स्वरुप र अञ्जुको आवाजमा वर्षा र विकासको रोमान्स

१६ असार २०७६, सोमबार १३:३७

मकवानपुर, १६ असार । चर्चित मोडल एवम् नायिका वर्षा थिङ तामाङ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक स्वरुपराज आचार्य र चर्चित गायिका अञ्जु पन्तको आवाजमा रहेको ‘मैले भुलेँ’ बोलको रोमान्टिक गीतमा वर्षाले अभिनय गरेकी हुन् । म्युजिक भिडियोमा वर्षासँगै मोडल विकास थापा मगरले रामान्स गरेका छन् ।

विभिन्न स्थानका सुन्दर दृश्यमा खिचिएको भिडियोले सबैको मन लोभ्याउँछ । साथमा वर्षा र विकासको रोमान्टिक मुडले भिडियोलाई थप रोमाञ्चक बनाएको छ । गीतमा विकास थापा मगरको शब्द र एचबी रसाईलीको संगीत रहेको छ । कल स्वरागको एरेञ्जमा तयार भएको गीतलाई कुमार रानाले मिक्सिङ गरेका छन् ।

सुरेश पाण्डेको कोरियोग्राफीमा तयार भएको भिडियोलाई पवन गौतमले खिचेका हुन् । बिमल ढकालको ड्रोन छायाँकनमा तयार भएको भिडियोलाई टिबी थापा बराल मगरले सम्पादन गरेका हुन् । प्रिया पाण्डेले वर्षा र विकासलाई सिँगारेकी छिन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

मिंग्स लामालाई जिनियस म्युजिक अवार्ड

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘देन्ब माया’ लाई करिब ५ लाख भ्यूज

तामाङ भाषाको चलचित्र ‘ देन्ब माया’ अर्थात साँचो प्रेमलाई करिब ५ लाख भ्यूज प्राप्त भएको छ । अङ्ग्रेजी भाषामा समेत सबटाईटल राखी युट्युब मार्फत सार्वजनिक भएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ८४ हजार ९ सय ५६ भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार ७ सय लाईक र ३ सय ७६ डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ४ सय २५ भन्दा बढी कमेन्टहरु गरिएका छन् ।

हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत सन् २०१८ को जनवरीमा सार्वजनिक गरिएको यस चलचित्रलाई ‘तामाङ सुपर स्टार डम्फु मिडिया’ ले निर्माण गरेको हो । चलचित्रलार्य चर्चित नायक अमिर दोङले निर्देशन गरेका हुन् । चलचित्रमा अमिर दोङसँगै तेमाल सिं तामाङ, सिता थिङ, सुस्मा मोक्तान, कुईसाङ रुम्बा, पदम दोङ, नोर्साङ दोङ, दिपेन्द्र लोप्चन मुरली, हुत्त सञ्जय लामा, मेलिना प्रजा, अञ्जुली लोप्चन, सुरधोज मोक्तान, पुजा थिङ, सोनी घिसिङ, संगम थोकर, छ्योईसाङ लामा, दोर्जे लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेन्द्र लोप्चन मुरली र रञ्जिता तामाङ निर्माता रहेको चलचित्रमा कुईसाङ रुम्बा र सिताराम गोले कार्यकारी निर्माता रहेका छन् । राजु तामाङको द्वन्द रहेको चलचित्रको कथा लेखन, पटकथा तथा संवाद ऋतुराज पाख्रिनले लेखेका हुन् । चलचित्रलाई अभिषेक माझी र विक्रम लामाले खिचेका हुन् । दिपक तामाङ र सुआङ दोङको कोरियाग्राफी रहेको चलचित्रलाई विक्रम लामाले सम्पादन गरेका हुन् । चलचित्रमा जोगलाल लामा र विशाल काल्तानको संगीत रहेको छ । चलचित्रका गीतहरुमा चन्द्रकुमार दोङ, विशाल काल्तान, आसुशेन लामा, जोगलाल लामा, बिरेन तामाङ, निर्मला घिसिङ, जितु लोप्चन र अञ्जु थोकरको आवाज सुन्न सकिन्छ ।

