नायक सागर घिसिङ र मोडल स्मारिका थिङ म्युजिक अवार्डको नोमिनेसनमा

मकवानपुर, ७ साउन । चर्चित नायक सागर घिसिङ दक्षिण कोरियामा आयोजना हुन गईरहेको ‘नेपाली लोक संगीत अवार्ड दक्षिण कोरिया २०१९’ को नोमिनेसनमा परेका छन् । उनी चर्चित तामाङ भाषाको चलचित्र ‘घ्रान’ बाट ‘बेस्ट तामाङ फिल्म अभिनेता (पुरुष) तर्फ नोमिनेसनमा परेका हुन् ।
नोमिनेसन पश्चात भोटिङबाट उत्कृष्ट नायक घोषणा गरिने हुँदा उनले भोटिङका लागि समेत दर्शकहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन्–‘चलचित्र घ्रानबाट नोमिनेसन मा परेको छु, आशा छ तपाईं सबै जनाले भोटिङ मार्फत भोट गरी माया गरिदिनु हुन्छ । जय तामाङ चलचित्र ।’
त्यस्तै चर्चित तामाङ गीत ‘ए बिना’ मा अभिनय गरेकी सञ्चारकर्मी तथा मोडल स्मारिका थिङ पनि यसै गीतबाट नोमिनेसनमा परेकी छिन् । उनी ‘तामाङ लब म्युजिक भिडियो’ विद्यामा उत्कृष्ट अभिनेत्रीका रुपमा नोमिनेसनमा परेका हुन् । यस गीतमा स्मारिका र सागरको दमदार अभिनय छ ।
जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ । गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । यासा घलेको समेत फिचरीङ रहेको गीतको भिडियोमा रोमान्टिक शब्दहरुलाई सम्बोधन गर्ने गरी कथात्मक प्रस्तुतिलाई स्थान दिइएको छ । आफुले माया गरेको मान्छेलाई बिर्सिएर माईती घर छोड्नुपर्ने परिबन्धमा परेकी एक युवती र उनलाई माया गर्ने युवकको कथाले गीतको भिडियोलाई थप चर्चामा ल्याएको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् ।
त्यस्तै केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’मा नायक सागर घिसिङको दोहोरो भूमिका रहेको छ । चलचित्रमा नायिका सुष्मा मोक्तानको समेत अभिनय देख्न सकिन्छ । चलचित्रका मुख्य खलपात्रका रुपमा देखिएका विकास स्याङ्तानको खतरनाक अवतार पनि चलचित्रमा समावेश छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रमा सागर र सुस्मासँगै चर्चित नायिका सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।
चलचित्रका तिङ मी ढुकढुक, सारी आरे लगायतका गीतहरु चर्चित बनेका छन् । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको कथा बोकेको छ । तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।
अवार्ड कार्यक्रम हिमालयन नेपाली ईभेन्टस् प्राईभेट लिमिटेड काठमाडौँको आयोजनमा हुन लागेको हो ।
यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?