सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

३ जेष्ठ २०७६, शुक्रबार १३:३३
Featured Video Play Icon

रसुवा, ३ जेठ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रसुवामा केही समय अघि आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेश पूर्ण भेला तथा गाउँ भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रममा रसुवा जिल्लाका पर्यटकीय सम्भावनाका बारेमा विभिन्न कुराहरु गरे । उनले फोनिजका साथै पर्यटन विकासमा पनि सहयोग गर्ने बचन समेत दिए । वास्तवमै रसुवाका बारेमा बास्कोटाले के भने त ? हेरौँ यो रोचक भिडियो–

रसुवा जिल्ला परिचय

नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरीभाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको नजिकको विकट हिमाली जिल्ला हो रसुवा । हिन्दुहरूको पवित्र तीर्थस्थल गोसाईकुण्ड यहि जिल्लामा रहेको छ । यस जिल्लाको भौगोलिक वनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभुषाका साथै जैविक विविधता बोकेकोे यस जिल्लाको आफ्नो पृथक ऐतिहासिक महत्व रहेकोछ । छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर बसेको एक रमणीय जिल्ला हो । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने वास्तविकताको गहिराईमा पुग्ने हो भने स्थानीय भाषामा ‘र’ को अर्थ ‘भेडाच्याङग्रा’ र ‘सोवा’ को अर्थ ‘चराउने वा राख्ने ठाउँ’ भन्ने बुझिन्छ । अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङ्ग्रा पाईने ठाउँ भएकोले ‘रसोवा’ भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको विश्वास गरिन्छ ।

रसुवा जिल्ला अक्षांशको हिसावले २८ डिग्री शुन्य मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री १५ मिनेट देखि ८५ डिग्री ५० मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । सदरमुकाम धुञ्चेको उचाई १९५० मिटर रहेको छ । भौगोलिक वनावटको हिसाबले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवं वेशी भू–भाग रहेको यस जिल्लालाई मुख्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।

अ) हिमाली प्रदेश

यस क्षेत्रमा गणेश हिमाल, लाङटाङ हिमाल, लाङटाङ लिरूङ, यलापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ जमिरहने पर्वत श्रृखलाहरू पर्दछन् ।

आ) लेकाली प्रदेश

समुन्द्री सतह देखि २५०० भन्दा माथिका उच्च पहाडी भाग जहाँ सधै हिउँदको मौसममा वरावर हिमपात हुने यस क्षेत्रमा पर्दछन् । विशेष गरी लाङटाङ, क्यान्जिङ, घोडातबेला, गोसाईंकुण्ड, लौरीविनायक, चन्दनवारी, माङचेत, सोमदाङ, गञ्जला भञ्ज्याङ आदि यस प्रदेशमा पर्ने मुख्य स्थानहरू हुन् । यस भेगका मानिसहरू मौसम अनुसार वसोवास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन भएको महशुस हुन्छ ।

इ) पहाडी तथा वेंसी प्रदेश

समुन्द्री सतह देखि २,५०० भन्दा तलको भागलाई यस जिल्लाको भू– स्वरूप अनुसार पहाडी भागमा समावेश गर्न उपयुक्त हुने देखिन्छ । वेत्रावती, पैरेवेसी, स्याफ्रुवेसी, फलाखु खोलाको किनार आदि नगन्य मात्रामा वेसी परेका स्थानहरू भएतापनि मुख्य मुख्य स्थानहरू पहाडी भू–भाग भएकोले स्थानीय जन–जीवनमा पहाडी प्रभाव अत्यधिक रहेको छ । धुञ्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जन–जीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । खेतीपाती, पशुपालन र नगन्य रूपमा जागिर यस भेगका बासिन्दाहरूको मुख्य व्यवसाय र पेशा रही आएको छ ।

