पुरुषोत्तम आचार्यको ‘रातो मुखुन्डो’ (भिडियो)

मकवानपुर, १७ साउन । चर्चित मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यको ‘रातो मुखुन्डो’ शिर्षकको कविता युट्युबमा सार्वजनिक भएको छ । समकालीन नेपाली साहित्यको बजारलाई केही हदसम्म फराकिलो बनाउने उद्देश्य बोकेर पछिल्लो समय मकवानपुरबाट साहित्यको क्षेत्रमा मात्र केन्द्रित रहेर सुरुवात भएको नव साहित्य टिभीको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गजल गायनमा समेत अब्बल र चर्चित साहित्यकार आचार्यको यो कविता हेर्नुहोस्, सुन्नुहोस्, पढ्नुहोस्–
कविताको शिर्षक–‘रातो मुखुन्डो’
साहित्यकार– पुरुषोत्तम आचार्य
राता स्वप्न चपाउदै मुखभरी पोत्दैछ रातोपन
बुख्याचा सरि नाचिरैछ मदले गर्दै ठुला गर्जन
आँखामा कपटी अनेक सपना बोकी सधँै बस्छ यो
राता मानिस झैं बनेर जनता झुक्याउँदै हिँड्छ यो
दारा भित्र लुकाउँदै ङिचिङिची हाँस्ने सधैं बाहिर
छोपी रूप अनेक भेष बदली छक्याउनै माहिर
खुल्ला हुन्न मुहार वास्तविकता राख्ने लुकाई सधैं
हेर्दा मानव रूपको तर कला लाग्ने कुनै दैत्य झैं
लूतो, दाद, दुबी अनेक खटिरा मेटेर झिल्के बनी
छोप्दै दाग र घाउ ती बिफरका हिँड्दैछ राम्रो भनी
कालो र्याल पुछेर लाल रङले मेट्दैछ टाटाहरू
पासो जाल रचेर ढोँग भ्रमको खोल्दैछ बाटाहरू
बस्ती छिर्छ बिहान सूर्य रङले रातो बनी गाउँमा
सन्ध्या फिर्छ प्रकासिदै सहरको तातो हुने ठाउँमा
झाँकी लाल कला झिकेर दिनमा मान्छे ठगी हिँड्छ यो
मस्ती भोज गरेर रात बिचमा षड्यन्त्रमा हुन्छ यो
राता मानिस हे नयाँ किरणको सञ्चार गर्दै उठ
जाली जोक्करका कुरूपपनको रातो मुखुन्डो थुत
जागौं लोक सजाउँदै जगत यो आशा सुनौला छरी
रातो याम फुलाउने प्रण गरौं पाखा पखेराभरि
यो पनि हेर्नुहोस्
युरोपको हिमालको चुचुरोमा मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो)
मकवानपुरे करप रुम्बाको पहिलो गीत यस्तो बन्यो
मकवानपुरका उदयीमान नव गायक करप रुम्बाको नयाँ सेलो गीत तयार भएको छ । गीत तयार भएसँगै उनको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको हो ।
अडियो भर्सन मात्र सार्वजनिक गरेका रुम्बाले तत्कालै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भने गरेका छैनन् । उनी केही समयअघि सम्पन्न हेटौँडा आईडलमा समेत स्टेज राउण्डसम्म पुगेका थिए । नेपाल आईडल गायन प्रतियोगिताको प्रभावले गीतसँगीतको क्षेत्रमा पाईला चालेका उनको यो पहिलो प्रयास भएको भन्दै सुनेर कमेन्ट गरिदिनका लागि उनले आग्रह गरेका छन् । मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका हुन् । गीतमा कर्साङ लामाको एरेञ्ज रहेको छ ।