
गजल–‘रुन्छिन् मेरी आमा’

सन् २०१२ को अप्रिल २४ मा मेरो व्यक्तिगत ब्लगमार्फत प्रकाशन गरिएको यो गजल यहाँ साभार गरेको छु । मेरी आमा (फुलमाया घलान) प्रति समर्पित यो गजल लेख्ने बेलामा म गजल लेख्न सिक्दै थिएँ । यो गजल प्रकाशित गरिएको समयमा मैले यस्तो लेखेको थिएँ–‘यो गजल समर्पण छ मेरी आमाको लागि जसले मेरो खुशीको लागि आफ्नो दुःख भुल्नु भयो, मेरी आमाको लागि मैले केहि गर्न नसके पनि अनि उहाँलाई हँसाउन नसके पनि म सदैब उहाँलाई हँसाउने कोसिश गरिरहने छु ।’
परिवार कै सफल बाटो चुन्छिन् मेरी आमा
हँसाउन मलाई आफै रुन्छिन् मेरी आमा
जति पिडा दिए पनि आफ्नै सन्तानले
पिडा लुकाई सँधै खुशी हुन्छिन् मेरी आमा
दश महिना कोखमा राखी दुःख भुली हुर्काएनि
ममताको हातले अझै छुन्छिन् मेरी आमा
त्यसै ठुलो भए जस्तो सन्तानले गरे पनि
ममताको मालामा नै उन्छिन् मेरी आमा
दश धारा दुधको मूल्य नचुकाएनी सन्तानले
उज्ज्वल सपना मनभरी बुन्छिन् मेरी आमा ।।
–चन्द्र घलान,हेटौँडा–१२ पदमपोखरी
(अहिले यो गजल पोष्ट गर्दाको समयमा मेरी आमा ७३ वर्षको हुनुहुन्छ ।)
मिति–२०७५ चैत ४ गते सोमबार