तामाङ चलचित्र महोत्सव सुरु, ‘सेमरिन मुला माया’ र ‘आप्लेङला नाम्सा’ प्रदर्शन

२९ चैत्र २०७५, शुक्रबार १६:५८
Semrin Mula Maya-Murchunga TV

चन्द्र घलान/मकवानपुर, २९ चैत । काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा शुक्रबारदेखि तेस्रो तामाङ चलचित्र महोत्सवको सुरुवात भएको छ । २०७६ बैशाख १ गतेसम्म हुने महोत्सवमा देखाईने ५ तामाङ भाषाका चलचित्रहरुमध्ये शुक्रबार हुत्त सञ्जय लामाको निर्देशनमा बनेको ‘सेमरिन मुला माया’ र अजय स्याङ्तानको निर्देशनमा बनेको तामाङ चलचित्र ‘आप्लेङला नाम्सा’ प्रदर्शन गरिएको छ । छनौट भएका चलचित्रहरुमा श्होङ, सेमरिन मुला माया, आप्लेङला नाम्सा, रुङ्सी टिला र सेर्कु रहेका छन् ।

तामाङ सँस्कारमा स्वाँगेभाई हुने परम्परामा आधारित चलचित्र सेमरिन मुला माया चर्चित तामाङ चलचित्रहरुमध्येको एक हो । चलचित्रलाई यस अघि सर्लाहीमा प्रिमियर शो पश्चात काठमाडौँ उपत्यकाका विभिन्न हलहरुमा प्रदर्शन गरिएको थियो । विभिन्न शो सँगै माउथ पब्लिसिटीका कारण चलचित्रले थप चर्चा पाएको छ । नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् । सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् । ‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।

तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ (मितबाको गाउँ) तामाङ परम्परा र रितिथितीमा आधारित छ । परम्परातर्फको यात्राका रुपमा ब्याख्या गरिएको चलचित्रलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन् । छेम्बेल ह्योल्मोको निर्माणमा बनेको चलचित्रको कथा लेखन दोर्जे तामाङले गरेका छन् । चन्द्र कुमार दोङको संगितमा तयार भएका गीतहरुमा शशिकला मोक्तान, निर्मला घिसिङ, मिन कुमार दोङ र चन्द्रकुमार दोङको आवाज सुन्न सकिन्छ । राजु किराँतीको द्वन्द निर्देशन रहेको चलचित्रमा चक्र महर्जनको छायाँकन रहेको छ । चलचित्रको चु नाम्सा, मायाला धिमनाम सोगे, ताम्बासे ताम्सुर आरब्साम लगायतका गीतहरु चर्चामा छन् । चलचित्रमा प्रेम तामाङ, छेम्बेल ह्याल्मो, बुईसाल लामा, कान्छीमाया ह्योल्मो, बद्रि थिङ, सञ्जु केसी, प्रेम ग्याल्बो ह्योल्मो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ तेस्रो तामाङ महोत्सव सुरु भएको हो । तिन दिने महोत्सबवको औपचारिक उद्घाटन भने चैत ३० गते शनिबार बिहान हुनेछ । कार्यक्रम संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बँस्कोटाको प्रमुख आतिथ्यतामा हुने बताइएको छ । चैत्र ३० गते नै बिहान ९ बजे रोशन फ्युबाद्वारा निर्देशित तामाङ चलचित्र ‘श्होङ’ र बिहान ११ बजेदेखि बाबु थिङद्वारा निर्देशित चलचित्र ‘रुङसी टिला’ प्रदर्शन गरिने छ ।

२०७० सालपछि निर्माण भएका ५ वटा तामाङ चलचित्रहरु प्रदर्शन गरिने छ । प्रदर्शन गरिने ५ चलचित्रमध्ये उत्कृष्ट एक चलचित्रलाई नगद सहित सम्मान गरिने समेत बताइएको छ । त्यस्तै तामाङ चलचित्रका विभिन्न विधाहरुमा विशेष योगदान दिएका व्यक्तीहरुलाई समेत महोत्सवका समयमा सम्मान गरिने आयोजकले जनाएको छ । यसका साथै महोत्सवमा तामाङ चलचित्रकर्मीहरुले दैनिक रुपमा प्रस्तुति समेत दिनेछन् । ख्याती प्राप्त गायक गायिकाहरुले समेत प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ भने तामाङ समुदायका झाँकी, बोन्बो, लामा र तान्बाहरुको पनि विशेष प्रस्तुति रहने बताइएको छ । महोत्सवमा तामाङ मौलिक खाना, तामाङ गोईलो, डम्फु र बुद्धचित्त मालाहरुको स्टल समेत रहने बताइएको छ ।

यो पनि हेर्नुहोस्

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

मुटुदेखि मुटुसम्म सेरिज–३ सपना र प्रेम

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*