राममाया वाईबाको परिचय फेरिदै, शिक्षिका र आरजे हुँदै अब कलाकार पनि

२५ असार २०७६, बुधबार ०६:१३

मकवानपुर, २५ असार । मकवानपुरे सञ्चारकर्मी राममाया वाईबा तामाङ सञ्चार जगतमा एक कुशल रेडियो कार्यक्रम प्रस्तोता (आरजे) का रुपमा चिनिन्छिन् । धादिङ जिल्लामा रहेको रेडियो राजमार्गमा आवद्ध उनको सुमधुर आवाज र कार्यक्रम चलाउने शैलीबाट प्रभावित हुने श्रोताहरु निकै नै छन् । उनी श्रोताहरुमाझ मात्र होईनन् विद्यार्थीहरुबिच पनि राममाया मिसको नामले परिचित छिन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा बसोबास गर्ने उनले त्यही स्थानमा नै अवस्थित सरस्वती सेकेण्डरी स्कूलमा अध्यापन समेत गराउँछिन् । विद्यार्थीहरुमाझ लोकप्रिय छवि बनाएकी उनै राममायाको परिचय अझै फराकिलो बन्दै छ । उनी अहिले कलाकारका रुपमा समेत आफुलाई परिचित गराउँदैछिन् ।

उनी अभिनित ‘धोका दियो आफ्नै छायाँले’ बोलको गीत रिलिजको तयारीमा छ । गितकार फुलमाया थिङको प्रस्तुतिमा तयार भएको गीतमा जनक लामा र अर्चना स्याङ्तानको आवाज रहेको छ । गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । गीतको म्युजिक भिडियोमा राममायासँगै ईफास, फुलमाया र खगेन्द्रको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायाँकन गरेका हुन् । शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा बिरबहादुर थारुको सहसम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

चाँडै नै सार्वजनिक हुने तयारीमा रहेको यो भिडियोमा राममायाको अभिनय हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । गीतको म्युजिक भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भईरहेको उनले बताईन् । त्यसो त राममायाको यो पहिलो म्युजिक भिडियो भने होईन । उनले यसअघि नै माथिमाथि लेकमा हिउँ पर्यो बोलको गीत सहित ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । आरजे र शिक्षिकाबाट अभिनयको दुनियाँमा पाईला चालेकी उनी आफ्नो अभिनयलाई तिखार्न चाहान्छिन् । अभिनय मन पराउने उनले नायिका नै बन्छु भन्ने लक्ष्य त राखेकी छैनन् तर आफुले अभिनय गर्ने जुनसुकै भूमिकालाई राम्रो बनाउने लक्ष्य भने राखेकी छिन् । उनी रेडियोकर्मीकै रुपमा जिवनभर काम गर्न चाहान्छिन् । ‘रेडियोमा बाँचुन्जेल काम गर्ने हो, धेरै रहर लाग्छ’, उनले भनिन् । रेडियो क्षेत्रमा करिब ७ वर्षको अनुभव संगालेकी उनी रेडियोलाई पहिलो प्राथमिकतामा राखेर अन्य समयमा अभिनय गर्ने सोच राख्छिन् । आफु अभिनयका साथै हरेक कामलाई सिक्दै गरेको बताउने उनले कलाकारिता र रेडियोकर्मलाई सँगसँगै स्थापित गर्न चाहान्छिन् । हाल उनी तामाङ पत्रकार संघ मकवानपुरकी जिल्ला सहसचिव समेत छिन् ।

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*