‘भिसिटिएस राम्रो हो तर लागु गर्न हतार भयो’–हेटौँडाका व्यवसायी

३ श्रावण २०७६, शुक्रबार ०६:३७

मकवानपुर, ३ साउन । नेपाल सरकारले साउन १ गतेबाट लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लागु गर्न हतार गरेको व्यवसायीहरुले बताएका छन् । बिहीबार हेटौँडाको न्युज क्लब नेपालको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै हेटौँडाका व्यवसायीहरुले यसको समर्थन र विरोध दुबै गरे । भिसिटिएस कति महत्वपूर्ण छ भन्ने कुरालाई पनि एक व्यवसायीले खुलेर बताए । कार्यक्रममा बोल्दै एक लत्ताकपडा व्यवसायीले भिसिटिएस आएपछि कर छल्ने प्रवृत्तिको अन्त्य हुने र ट्रान्स्पोर्टमा माल हरायो भन्ने समस्या पनि अन्त्य हुने बताए । साथै एउटै प्यानमा एकै बिल नम्बरको प्रयोग गरी धेरै पटक बिल काट्ने र राजश्व छल्ने कार्य पनि बन्द हुने उनले दाबी गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले भिसिटियस लागु गर्न सरकारले हतार गरेको बताए । केन्द्रीय सदस्य न्यौपानेले सरकारले ल्याएको यो सिस्टमले ठुला ब्यवसायीलाई मात्र हित भएको तर साना ब्यवसायी मारमा परेको बताए । अहिलेको अवस्थामा नेपालको लागि यो नियम प्रभाकारी बनाउनको लागि सहज वातावरण नभएको भन्दै उनले सरकारले आवश्यक गृहकार्य गरेर मात्र यो नियम लागु गर्नको लागि आग्रह गरे । कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले भिसिटिएस ठुला ब्यवसायीलाई मात्र फाईदा गर्ने बताए । यसको सबैभन्दा प्रत्यक्ष मारमा डिलर, होलसेल तथा खाद्यन्न ब्यवसायीहरु पर्ने भन्दै उनले सरकारले आवश्यक गृहकार्य नगरी ल्याएको नीतिले साना ब्यवसायीहरु मारमा परेको र ब्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा आएको बताए । हेर्नुहोस् उनको तर्कसहितको भिडियो–

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठले सरकारको योजना राम्रो हुँदाहुँदै पनि कार्यन्वयन पक्ष भने फितलो भएको कारण समस्या आएको बताए । यो सिस्टमलाई लागु गर्न सबै स्थानमा इन्टरनेट पहुँच नहने र यो सिस्टम अहिलेनै लागु गर्ने अवस्था समेत नरहेको उनको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै मदिरा बिक्रेता संघ मकवानपुरका अध्यक्ष सर्वेन्द्र पौडेलले सरकारले हतार गरि ल्याएको यो ब्यवस्थाले आफुहरु ब्यवसाय गर्न सक्ने अवस्थामा नरहेको भन्दै खारेजीको माग गरे । त्यस्तै मकवानपुर डिलर एशोसियसनका अध्यक्ष चक्रधर विडारीले सरकारले ल्याएको यो ब्यवस्थाको सबैभन्दा धेरै मारमा आफुहरु परेको बताए । सरकारको गरेको व्यबस्था आफुसम्म आउँदा ठिक रहेको तर आफुहरुबाट वितरण हुँदा समेत समस्या हुने उनले बताए । सबै ठाउँमा इन्टरनेट पहुँच नभएको र यो सिस्टमको विषयमा आफुहरुलाई ज्ञान समेत नभएको भन्दै उनले सरकारले सुरुवातमा ठुला उद्योगबाट यो योजनाको लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मकवानपुर खाद्यान्न ब्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठले यो ब्यवस्था लागु गर्न नसकिने बताए । अहिलेको अवस्थामा यो ब्यवस्था लागु गर्नु नेपालको लागि उपयुक्त नभएको बताउँदै उनले विदेश भ्रमणमा गएर विकसीत मुलुकको ब्यवस्था हेर्दै नेपालमा लागु गर्न खोज्नु मुर्खता भएको दाबी गरे । कार्यक्रममा ग्यास ब्यवसायी संघका अध्यक्ष दिलिश गोविन्द जोशी, कपडा ब्यवसायी संघका तेजप्रसाद अधिकारी लगाएतले धारणा ब्यक्त गरेका थिए ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*