हेटौँडाकी सन्ध्या आचार्य ‘छमछमी’ को उत्कृष्ट १२ मा, यसरी गरौँ भोट

१५ श्रावण २०७६, बुधबार १४:५८

चन्द्र घलान, मकवानपुर, १५ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२ मा स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट १२ मा पुगेकी उनले छमछमीको यो सिजन जित्ने ठूलो सम्भावना समेत रहेको केन्द्रका सञ्चालक तथा प्रशिक्षक राजेश मग्रातीले दाबी गरे ।

यही साउन १८ गते राति ९ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने छमछमीको नयाँ एपिसोडदेखि उनलाई भोट गर्न समेत सकिने मग्रातीले बताए । उक्त श्रृङ्खलामा प्रस्तुति पश्चात भोटिङ सुरु हुने बताउँदै मग्रातिले सन्ध्याका लागि भोट गरिदिनका लागि सबैलाई आग्रह गरेका छन् । सन्ध्याले पनि सामाजिक सञ्जाल मार्फत आफु उत्कृष्ट १२ मा पुग्न सफल भएको र साउन १८ गते राति १० बजेपछि सुरु हुने भोटिङमा सर्वाधिक भोट गरिदिनका लागि आग्रह गरेकी छिन् । उनलाई भोट गर्न म्यासेज बक्समा CC 08 टाईप गरी 31009 मा पठाउनुपर्ने छ ।

‘सन्ध्या–बहुमुखी प्रतिभाकी धनी’

सन्ध्या नृत्यमा जति अब्ब्ल छिन् त्यति नै खेलकुदमा पनि सक्रिय छिन् । बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्यका जेठी छोरीका रुपमा जन्मिएकी सन्ध्याकी एक बहिनी पनि छिन् । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्यवसायिक विज्ञापनहरुमा समेत अभिनय गरेकी सन्ध्या विज्ञानकी विद्यार्थी पनि हुन् । उनी हेटौँडा २ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गर्दै आएको धेरै नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएकी छिन् । उनी शिक्षक र विद्यार्थीमाझ पनि निकै लोकप्रिय छिन् ।

उनी नृत्यमा मात्र होईन खेलकुदमा पनि उत्तिकै सक्रिय छिन् । मकवानपुरकी चर्चित एथलेटका रुपमा चिनिने उनले मकवानपुर जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरुमा धेरै पटक स्वर्ण पदक तथा कास्य पदक पनि जितेकी छिन् । उनले राष्ट्रिय प्रतियोगितामा समेत ३ पटकसम्म सहभागीता जनाई सकेकी छिन् । उनी स्वतन्त्र विद्यार्थी युनियन वर्ष खेलाडी समेत हुन् । उनले मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न रचनात्मक तथा खेलकुद प्रतियोगितामा ५ वटा स्वर्ण र २ वटा रजत पदक जित्न सफल भएकी थिईन् ।

मकवानपुर जिल्लाबाट प्रतियोगितामा अडिसन दिएका १ सयभन्दा बढी सहभागीमध्ये उनी उत्कृष्ट १२ मा पुग्न सफल भएकी हुन् । छमछमीको तेस्रो सिजनमा पनि उत्कृष्ट ५० सम्म पुग्न सफल भएकी उनले यो वर्ष भने टाईटल जित्ने सम्भावना समेत रहेको दर्शकहरु बताउँछन् । यस अघि पनि मकवानपुरको मनहरी निवासी सरोज राना प्रजाले छमछमीको तेस्रो सिजन जितेका थिए । सन्ध्या यो यात्रालाई दोहोराउने सुरमा छिन् ।

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*