अस्मिता अधिकारी र मातृका आचार्यको ‘दुई मुटु’ सार्वजनिक

१५ असार २०७६, आईतवार १२:१२

मकवानपुर, १५ असार । नेपाल आईडल सिजन २ का फाईनालिष्ट अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस अघि गायक आचार्यले यस गीतको अडियो भर्सन रिलिज गरेका थिए ।

ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको रोमान्टिक गीतको म्युजिक भिडियोमा बिनिता बस्याल र यज्ञ बस्यालको अभिनय रहेको छ । झोली प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोलाई जितु तामाङले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई तामाङले नै खिचेका हुन् ।
गायक आचार्यको यस अघि नै मनभित्रको हिमाल र घाटमा मलाई लाँदा भन्ने गीत पनि सार्वजनिक भैसकेको छ । गीतलाई दर्शक श्रोताले मनपराउने अपेक्षा गर्दै आचार्यले अन्य गीतहरु समेत बजारमा ल्याउने तयारी भइरहेको बताएका छन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

छिरिङ दोर्जे लामाको शब्दमा ‘दोलालघाट’ सार्वजनिक

मकवानपुरे कलाकार तथा गीतकार छिरिङ दोर्जे लामाको शब्दमा रहेको नयाँ वर्ष विशेष डिजे गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोरखा चौतारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङको ‘दोलालघाट’ बोलमो गीतमा विश्वास पराजुली, माधव पराजुली र अर्चना स्याङ्तानको आवाज सुन्न सकिन्छ । छिरिङको शब्दलाई संगीतकार जनक लामाले डिजे भर्सनमा सुमधुर बनाएका छन् भने गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा आरुशी, अनुप, प्रिति र प्रकाश लगायतका कलाकारहरुको अभिनय गरेका छन् । प्रविन थापाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई नवराज घिमिरेले खिचेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

मकवानपुर जिल्लाको साविक सरिखेत गाविस वडा नम्बर ९ मुङ्ग्रेमा जन्मिएका लामाको यो तेस्रो गीत हो । लामाको यस अघि नै मकवानपुरे ठिटो, लोकदोहोरी गीत ‘रुँदै रुँदै भइयो पर्देशी’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । उनले लघु चलचित्र आकर्षण, आधी बाटो लगायतमा समेत अभिनय गरेका छन् । विभिन्न लघु चलचित्रहुँदै लोकदोहोरीमा अभिनय समेत गर्दै आएका लामाले यस अघि ‘म्यासेञ्जर फेसबुकमा’ बोलको गीत रेकर्डिङ गराएका थिए । उनको शब्दमा तयार भएको उक्त गीतको अडियो भर्सन मात्र युट्युबमा सार्वजनिक गरिएको थियो ।

लक्ष्मी स्याङ्तानको नयाँ गीतमा एलिशाको अभिनय

चर्चित गायिका लक्ष्मी स्याङ्तानको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मन लाग्छ’ बोलको सेलो पपमा आशुसेन लामाको शब्द र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार एलिशा राई र रिन्छेन ग्यात्सोले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । शुसिल न्यौपानेको सम्पादनमा तयार भएको म्यूजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । सुरेन बसेलको कोरियोग्राफीमा तयार भएको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । दुई प्रेमीको रोमान्समा आधारित म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा करिब ३६ हजारभन्दा बढी पटक हेरिएको छ ।

नायिका श्वेता खड्काको ‘कान्छी’ युट्युबमा सार्वजनिक

अभिनेत्री श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ युट्युब मार्फत सार्वजनिक गरिएको छ । शुक्रबार बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा करिब १४ हजार दर्शकले एकै पटक चलचित्र हेरेका थिए । चर्चित नायक एवम् श्वेताका पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक श्वेताले अभिनय तथा निर्माण गरेको ‘कान्छी’ गत वर्षको फागुन ४ गते देशभर प्रदर्शन भएको थियो । चलचित्रमा अमर प्रेम र समर्पणको कथामा समावेश छ । प्रेमले भोग्ने विभिन्न बाधाहरु र प्रेममा हुने त्यागको विषयलाई चलचित्रले विशेष उठान गरेको छ ।

‘कान्छी’मा श्वेतासँगै दयाहाङ राई, नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, जयनन्द लामा लगायतको अभिनय रहेको छ । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । चलचित्रलाई यम थापाले लेखेका हुन् ।

नायिका खुशी घिसिङको ‘नगरकोटे वन’ यस्तो बन्यो

चर्चित नायिका खुशी घिसिङको नयाँ म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । खुशी यस पटक नवराज लामिछानेको शब्द, संगीत तथा आवाजमा तयार भएको ‘नगरकोटे वन’ बोलको गीतको म्यूजिक भिडियोमा देखिएका हुन् । यस अघि चर्चित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ मा अभिनय गरेसँगै चर्चामा आएकी खुशीका अन्य नेपाली म्यूजिक भिडियोहरु पनि सार्वजनिक भईसकेका छन् । नवराज लामिछानेकै सत्यकथामा आधारित रहेर तयार भएको गीतको म्युजिक भिडियोमा खुशीसँगै नायक अर्जुन खड्का र बाल कलाकार पृथ्वी सुनुवार र गायक लामिछानेले लगायतका कलाकारहरुले अभिनय गरेका छन् । तामाङ चलचित्र क्षेत्रका चर्चित नायक एवम् निर्देशक हुत्त सञ्जय लामाको निर्देशन तथा रामेश्वर जिरेलको छायाँकनमा भिडियो तयार गरिएको हो । म्यूजिक भिडियोलाई विजयराजले सम्पादन गरेका छन् ।

