मकवानपुरे साहित्यकार छवि अनित्यको ख्याक कविता–‘घण्टाकर्ण’ (भिडियो)

८ असार २०७६, आईतवार १८:३७

मकवानपुर, ८ असार । मकवानपुरे चर्चित साहित्यकार छवि अनित्यले शनिबार हेटौँडामा एउटा ख्याक कविता सुनाए, कविताको शिर्षक थियो ‘घण्टाकर्ण’ । यो कविताले हेटौँडामात्र होईन देशलाई नै हल्लाउन सक्छ । हेटौँडाको न्युज क्लब नेपालमा भएको छवि अनित्यको एकल कविता वाचन तथा अन्तरक्रियामा उनले यो कविता सुनाउँदा हलभरि ताली बज्यो । ‘यस’ हेटौँडाको सातौँ श्रृङ्खला अन्तर्गत एनएस टिभी, न्युज क्लब नेपाल र खबर ब्रेक डटकमको सहयोगमा भएको कार्यक्रममा वाचन गरिएको यो कविता सुनेर तपाईको पनि मष्तिष्क घुम्न सक्छ । पत्याउनुहुन्न भने एनएस टिभीमा अपलोड भएको यो भिडियो हेर्दै र यो कविता पढ्दै आफै अनुभव गर्नुहोस् ।

‘घण्टाकर्ण’ (कविता)
सर्जक–छवि अनित्य

एउटा थियो–घण्टाकर्ण असुर
भ्यागुतोसँग हारेको
जो जोरी खोज्थ्यो ज्यापूसँग
त्यही घण्टाकर्णको साख्खैजस्तो किन लाग्छ सरकार –
मलाई तेरो अनुहार ?
मामापाखा,
तेरो अनुहारभरि किन देख्छु कालो ख्याकको झल्को
लर्याङ्तर्याङ् गरिरहेको गुथीघरको अन्तरकुन्तरमा ?
किन जिस्क्याइराख्छस् घरीघरी
मच्छिन्द्रनाथको रथ तानिरहेको गुथियारलाई ?
किन शान्तसँग पुज्न दिन्नस् कुमारी ?
किन गाड्न दिन्नस् रमाउँदै ईन्द्रजात्राको लिङ्गो ?
अजिमाको कस्सम
टुँडिखेलमा गुरुमापा घोडाको टापमा दबाएको इतिहास
ख्वांस तेरो बुटले दब्दैन ।
नबिर्सी
जबसम्म गुथी जुटेन
दबिएरै बसिस् जहानिया दलदलमा
जबसम्म गुथी उठेन
पिल्सिएरै बसिस् पञ्च प्रपञ्चमा
तेरै सत्तारोहणका लागि
चक्रपथ घेरेर थुनेका हुन् गुथियारहरूले
नारायणहिटीको बूढो बाघलाई नागार्जुनमा
शरम गर बेमान,
आज अलिकति कमिसनको दलालीमा
गुथीलाई सामन्तवादको अवशेष देख्छस्,
गुथियारलाई भाडाको मान्छे देख्छस्
शरम गर ।
जुन दिन पालाका पाला ऐलाको मात उतारेर
सडकमा उत्रिन्छ नेपाल खाल्डो
मामपाखा खुद तँ साक्षी छस्
कसरी उल्टिन्छ सत्ता
यो समय कोही घण्टाकर्णलाई जगात बुझाउने पीरले घरभित्र बस्दैन
कोही घण्टाकर्णको भोजन हुने डरले घ्याम्पा पस्दैन
तँ मात्र तेरो काम गर
‘सुन, के भन्दैछन् थकाली –
तँ मेलम्चीको पानीमा हात हाल्
गुथीमा नहाल्
हामीलाई थाहा छ –
कतिबेला मिल्काउनुपर्छ घण्टाकर्णहरूलाई छ्वासेमा ।

हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्

हेटौँडामा सुन चोर्नेलाई यसरी कुटे मान्छेले

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाबाट ‘बोका मास्टर–२’ रिलिज (भिडियो सहित)

ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिले कमेडी भिडियो ‘बोका मास्टर–२’ सार्वजनिक गरेको छ । ओपेराले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत कमेडी सिरिज ‘बोका मास्टर’ को दोस्रो भाग सार्वजनिक गरेको हो । यस अघि नै ‘बोका मास्टर’ को पहिलो भाग रिलिज गरिएको थियो । जसलाई दर्शकहरुले मन पराएका थिए । शिक्षा क्षेत्रमा केही शिक्षकहरुको आनीबानी र विद्यार्थीहरुको चतुर्याईका बारेमा कमेडी भिडियो केन्द्रित छ । ओपेरा टिमले तयार पारेको भिडियोमा रायु घले, बि एन धिताल, दिपक सापकोटा, सागर राई, रिकिता क्षेत्री लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

आँचलको घरबारमा पलको ईन्ट्री

चर्चित अनस्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो युट्युब ट्रेण्डिङमा परेको छ । पल र आँचलद्वारा अभिनित कृष्ण कार्की र बिन्दु परियारको आवाजमा रहेको ‘घरबार’ बोलको गीत ट्रेण्डिङमा परेको हो ।
‘आँप जोडी’ का रुपमा चर्चा कमाउन सफल पल र आँचलको अनस्क्रीन रोमान्सलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनीहरु दुबैलाई वास्तविक जीवनमा समेत एक भएको हेर्न चाहाने फ्यानको जमात निकै नै ठूलो छ । उनीहरुको अभिनय रहेको पछिल्लो गीत ‘घरबार’ मा समेत उनीहरुको जोडीको अभिनयलाई दर्शकले निकै मन पराएका छन् । उक्त गीतको म्यूजिक भिडियोमा धेरै दर्शकहरुले म्यूजिक भिडियोमा मात्र नभई पल र आँचललाई रियल लाईफमा पनि एक हुनुपर्ने भन्दै कमेन्ट समेत गरेका छन् । गीतमा घर ज्वाँईको प्रसंग भएकोले पललाई घर ज्वाँई बसे पनि नबसे पनि बिहे भने आँचलसँगै गर्नुहोस् भन्दै धेरै फ्यानहरुले कमेन्ट गरेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

तामाङ चलचित्र ‘ङ्हो’ को पहिलो गीत चर्चामा

तामाङ कथानक चलचित्र ‘ङ्हो’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सैलुङ अनलाईनको सभाहलमा पत्रकार सम्मेलन मार्फत चलचित्रको ‘कादे ज्याबा ह्याङ्ला माया’ बोलको गीत सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएसँगै गीतलाई ल्हाप्साङकार्पोको अफिसियल युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा टिका बोम्जन र जितु लोप्चनको आवाज रहेको छ । फुलकुमार बम्जनको शब्द तथा टिका बोम्जनको सँगीतमा तयार भएको गीतको म्यूजिक भिडियोमा निर्मला तामाङ, आरम्भ तामाङ र किस्मान तामाङलाई फिचरिङ गरिएको छ । गीतको म्यूजिक भिडियोबाटै चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको अनुमान गर्न सकिन्छ । म्यूजिक भिडियोमा सुन्दर देखिएकी निर्मलासँग दुबै नायकहरुको अनस्क्रिन जोडी सुहाएको छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले लिएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रको गीतलाई ५ हजारभन्दा बढी पटक हेरिएको छ ।

आउँदो बैशाख ७ गते राष्ट्रिय सभागृहमा प्रिमियर गर्न लागिएको चलचित्रमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ । नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामाको छायांकन हेर्न सकिने चलचित्रमा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रका गीतहरुमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ र जितु लोप्चनको आवाज रहेको छ ।

