजन २ मा चारैजना कोचलाई फर्काउन सफल उनी आठौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छन् ।

९) झुप्री भण्डारी,अछाम–१० वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी झुप्री भण्डारी अहिले सामाजिक सञ्जालमा भाईरल छिन् । कमल भण्डारीको सहयोगमा भ्वाईसको मञ्चसम्म आएकी झुप्रीले अपाङ्ग भएकै कारण सामाजिक दुव्र्यव्यहार समेत सहेको बताउँछिन् । भ्वाईसको मञ्चमा उनको आवाज गुञ्जिएपछि संसार नदेखेका उनका आँखाले दर्शकको माया र सद्भाव महशुस गर्न पाएका छन् । आफ्नै रचनामा गीत गाउने झुप्रीले ब्लाईन्ड अडिसनमा देउडा भाका गाएकी थिईन् । उनको आवाज सुनेर चारै जना कोच फर्किएका थिए । उनी सिजन २ मा सबै कोचलाई फर्काउन सफल नवौँ प्रतिभा हुन् । उनी कोच आश्थाको टिममा छिन् ।

यो पनि हेर्नुहोस्
यस्ता छन् ‘रियो छमछमी–४’ का उत्कृष्ट ९ प्रतियोगीहरु (भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*