क) हावापानी

साधारणतया, यहाँको हावापानी १,९०० मिटर भन्दा माथिको उचाईमा धेरै चिसो पाईन्छ । विषम धरातलिय स्वरूपको कारण हावापानीमा पनि विषमता हुनु स्वाभाविकै मानिन्छ । ५,००० मिटर भन्दा माथिको हिमाली भेगमा ज्यादै चिसो हावापानी, लेकाली प्रदेशमा ज्यादै चिसो र गर्मी याममा केहि उष्ण हुने गर्दछ । वेसी भू–भागमा प्रायः उष्ण हावापानी हुने भएकोले हावापानीको एकीन अवस्था पहिल्याउन कठिन छ । मनसुनी वर्षा र लेकाली हिमाली वर्षा हुने भएकोले करिव जेष्ठ महिना देखि आश्विन महिनासम्म प्रसस्त वर्षा हुने, मौसम प्रायः वदली रहने गर्दछ । आश्विन, कात्र्तिक, फाल्गुण, चैत्र र वैशाख महिनामा मौसम निकै राम्रो र सफा हुने गर्दछ ।

ख) भू– उपयोग

टोपोग्राफिक नक्सा १९९४÷९८ का अनुसार यस जिल्लाको कुल क्षेत्रफल १,५१९.३१ वर्ग कि.मि. र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार १५४४ वर्ग कि.मि.रहेको छ । जस मध्ये हवाई मैदान ०.०४ वर्ग कि.मि., झाडी क्षेत्र ६३.११ वर्ग कि.मि., १,५१२ वर्ग कि.मि., खेती योग्य जमिनको क्षेत्रफल ११९.१४ वर्ग कि.मि., जंगल ३८४.८८ वर्ग कि.मि., हिमनदी ९०.६८ वर्ग कि.मि., घाँसे जमिन १७५.४० वर्ग कि.मि., बरफ–चट्टान ०.५३ वर्ग कि.मि., बलौेटे क्षेत्र ७.७५ वर्ग कि.मि., खेर गएको जमिन ६३५.५४ वर्ग कि.मि. र जल क्षेत्र ४२.२४ वर्ग कि.मि. रहेको छ । प्रति वर्ग कि.मि.२८ जनाको जनघनत्व रहेको छ । जम्मा घरधुरी संख्या ९,७७८ रहेको तथ्यांकबाट देखिन्छ ।

ग) भौगोलिक सीमाना

यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सीमाना जोडिएको छ ।

घ) प्रशासनिक विभाजन

मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा पर्ने रसुवा जिल्लाको सदरमुकाम धुञ्चे हो । ९ वटा इलाका रहेको जिल्लामा तत्कालिन समयमा १८ वटा गाविस रहेको थियो । संसदीय निर्वाचन क्षेत्र १ वटा रहेको छ ।

ङ) भूगोल तथा राजनीतिक विभाजन

रसुवामा तत्कालिन समयमा धुञ्चे, हाकु, यार्सा, सरमथली, धैबुङ, भोर्ले, राम्चे, लहरेपौवा, डाँडागाउँ, ठूलोगाउँ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृद्धिम, लाङटाङ, स्याफ्रु र गोल्जुङ गरी १८ वटा गाविस रहेको थियो ।

च) जनसंख्या

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस जिल्लाको कुल जनसंख्या ४३,३०० छ । जसमध्ये पुरूष २१,४७५ र महिला २१,८२५ छन् ।

छ) जाती, भाषा र धर्म

यहाँका मुख्य जातिहरूमा तामाङ, शेर्पा, घले, व्राम्हण, क्षेत्री, गुरूङ, दमाई, कामी र नेवार छन् । यी जातिहरूद्धारा तामाङ, नेपाली, शेर्पा, गुरूङ र नेवारी भाषा बोल्दछन् भने बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्दछन् ।

ज) स्वास्थ्य सेवा

यो तथ्याङ्क तयार पार्दाको समयमा रसुवा जिल्लामा १५ शैयाको अस्पताल १ वटा, प्राथमिक स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी ११ वटा, उप–स्वास्थ्यचौकी ११ वटा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एक वटा, आयुर्वेद केन्द्र २ वटा रहेको छ । रसुवामा उपलब्ध एम्बुलेन्स सेवा ४ रहेको छ । यो तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय रसुवाले प्राप्त गराएको तथ्यांक हो ।

