गायक अशोक तामाङले जस्मिनलाई छोडेर सौता ल्याएपछि (भिडियो)

३० असार २०७६, सोमबार ०७:४७

चन्द्र घलान, मकवानपुर, ३० असार । नेपाली समाजमा सौता ल्याउनुलाई निकै नै खराब नजरले हेरिन्छ । एक श्रीमतीका लागि सौता मुटुको खिल जस्तै हो जसले पटक पटक पिडा दिन्छ । श्रीमतीले सबैकुरा बाँड्न सक्छिन् तर आफ्नो श्रीमान कसैसँग बाँड्न सक्दिनन् । यो नेपाली समाजमा चलेको चलनमात्र होईन जीवनको वास्तविकता पनि हो । श्रीमान श्रीमती एकअर्काप्रति बफादार हुनकै लागि सृष्टि भएका हुन् भन्ने कुरामा कुनै दुईमत नहोला तर त्यही बन्धनलाई तोड्यो भन्यो के होला ? गायक अशोक तामाङ र जस्मिन तामाङको नयाँ गीत ‘सौता हालेर’ ले यस्तै पिडाको कथा बोल्छ ।

‘बोर्ला ङाई याम्बुरी’ बोलको चर्चित तामाङ दोहोरी गीतको भिडियोलाई दर्शकले रुचाएपछि उक्त गीतका गायक अशोक तामाङले पञ्चमाया थिङको निर्माणमा ‘सौता हालेर’ बोलको गीत ल्याएका हुन् । यसअघिको तामाङ दोहोरीकै गायिका जस्मिन तामाङले अशोकलाई यस गीतमा साथ दिएकी छिन् । जस्मिनकै शब्द रहेको गीतलाई अशोक आफैले सँगीत दिएका छन् । विश्वास नेपालको एरेञ्ज तथा कुमार रानाको मिक्सिङमा तयार भएको गीतलाई सुमन रानाले मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गराएका हुन् । गीतको म्युजिक भिडियोमा अशोकसँगै जस्मिन तामाङ र आश्मा तामाङले अभिनय गरेका छन् ।

अशोककै निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई जिग्मे मिडिया प्रोडक्सनका सूर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोका कलाकारहरुलाई दिया रिजालले सजाएकी छिन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मुटुदेखि मुटुसम्म एपिसोड–२ माया कि ओभर केयर ?
जब हामी कसैलाई आफुलाई भन्दा बढी माया गर्छौँ, तब उसका लागि हामी सबै कुरा त्याग गर्न पनि तयार हुन्छौँ । आफुले माया गर्ने मान्छेका लागि परिवार, आफन्त अनि परिआए संसार नै छोड्न पनि सक्छौँ जस्तो हामीलाई आभाष हुन्छ । संसारका सबै थोक फिका लाग्छन् मायामा । अनि बस् आफुलाई माया गर्ने मान्छे र माया नै हाम्रो लागि जीवनको एउटै मात्र लक्ष्य हो जस्तो हामीलाई लाग्छ । त्यसैले कहिलेकाँही मान्छेले मायामा धोका पाएपछि संसारबाटै बिदा हुने निर्णय गर्छ । उसले आफ्नो पिडामा आमाबुवाको पिडालाई चटक्कै बिर्सन्छ । आफ्नो जीम्मेवारी सबै भुल्छ । श्रृष्टिकर्ताले दिएको अमुल्य जीवनलाई अन्त्य गर्न ऊ कि डोरी लिएर फाँसीमा चढ्छ कि विष सेवन गरेर छट्पटाउँछ । किन कि उसले आफ्नो अगाडि बढ्ने सबै बाटोको अन्त्य भएको देख्छ । तर वास्तविकता त्यो होईन । किन कि जहाँ एउटा बाटोको अन्त्य हुन्छ त्यहाँबाट फेरि अर्को बाटोको सुरुवात हुन्छ ।

हामी स्वभावैले आफुले माया गरेको मान्छेबाट छुट्टिन चाहाँदैनौँ, आफुले माया गरेको मान्छेबाट धोका खान चाहाँदैनौँ । त्यसका लागि हामी हाम्रो आफ्नो मान्छेलाई मनपर्ने र मन नपर्ने हरेक कुराको ख्याल गर्छौँ । सकेसम्म आफ्नो प्रेमीलाई मन नपर्ने कुरा उनको सामु गर्दै गर्दैनौँ । उसलाई के मनपर्छ के मनपर्दैन ? उसले के खान्छ के खाँदैन ? उसको फेवरेट रङ कुन हो ? कुन रङ उसलाई मन पर्दैन ? उसको रुचि के हो ? यस्तै कुराहरु हामी एकएक ध्यानमा राख्छौँ । तर यति गर्दा गर्दै पनि कहिलेकाँही मायामा हामीले धोका पाउँछौँ । धोका दिन्छु भनेर गलत सोचाई नै राखेर मात्र प्रेममा धोका हुँदैन कहिलेकाँही एकअर्कालाई माया गर्दा गर्दै पनि हामीले एकअर्कालाई धोका दिएर छुट्टिएका घटनाहरु आज धेरै युवा जमातले भोगिरहेका छौँ । आखिर यस्तो किन हुन्छ ? किन पहिले निकै माया गर्ने लाग्ने मान्छे पछि नराम्रो लाग्न थाल्छ ? किन सुरुमा फुल झैँ सुकोमल लाग्ने उनको मायाले पछि आफैलाई घोचेको महशुस हुन्छ ? यस्तै प्रश्न कहिलेकाँही हाम्रो मनमा आउँछ ।