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ लाई सर्वाधिक भ्यूज

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ लाई युट्युबमा सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ३ लाख ३२ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्र २ हजार १ सय लाईक र ३ सय डिसलाईक गरिएका छन् । त्यस्तै २ सय ६४ वटा कमेन्टहरु गरिएका छन् ।चर्चित कलाकार तथा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरलाई ‘म्लाङ प्वाँहार’ अर्थात कालो अरिङ्गालका रुपमा देखाइएको चलचित्रले एक कुख्यात खलनायकको ज्यादतिलाई कथामा उतारेको छ । चलचित्रलाई इन्द्रेणी डिजिटल मिडियाले सन् २०१८ मा युट्युबमार्फत सार्वजनिक गरेको थियो । चलचित्रमा बिकु थोकर, सुनिता लुङ्वा, जंगे लोप्चन, सफल दोङ, संगिता दोङ, सुस्मा मोक्तान र दिपेन्द्र लोप्चन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रका लानी लाला, नक्कली कान्छी बोलका गीतहरुका साथै टाईटल गीत समेत चर्चामा आएको थियो । चलचित्रमा समावेश गीतका शब्दहरु चर्चित गितकार कुमार स्याङ्बाले लेखेका हुन् । चलचित्रमा विशाल काल्तान र विशाल थिङको संगीत रहेको छ । चलचित्रका गीतहरुमा सन्तोष लामा, विशाल काल्तान, विशाल थिङ, शशिकला मोक्तान, जितु लोप्चन र याङसाङ थिङको आवाज समावेश छ । ऋतुराज पाख्रिनको कथा रहेको चलचित्रलाई अभिषेक माझीले खिचेका हुन् । चलचित्रमा अजय स्याङ्तानको कोरियोग्राफी र शंकर महर्जनको निर्देशन तथा द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई कवितामाया लामा, दिपेन्द्र लोप्चन र पदम दोङले निर्माण गरेका हुन् । चलचित्रलाई छवि राना मगर र रञ्जित राना मगरले सम्पादन गरेका हुन् ।

नेपाल आईडलका मिनराज र कृशलको नयाँ गीत यस्तो बन्यो

नेपाल आईडल सिजन २ मा भाग लिएर राम्रो जोडी बनेका मिनराज पौडेल र कृशल कडेँलले एकसाथ एउटै गीतमा आवाज दिएका छन् । नेपाल आईडलको दोस्रो सिरिजमा गोल्डेन माईक बिजेता भएता पनि घाँटीमा आएको समस्याका कारण मिनराज शोबाट बाहिँरिदा कृशल निकै रोएका थिए । तर उनीहरु दुबैले आफ्नो मित्रतालाई पूनः एउटै गीतमार्फत देखाउने मौका पाएका छन् । उनीहरु दुबैको युगल गीतको म्यूजिक भिडियो समेत युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा मिनराज र कृशलसँगै चर्चित मोडल करिष्मा ढकालले अभिनय गरेका छन् । ‘बरिलै’ बोलको उक्त गीतको म्युजिक भिडियो गीतकार नृपेश उप्रेतीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नृपेशकै संगीत रहेको छ । गीत गजल लेखनमा सक्रिय गीतकार नृपेशले आफैले संगीत भरेको यो पहिलो गीत हो । लोक फ्युजन शैलीमा निर्मित गीतमा गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् । किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको गीतका रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । गीतलाई ए वन म्युजिसियनमा रेकर्ड गरिएको हो । गीतमा सञ्जीव बराईलीले गीतार, सञ्जीव मैनालीले बाँसुरी र पोषण घर्ती मगरले मादल बजाएका छन् ।

म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १ लाख ५७ हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा १४ हजार लाईक गरिएका छन् भने करिब १ हजार कमेन्टहरु गरिएका छन् । म्युजिक भिडियोलाई प्रविण थापाले निर्देशन गरेका हुन् । नमराज घिमिरेको छायाँकन रहेको म्युजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा कलर गरेका हुन् । बिमला तामाङले कलाकारहरुलाई सिँगार्न मेहनत गरेकी छिन् ।

आमाको सम्झनामा अनु गौतमको गीत सार्वजनिक

नव गायिका अनु गौतमले आमालाई सम्झँदै विशेष गीतको कभर भिडियो सार्वजनिक गरेकी छिन् । बलिउडका चर्चित गायिका लता मंगेश्करको आवाजमा सजिएको ‘तु कित्नी अच्छी है’ बोलको गीतको कभर भर्सन उनले सार्वजनिक गरेकी हुन् । एन.एम.आई. प्रोडक्सनले तयार पारेको कभर भर्सनमा अनुको आवाजलाई सुहाउने गरी सुमन तामाङले म्युजिक एरेञ्ज गरेका छन् । गीतलाई हेटौँडा ५ सानोपोखरामा अवस्थित न्याटिभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

लामो समयदेखि गीतसँगीतका क्षेत्रमा संघर्षरत अनुले यस अघि पनि आफ्ना पहिलो गीतको एल्बम सार्वजनिक गरेकी थिईन् । अडियो भर्सन मात्र सार्वजनिक भएको उनको गीतको म्युजिक भिडियो भने बन्न बाँकी छ । अनु ठोरीमा जन्मघर भई मकवानपुरलाई कर्मथलो बनाएकी नव गायिका हुन् ।