झ) हुलाक सेवा

यस जिल्लामा जिल्ला हुलाक १, इलाका हुलाक ४ र अतिरिक्त हुलाक १३ रहेको छ । त्यसैगरी पत्र मञ्जुषा संख्या १९ रहेको छ ।

ञ) टेलिफोन सेवा

यस जिल्लामा टेलिफोनको क्षेत्रमा निकै विकास भएको छ यहाँ नेपाल टेलिकमका लाईन फोन सदरकुमाम धुन्चे, स्याफ्रु र कालिकास्थानमा रहेको छ । साथै लाङटाङमा भि–स्याट प्रणाली र स्मार्टसेल फोन रहेको छ भने मोवाइल सेवामा नेपाल टेलिकमको एनटिसी, स्काई, एनसेल, स्मार्ट सेल, युटीएलको समेत सेवा सुचारु रुपमा भैरहेको छ । इन्टरनेट सेवामा नेपाल टेलिकमले लाइन फोन भएको क्षेत्रमा एडीएसएल प्रविधिको इन्टरनेट सुविधा प्रदान गरेको छ भने अन्य मोवाइल प्रविधिको इन्टरनेट सुविधाहरु समेत उपलब्ध छ ।

ट) विद्युत सेवा

यस जिल्लाको धुञ्चे, गोल्जुङ, चिलिमे, गतलाङ, स्याफ्रु, राम्चे, धैवुङ, लहरेपौवा, भोर्ले, यार्सा, बृद्धिम, सरमथली, ठूलोगाउँँ, हाकु, टिमुरे, थमन र डाडाँगाउँ गरी जम्मा १७ वटा गा.वि.स.हरूमा राष्ट्रिय प्रसारणद्वारा विद्युत सेवा उपलव्ध छ । लाङटाङ गा.वि.स.मा लघु जलविद्युत सेवा उपलव्ध छ भने लाङटाङ गाविसमा आगामी आ.व.मा राष्ट्रिय प्रसारण लाईन पु¥याइने लक्ष्य लिइएको छ । हाकु गा.वि.स.को बाँकी गाउँहरुमा पनि राष्ट्रिय प्रसारणलाई आगामी आर्थिक वर्ष भित्रमा पु¥याउने योजना राखिएको छ । साथै जिल्ला विकास समिति रसुवाले नेपाल विद्युत प्राधिकरणको सहकार्यमा आगमी ४ वर्ष भित्रमा सबै गा.वि.स.का सवै वडाहरुमा विद्युतीकरण गरी सक्ने योजना बनाएको छ ।

ठ) बैकिङ तथा बित्तीय सेवा

यस जिल्लामा जम्मा ७ वटा बैंक रहेको छ । जस मध्ये २ वटा सरकारी र ५ वटा निजी रहेका छन् । सरकारीमा कृषि विकास बैक शाखा र नेपाल बैंक लिमिटेड शाखा रहेका छन् भने निजीमा जनता बैंक नेपाल, एनएमवी बैंक, एनबी बैंक, हिमालयन बैंक र मेघा बैंक स्थापना भई सेवा प्रवाह गरिरहेका छन् । मेघा बैंक स्याफ्रु गाविसको स्याफ्रुवेंसी, हिमालयन बैंक लहरेपौवा गाविसको वेत्रावती वजारमा र धैबुङको कालिकास्थान र टिमुरेमा जनता बैंकको एक्सटेन्सन काउण्टर रहेको छ । त्यसैगरी धैबुङको कालिकास्थानमा नीजि क्षेत्रको आईसिएफसी फाइनान्स र डिप्रोक्स विकास बैंक समेतले सेवा प्रवाह गरिरहेका छन् ।

ड) कृषि तथा पशु सेवा केन्द्र

यस जिल्लामा कुल ९ वटा कृषि सेवा केन्द्र उपकेन्द्रहरु छन् । जसमा कृषि सेवा केन्द्र ३ वटा र कृषि उपकेन्द्र ६ वटा रहेको छ । त्यसैगरी पशु सेवा केन्द्रहरूमा ३ वटा (थाम्बुचेत, कालिकास्थान र पारच्याङ) रहेको छ भने उप–केन्द्र ६ वटा (लहरेपौवा, डाडाँगाउँ, हाकु, स्याफ्रु, बृद्धिम र टिमुरे) रहेको छ ।