कार्यक्रममा बोल्दै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले चलचित्र हेर्नका लागि हलसम्म पुग्न आग्रह गरे । त्यस्तै चलचित्रका निर्देशक भुवन स्याङ्बो तामाङले ङ्होमा स्वाँगेभाई र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई उजागर गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत तामाङ समुदायको मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेको भन्दै खुशी व्यक्त गरे ।

चलचित्र ‘ङ्हो’ फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुति हो । चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई प्रयोग गरिएको बताइएको छ । धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतको स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

तामाङ कमेडीमा धुम मच्चाउँदै तामाङ सिरियल ‘आबा ङाछा’

कुनै जमानामा तामाङ भाषाको प्रयोग गर्दा समेत लाज मान्नुपर्ने अवस्था थियो । तामाङ समुदायले तामाङ भाषा बोलेकै आधारमा र तामाङ बोल्नेहरुले अन्य भाषा नबुझेकै कारण थिचोमिचोमा पर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । तामाङ भाषाले गीतसँगीत हुँदै साहित्य, चलचित्र र टेलिसिरियलमा समेत प्रवेश पाएको छ । पछिल्लो समयमा तामाङ चलचित्र र तामाङ भाषाको गीतसँगीतले राम्रै चर्चा पाएको छ । तामाङ कला क्षेत्रको यही भिडमा नयाँ ईतिहास कोर्दै अगाडि बढिरहेको तामाङ कमेडी टेलिसिरियलको नाम हो ‘आबा ङाछा’ ।

डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साँझ ६ः३० बजे प्रसारण हुने आबा ङाछाले सातौँ श्रृङ्खला पार गरेको छ । सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत पनि हेर्न सकिन्छ । युट्युबमा यसको सातौँ भाग समेत अपलोड भइसकेको छ । जसलाई अपलोड भएको केही दिनमा नै ३ हजारभन्दा बढी पटक हेरिएको छ । बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो ।

तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । टेलिसिरियलमा स्याउरी माया, लखरमाया लगायतका विभिन्न पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।

सिरियलको सातौँ भाग सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका घुडे गाउँमा छायाङ्कन गरिएको छ । योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन् ।

तामाङ चलचित्र ‘मी लोभी’ को धमाधम सुटिङ हुँदै

तामाङ कथानक चलचित्र ‘मी लोभी’ को छायाँकन धमाधम भईरहेको छ । विभिन्न स्थानबाट सुरु भएको चलचित्रको छायाँकन यतिखेर मकवानपुरको मनहरीमा आसपासमा भईरहेको छ ।

तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको निर्देशनमा चलचित्र निर्माण भएको हो । यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण सुरु भएको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिङ घलानले निर्माण गरेका हुन् । अभिषेक किराँतीको छायाँकन रहेको चलचित्रमा राजु किराँतीको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा सुशिल मुक्तान र रविन कुमार चेपाङको संगीत छ ।

पारिवारिक कथा बोकेको चलचित्रमा आफ्नो मान्छे आफ्नै हुने सन्देश रहेको छ । चलचित्रको नाम ‘मी लोभी’ अर्थात आँखा लोभी भनिए जस्तै चलचित्रको कथामा बाहिरी आँखाले लोभ गर्दा आईपर्ने समस्याहरुका बारेमा समेत देखाईएको छ । यसअघिका चलचित्रहरुका सिधासाधा प्रेमिकाको भूमिकामा बढी देखिएकी नायिका सुष्मा मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा उभ्याइएको छ । चलचित्रको सुटिङका क्रममा उनी घाईते समेत हुने गरेकी छिन् ।

चलचित्रमा बाबु थिङ सहित चर्चित नायिका सुष्मा थिङ, सम्झना रुम्बा, बिन्दा थिङ, प्रकाश रुम्बा, सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिङ घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिलेसम्म चलचित्रको २५ प्रतिशत छायाँकन सकिएको निर्देशक बाबु थिङले जानकारी दिए । चलचित्रको छायाँकन मकवानपुर, काठमाडौँ, बारा, सिन्धुली लगायतका स्थानहरुमा हुने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*