प्रहरीलाई गोली हान्ने मकवानपुरका गाँजा तस्कर पक्राउ (भिडियो सहित)

५ श्रावण २०७६, आईतवार १६:१५
Featured Video Play Icon

मकवानपुर, ५ साउन । मकवानपुर प्रहरी टोलीलाई गए राति गोली हान्न प्रयास गरेका एक गाँजा तस्करलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी लागू औषध गाँजा र हतियार सहित पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ ढुङगेन बस्ने ४३ वर्षीय कुमार स्याङ्तान भनेर चिनिने राजु स्याङ्तानलाई सार्वजनिक गरिएका हो ।

उनको साथबाट कटुवा पेस्तोल थान १, सोही पेस्तोलमा लोड भई फायर भएको खोका १ थान, लाईभ राउन्ड ५ थान र लागु औषध गाँजा २ पोकामा ३१ किलो ४०० ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई गए राति मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयास्थित राप्तिखोलामा राक्सिराङबाट पसाए राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटोमा पक्राउ गरिएको हो । मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्ग डकैती , लागु औषधको कारोबार गर्ने स्याङ्गतानले राक्सिराङ्गका अन्य गाजा कारोबारीहरुलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने गरेको समेत बताइएको छ । स्याङ्गतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन् ।

कसरी भयो घटना ?

साउन ५ गते राति अन्दाजी १२ बजेर २० मिनेट जाँदाको समयमा राप्तिखोला स्थितमा राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै पर्सा तर्फ लागु औषध गाँजा लैजाँदै गरेको भन्ने प्राप्त भएको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक अनिश बुढाथोकीको कमाण्डमा टोली खटिएको थियो । उक्त सम्भावित बाटोको खोँचमा घेरा हाली एम्बुसिङ थापेकोमा लागु औषध गाँजा लाँदै गरेका ४–५ जनाको समुहले प्रहरीलाई देखी फायर गरेका थिए । प्रहरीको तर्फबाट आत्म सुरक्षाको लागि जवाफी फायर गरी उक्त समुह मध्येका स्याङतानलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।

यस अघि पनि वि.सं. २०७१ साल पुष १६ गते काठमाण्डौको किर्तीपुर नगरपालिका वडा नम्बर १६ मा स्याङतानको साथबाट लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौले १०० किलो लागु औषध गाँजा फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । उक्त मुद्धामा उनी ३ वर्ष जेल समेत बसेका थिए ।
यस मुद्धामा भने उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–६ को हातहतियार खरखजाना सम्बन्धि कसुरमा ७ बर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुनसक्ने बताइएको छ । त्यस्तै मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धि कसुरको १८३ अनुसार ज्यान मार्ने नियतले गोली फायर गरेको हुँदा १० बर्ष सम्म कैद र १ लाख रुपैयासम्म जरिवाना पनि हुनसक्ने र लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना लाग्न सक्ने देखिएको छ । त्यस्तै उनलाई पटके कायम गरी थप सजाय पनि गर्ने तयारी प्रहरीले गरेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को दफा ४३ अनुसार एकिकृत कसुरमा थप सजाय समेत हुनसक्ने बताइएको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*