यो बहुचर्चित गीतलाई यसअघि पनि थुप्रै हिन्दी तथा नेपाली गायक गायिकाहरुले कभर बनाईसकेका छन् । केही समयअघि चर्चित गायिका नेहा कक्करले समेत यसको कभर बनाएकी थिईन् । लता मंगेश्करको ओरिजिनल आवाजमा समावेश यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् ।

आमाको माया सम्झाउने ५ सुपरहिट गीतहरु

जीवनभर दुःख भएता पनि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सन्तानको लागि निःश्वार्थ प्रेम देखाउन सक्ने आमालाई नसम्झने सन्तान यो संसारमा कमै होलान् । आमाको जस्तो निःश्वार्थ प्रेम, स्नेह र आफ्नोपन संसारमा भएका अन्य नाता,सम्बन्ध र आफन्तबाट प्राप्त गर्न लगभग असम्भव नै छ । यो दुःखको कुरा हो कि त्यस्ती महान आमालाई सम्झन हामी केबल मदर्स डे र आमाको मुख हेर्ने औँशी लगायतका नाममा एक दिन छुट्याउँछौँ । यही एकदिन हामी आँशु बगाउँछौँ । आमालाई मिठा खानेकुरा दिन्छौँ, आमालाई भेट्न जान्छौँ । हुन त सधैँ काममा भुल्नेहरुका निम्ति आमालाई सम्झने यो एउटा मौका हो, सामाजिक सञ्जालमै भएता पनि आमाप्रति प्रेम देखाउने एउटा माध्यम हो आमालाई सम्झने दिन । तर विडम्वना हामी त्यतिमा मात्र सिमित छौँ । एक वर्षमा एक दिन सम्झेर बाँकी ३ सय ६४ दिन हामी आमालाई भुसुक्कै बिर्सन्छौँ । आमालाई सम्झाउने बलियो हतियार आमाको स्नेह र आमाप्रति हाम्रो जिम्मेवारी नै हो तर कहिलेकाँही गीतसँगीतले पनि हामीलाई आमाको न्यानो मायाको आभाष दिलाउँछ । आमासम्म पुग्न मदत गर्छ । यो सामाग्रीमा मैले त्यस्ता ५ नेपाली तथा हिन्दी गीतको चर्चा गरेको छु जसले आमाको स्नेहलाई सम्झाउँछ, आमाप्रतिको हाम्रो जिम्मेवारीको बोध गराउँछ । आउनुस् त्यस गीतहरुबारे चर्चा गरौँ ।

तु कित्नी अच्छी है : यो बहुचर्चित गीतलाई नसुन्ने मानिस सायद कमै होला । यसको ओरिजिनल भर्सन नभएता पनि थुप्रै नेपाली तथा हिन्दी गायक–गायिकाहरुले बनाएका कभर भर्सनमा पनि यसको मिठास महशुस गर्न सकिन्छ । यस गीतलाई केही समयअघि चर्चित गायिका नेहा कक्करले कभर बनाएसँगै यो गीतको बारेमा अहिलेका पुस्तालाई समेत थाहा भयो । लता मंगेश्करको ओरिजिनल आवाजमा समावेश यस गीतलाई सन् १९६८ मा सार्वजनिक गरिएको ‘राजा और रंक’ नामक चलचित्रमा समावेश गरिएको थियो । लक्ष्मीकान्त प्यारेलालको संगीत रहेको गीतलाई आनन्द बक्षीले लेखेका थिए । चलचित्रमा सञ्जीव कुमार, निरुपा रोय र महेश कोठारेको मुख्य अभिनय रहेको थियो । चलचित्रलाई कोटाया प्रत्यागत्माले निर्देशन गरेका हुन् । यस गीतलाई बलिउड क्लासिकले सन् २०१३ मा युट्युबमा सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई २६ लाख ७८ पटकभन्दा बढी पटक हेरिएको छ । गीतमा ८६ हजार लाईक र १२ हजार डिसलाईकहरु गरिएका छन् । गीतमा ७ हजार ५ सयभन्दाब बढी कमेन्टहरु गरिएका छन् ।

साथै गायिका नेहा कक्करले तयार पारेको यस गीतको कभर भर्सनलाई यो सामाग्री तयार पार्दाको समयमा ३ करोड ५८ लाख ३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ५ लाख ५८ हजार लाईक र २० हजार डिसलाईकहरु गरिएका छन् । त्यस्तै ३९ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतलाई सन् २०१६ मा सार्वजनिक गरिएको हो । यस गीतलाई मकवानपुरकी नव गायिका अनु गौतमले पनि सन् २०१९ मा कभर गरेकी छिन् ।