ढ) नदीनाला, ताल तथा पोखरी

यस जिल्लाबाट वाहिर बगेर निस्कने नदीहरूमा त्रिशुली, भोटेकोशी र फलाखु मुख्य छन् । त्रिशूलीको उद्गम स्थल प्रशिद्ध तीर्थस्थल गोसाँईकुण्ड हो भने भोेटेकोशी चीनको स्वशासित क्षेत्र तिव्वतबाट नेपाल प्रवेश गरी टिमुरे, गोल्जुङ, स्यापु्रm, धुन्चे, हाकु, गतलाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँँ, लहरेपौवा हुदै वेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्दछ । भोटबाट आएको भोटेकोशी स्याफ्रुवेंसीमा लाङटाङ खोलालाई आफुमा लीन गराउदै धुञ्चे गाविसको सीमाना त्रिशूली नदीको संगम स्थलमा समाहित भएपश्चात त्रिशूली नदीको नामले प्रवाहित हुन्छ । लाङटाङ हिमालको हिमनदीको पानीबाट शुरू हुने लाङटाङ खोला ठाउँ ठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरना हुदै भोेटेकोशीमा बिलिन हुन्छ । यस्तै भगवान महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महशुस भएपछि बेतको लठ्ठी सृष्टि भएको बेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला जिल्लाको दक्षिणपूर्वी भाग यार्सा र सरमथली हुदै वेत्रावतीमा समाहित भएको छ । यस्तै अन्य खोलाहरूमा चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला र अन्य स–साना खोलाहरू जिल्लाका प्रत्येक भागमा असंख्य मात्रामा रहेका छन् ।
यस्तै गोसाईकुण्ड, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दूधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू यस जिल्लाका विभिन्न स्थानहरूमा अवस्थित छन् ।

ण) यातायात

हिमाली जिल्ला भएतापनि यस जिल्लाको १४ वटा गाविसमा पक्की÷ग्राभेल÷कच्ची सडकले छोएको छ भने अन्य गाविसहरुमा पनि पु¥याउने अभियान जारी राखिएको छ । रसुवा जिल्लाले चालु आव र आगामी आवलाई समेत सडक पहुँच विस्तार वर्षको रुपमा मनाउने सोच बनाएको छ । यस जिल्लामा रहेका सडक र तीनको लम्बाई निम्न अनुसार छ । वेत्रावती–सोमदाङ सडक ८३ किमि मध्ये हाल वेत्रावती देखि स्याफ्रुवेंसीसम्म ५५ किमि कालोपत्रे बाँकी ग्राभेल कच्ची । कालिकास्थान –सरस्यू सडक ६ किमि ग्रावेल÷कच्ची । धुञ्चे शिवमन्दिर– जिल्ला अस्पताल सडक १.५ ग्रावेल । गोल्जुङ–बाहुनडांडा – चिलिमे , थाम्वुचेत सडक ५ किमि ग्रावेल । वेत्रावती –पैरेवेशी–मैलुङ सडक ७ किमि ग्रावेल, बोगटीटार–सिम्ले –भोर्ले सडक १२ किमि ग्रावेल÷कच्ची । स्याऊबारी–लौकिल–लाङबु–दोकलाङ सडक १६ किमि ग्रावेल÷नयाँ ट्रयाक÷कच्ची । शान्तिबजार–डाँडागाउँ सडक ४ किमि नयाँ ट्रयाक÷कच्ची । बनुवा–कर्मिडाँडा–ढुंगे –कालिकास्थान सडक १० कि।मी ग्रावेल । वेतीनि–उपल्लोपौवा सडक २ किमि नयाँ ट्रयाक, धारापानी –रुप्सेपानी– जिवजिवे सडक ९ किमि नयाँ ट्रयाक, धारापानी – तारुके सडक ३ किमि नयाँ ट्रयाक, बनुवा–चौकीटार–बोगटीटार सडक ३ किमि नयाँ ट्रयाक, गत्लांग ग्रे हाकु कृषि सडक ६ किमि नयां ट्रयाक, दशमुरे धुसेनी रुप्सेपानी सडक ३.५ किमि नयाँ ट्रयाक, भोर्ले चिति खाल्चेत सरस्र्यु सडक ६ किमि नयाँ ट्रयाक, लच्र्याङ निर्कुभुमे यार्सा सडक ४ किमि नयां ट्रयाक, सोले भिमली कृषि सडक १ किमि नयां ट्रयाक, सानोभार्खु ब्रावल ठुलो स्याफ्रु कृषि सडक ३ किमि नयाँ ट्रयाक, गत्लांग च्याम्तोल गोल्जुंग रोंगा कृषि सडक ३ किमि नयाँ ट्रयाक,रोंगा पाजुंग तातोपानी सडक २ किमि नयाँ ट्रयाक, मिनरल वाटर नागुन सडक १.५ किमि नयाँ ट्रयाक र स्याफ्रुवेशी देखि रसुवागढी सडक १६ किमि ग्राभेल सडक गरी २४ वटा सडकहरु रहेका छन् ।