खुशीको अभिनय रहेको चलचित्र सेमरिन मुला माया अहिले चर्चामा छ । काभ्रेको भकुण्डेबेसीमा आजदेखि सुरु भएको ३ दिने तेस्रो तामाङ चलचित्र महोत्सवमा समेत यो चलचित्रलाई पहिलो सोका रुपमा प्रदर्शन गरिएको छ । साथै उनको अभिनय रहेको म्यूजिक भिडियोहरु हिमालकी छोरी, सुन न मैच्याङ, तिम्रो सम्झनामा लगायतले पनि निकै प्रशंसा पाएका छन् ।

‘तामाङ चलचित्रको गुणात्मक र बजार प्रवर्द्धनमा लागेका छौँ’– अध्यक्ष बिकु थोकर

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङ चलचित्र संघ तामाङ चलचित्रको गुणात्मक पाटो बिलियो बनाउन र तामाङ चलचित्रको बजार प्रवर्द्धनमा जुटेको बताएका छन् । शुक्रबारदेखि काभ्रेको रोशी गाउँपालिका अन्तर्गत भकुण्डेबेसीमा सुरु भएको ३ दिने तामाङ चलचित्र महोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तामाङ चलचित्रले तामाङ सँस्कृतिका विभिन्न पाटोहरु पर्दामा पस्किँदै आएको र त्यसको गुणात्मकता वृद्धिमा आफुहरु लागिपरेको बताएका हुन् ।

‘तामाङ चलचित्र संघ तामाङ चलचित्रकर्मीको पेसागत हक हितका लागि संघर्षकै क्रममा छ,’ उनले भने–‘ तामाङ चलचित्रकर्मीले आफ्नो समुदायको कला सँस्कृतिका कुरा उठाउँदै आएको छ, अब गुणात्मक पाटोमा बलियो बनाउन र बजार प्रवद्र्धनका लागि पनि तामाङ चलचित्र संघ उत्तिकै तल्लिन छ ।’ शुक्रबार साँझ भएको ‘तामाङ चलचित्रको ईतिहास, वर्तमान अवस्था र भावि कार्यदिशा’ विषयक अन्तरक्रियामा चलचित्रकर्मी, सञ्चारकर्मी, तामाङ समुदायका प्रतिनिधि तथा दर्शकहरुको समेत सहभागिता रहेको थियो । अन्तरक्रियामा तामाङ चलचित्र संघका प्रमुख सल्लाहकार एवम् पूर्व अध्यक्ष जेनिश दोङले महोत्सवहरु चलचित्र देखाउने र अवार्ड बाँड्ने कार्यमा अल्झन नहुने बताए । विगतको समिक्षा गर्दै नयाँ बाटो तय पार्ने प्लेटफर्मका रुपमा महोत्सवहरु आयोजना हुनुपर्ने उनले बताए ।

कार्यक्रममा बरिष्ठ रंग पत्रकार एवम् चलचित्रकर्मी दिपेन्द्र दोङले तामाङ चलचित्रको ईतिहास लामो नभएको र सोचेजति उपलब्धी हासिल समेत गर्न नसकेको बताए । उनले संगीतकार गोपाल योञ्जनलाई सम्झँदै योञ्जनले नै पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माणमा नेपथ्यमा रहेर ठूलो भूमिका खेलेको बताए । उनले मयुङ बुररिङ, डाङ, मोलम लगायतका आधा दर्जन चलचित्र निर्माण भएपछि तामाङ चलचित्र निर्माण झनै सुस्ताएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् चलचित्रकर्मी तथा रोशी गाउँपालिकाका प्रमुख डिवी लामाले स्थानिय सरकार तामाङ सँस्कृति प्रवद्र्धनका सवालमा निकै उदार रहेको दाबी गरे । साथै गाउँपालिका सधैँ सँस्कृति प्रवद्र्धनको लागि सहकार्य गर्न तयार रहेको बताए ।

तामाङ चलचित्र संघका पूर्व अध्यक्ष प्रकाश ब्लोन सहित अन्य सहभागीहरुले तामाङ समुदायभित्रको विविधता स्वीकार्ने अवस्था बनाउनुपर्ने, पेसागत रुपमा कलकारहरुको सम्मान हुने परिपाटी बसाउनुपर्ने र चलचित्रकर्मी तथा तामाङ सञ्चारकर्मीबिच प्रभावकारी सञ्चार सहकार्य बढाउनुपर्ने बताए । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव सुरु भएको हो । महोत्सवमा २०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिँदै छ । प्रदर्शनका लागि छनौट भएका ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिईरहेका छन् । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*