तिनै हुन् तिनै मेरी आमा : नेपाली कथानक चलचित्र ‘मुग्लान’ को यो गीत आमाको स्नेह सम्झाउने अर्को बहुचर्चित गीत हो । मुग्लानमा पैसा कमाउन गएका नेपालीहरु विदेशी जेलमा मर्ने वा बाँच्ने अवस्थामा पुगेपछि जेलबाट छुटेका एक जना साथीलाई आफ्नी आमाको बारेमा वर्णन गर्दै गरेको दृश्यसहितको सचित्र वर्णन यस गीतमा पाईन्छ । गायक यम बरालको आवाजमा रहेको यस गीतका लेखक तथा संगीतकार सुरेश अधिकारी हुन् ।

चलचित्रमा दिलिप रायमाझी, रमित ढुङ्गाना, बिपना थापा, झरना थापा, शुशिल क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतलाई सन् २०१४ मा बुढासुब्बा डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई ३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ४ हजार ४ सय लाईक र करिब ३ सय कमेन्टहरु गरिएका छन् ।

मेरी आमा : बहुचर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’, नाई नभन्नु ल जस्ता गीतमा आवाज दिएका बाल गायक प्रेम परियारको अर्को चर्चित गीत हो ‘मेरी आमा’ । प्रेमको वास्तविक जीवनसँग मेल खाने विभिन्न शब्द तथा दृश्य समावेश गरिएको यो गीतमा उनको जीवनको कथा र आमाको महिमालाई प्रस्तुत गरिएको छ । गीतको शब्द शंकर बिसीले लेखेका हुन् । करण न्यौपानेको सँगीत रहेको गीतको म्यूजिक भिडियोमा रोजवे रेग्मी र लक्ष्मी गिरीले अभिनय गरेका छन् ।

शंकर बिसीको निर्देशन तथा राजेश घिमिरेको छायाँकनमा तयार भएको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । गीत ‘मेरी आमा’ एल्बममा समावेश छ । गीतलाई सन् २०१५ मा विन्दाबासिनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको हो । यो गीतको म्युजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा ८ लाख ४४ हजार ३ सय भन्दा बढी पटक हेरिएको छ । गीतमा ६ हजार ४ सय लाईक तथा करिब ४ सय कमेन्टहरु गरिएका छन् ।

हे आमा : नेपाली चलचित्र ‘ठुलदाई’ मा समावेश यो गीतले आमाको महिमाको चर्चा गर्छ । आमाबिना संसार देख्न नपाउने तथ्यलाई यो गीतमा समावेश गरिएको छ । आमाको प्रसव पिडा र निश्वार्थ प्रेमलाई पनि यस गीतका शब्दहरुमा समावेश गरिएको छ । रामकृष्ण बजागाईको यस चलचित्रमा समावेश हे आमा गीतमा दुई छोराहरुले आमालाई फकाउँदै गरेको दृश्य समावेश छ । यस गीतमा राजेश पायल राई लगायतको आवाज छ । यस चलचित्रका गीतहरुमा शम्भुजित बास्कोटा, राजेश पायल राई, युवराज गुरुङ, आदित्य नारायण झा, देविका प्रधान, कविता कृष्णमुर्ति, दिपा झा लगायतको आवाज रहेको छ । गीतका शब्दहरु दयाराम दाहाल र शम्भुजित बास्कोटाले लेखेका छन् । गीतमा शम्भुजित बास्कोटाको संगीत छ ।

यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई १७ हजारभन्दा बढी पटक हेरिएको छ । यस चलचित्रमा शिव श्रेष्ठ, जल शाह, निरुता सिंह, सुनिल थापा, नरेन्द्र थापा, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिता बजगाईको कथा छ ।

मेरी आमा : यश कुमार : चर्चित गायक तथा नायक यश कुमारको यो गीत ‘नरुने आँखाहरु’ एल्बममा समावेश भएको बहुचर्चित गीत हो । अडियो भर्सनमा मात्र सार्वजनिक भएको यो गीतलाई धौलागिरी क्यासेटले सन् २०१९ मा मात्र एनिमेसन भर्सनमा युट्युब मार्फत सार्वजनिक गरेको छ । आमाको दुःख, आमालाई बुवा र आफुले पनि एक्लै छाडेको भन्दै छोराले गरेको बिलौनामा आधारित यो गीतलाई यश कुमारले नै संगीत दिएका हुन् । उनकै आवाज र शब्द यो गीतमा छ ।


यसमा तपाइको मत

Your email address will not be published.


*