त)  जिल्लाको शैक्षिक अवस्था

राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस जिल्लाको कूल जनसङ्ख्या ४३३०० मध्ये महिला २१८२५ तथा पुरुष २१४७५ छन् । ६ वर्ष उमेर भन्दा माथिका जनसंख्यामा ५९.८० प्रतिशत साक्षर रहेको देखिन्छ जसमा पुरुष ६७.९५ प्रतिशत र महिला ५२ं.४१ प्रतिशत रहेको देखिन्छ ।

थ) जिल्लाको खानेपानीको अवस्था

जिल्लाबासीले पिउने पानीको प्रमुख श्रोतको प्रयोगको आधारमा खानेपानीको अवस्था । राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार धारा,पाईपको खानेपानी प्रयोग गर्ने परिवार संख्या ८५५९ रहेको छ । जुन ८७.९० प्रतिशत, ढाकिएको ईनारबाट खानेपानी प्रयोग गर्ने परिवार संख्या ११ (०.१ प्रतिशत), नढाकिएको ईनारबाट खानेपानी प्रयोग गर्ने परिवार संख्या ९५ (१ प्रतिशत), मुलको पानी प्रयोग गर्ने परिवारको संख्या ९०६ (९.३ प्रतिशत), नदि तथा खोलाको पानी प्रयोग गर्ने १०६ (१.१ प्रतिशत) र उल्लेख नभएको श्रोतको पानी प्रयोग गर्ने परिवार संख्या २८ (०.३ प्रतिशत) रहेको छ ।

थ) धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकिय स्थल र स्थानहरू

विभिन्न जातजाती, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवं सास्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, हिमाल, मन्दीरका साथै रसुवागढी र वेत्रावती जस्ता ऐतिहासिक स्थलका अलवा क्याजिङ उपत्यका जस्तो रमणीय स्थलहरू पनि रहेका छन् । स्याफ्रु गाविस स्थित गोसाईकुण्ड ९४३८० मिटर०, भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड तथा गतलाङ गाविस स्थित पार्वतीकुण्ड, चिलिमे गाविस स्थित तातोपानी, नुवाकोट र रसुवाको सीमावर्ती गाविस लहरेपौवामा पर्ने उत्तरगया, नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतको सीमानामा पर्ने टिमुरे गाविसमा अवस्थित ऐतिहासिक स्थल रसुवागढी र गुप्तेश्वर महादेव, धैबुङ गाविस स्थित कालिकास्थान मन्दिर, लाङटाङ गाविसमा पर्ने क्यान्जिन उपत्यका (उचाई ३५०० मि) लगायतका अनेकौं धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु यस जिल्लामा रहेका छन ।

द) प्रमुख व्यापारिक नाका तथा केन्द्रहरू

यस जिल्लाका प्रमुख व्यापारिक नाका तथा केन्द्रहरूमा वेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुवेशी, रसुवागढी टिमुरे आदि छन् ।
(रसुवा जिल्ला समन्वय समितिको कार्यालयद्वारा प्रकाशित तथ्यांकको सम्पादित रुप)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*