वास्तवमा हामी हाम्रो मान्छेलाई संसारकै सुख दिन चाहान्छौँ, कहिले पनि उनको मन नदुखोस् भन्ने चाहान्छौँ तर भइदिन्छ उल्टो । यस्तो किन हुन्छ ? यसका अनेकौँ जवाफहरुमध्ये एउटा जवाफ हो–माया र ओभर केयरिङ बिचको फरक छुटाउन नसक्नु । हेरौँ भिडियो–

मायालाई टाईम पास सोच्नेहरुका लागि यो कुराको कुनै अर्थ रहँदैन तर साँचो माया गर्नेहरुका लागि भने यो कुराको निकै महत्व हुन्छ । हामी माया गर्ने नाममा कतिखेर ओभर केयरिङ गर्छौँ हामीलाई थाहै नहुन सक्छ । हामीले कसैलाई माया गरिरहँदा अथवा जे सुकै कुरामा पनि होस्, हाम्रो आफ्नो निश्चित सिमारेखा पार गर्न नहुने कुरालाई बिर्सनु हुँदैन । हामीले गरेको माया ओभर केयरिङमा परिणत भयो भने हाम्रो प्रेमी वा प्रेमिकाले इरिटेट महशुस गर्न थाल्छ । उसलाई चिटचिट हुन्छ, आफु बन्धनमा परेको महशुस गर्न थाल्छ, आफ्नो प्रेमी वा प्रेमिकाले दिएको साँचो मायालाई पनि उसले बोझका रुपमा महशुस गर्न थाल्छ । त्यसैले केही साँचो प्रेमका कथाहरु पनि अकल्पनीय बिन्दुमा गएर अन्त्य हुन्छ । हामीले यो कुरालाई बिर्सनु हुँदैन कि हरेक मान्छे स्वतन्त्र भएर बाँच्न चाहान्छ । त्यो स्वतन्त्रता मायाले पनि खोस्न सक्दैन । मैले यहाँ छाडा स्वतन्त्रताको कुरा गरेको होईन, वफादारी र प्रेमभित्र पनि नियममा बाँधिएको स्वतन्त्रता हुन्छ जसलाई हरेकले बुझ्नु जरुरी छ । जुनसुकै बेला फोनमा झुण्डिने, जुनसुकै बेला एसएमएसमा झुण्डिने, च्याट गर्ने, जतिखेर पनि बोलिरहने, आफ्नो प्रेमि वा प्रेमिकाको सामाजिक अवस्थालाई नबुझी साँचो प्रेमी देखाउन मरितुल्य गर्ने बानीहरुले गर्दा साँचो माया गर्नेलाई पनि चिटचिटाहट महशुस हुन्छ । हामीले हाम्रो मान्छेले सहन सक्ने जति मात्र माया दिन सक्नुपर्छ । उसको लागि रिचार्जदेखि बुलेटसम्म किनिदिने, उसले के खाने के नखाने डिसाईड गरिदिने, उसले के पहिरन लाउने वा के नलाउने भन्ने कुरालाई हामीले नै निक्र्यौल गरिदिने, उ कहाँ को सँग छ भन्ने जस्ता कुरालाई लिएर किचकिच गरिरहने बानीले हामीलाई थाहै नपाई आफ्नो मान्छेबाट टाढा बनाईरहेको हुन्छ ।

त्यसैले हामीले एकअर्कालाई विश्वास गर्न सक्नुपर्छ । हुन त आजको समयमा विवाह अघिको प्रेमलाई मर्यादित बनाउने तर्फ हाम्रो ध्यान कमै जान्छ तर एउटा नैतिक बन्धनमा बाँधिएर विवाहपछिको श्रीमान श्रीमतीको प्रेमलाई महत्व दिन सके यस्ता कुराहरुको जोखिमबाट हामी सुरिक्षत हुन सक्छौँ । तर यदि तपाई कसैलाई माया गर्नुहुन्छ भने तपाई माया गर्दैहुनुहुन्छ वा ओभर केयरिङ ? त्यसको बारेमा सचेत हुनु जरुरी छ । मायाको एउटा सिमा कोरेर त्यही अनुसार जीवनमा अघि बढ्न सके हामीले प्रेमलाई त्याग गर्नुपर्ने दिन नआउन सक्छ । आसा गरौँ हरेक प्रेमिल जोडीको प्रेम सफल होस्, एकअर्काको जीवनसाथी बनेर एकअर्कालाई बुझेर अघि बढ्न सकियोस् । एकलाई चोट पर्दा त्यसमो पिडा उसको आफ्नो मान्छेले पनि आभाष गर्न सकोस् । प्रेम आफैमा एउटा यस्तो माध्यम बनोस् जसले हरेक चुँडिएका मनहरुलाई जोड्न सकोस्, हरेक रोएका मुहारलाई मुस्कुराउन सफल हुन सकोस् अनि एउटा मनको आभाषलाई अर्को मनको तारसम्म जोड्न सकोस्, जसले पुराउन सकोस् हरेक मनका आभाषहरु उसको हकदारको मुटुसम्म । मुटुदेखि मुटुसम्म ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*