मकवानपुरे कवि यश लामाको दमदार कविता ‘माया’ (भिडियो)

१३ फाल्गुन २०७५, सोमबार ०८:०३
Yash Lama Love Poem-Murchunga TV

हेटौँडा, १३ फागुन । मकवानपुरका चर्चित साहित्यकार यश लामाको नयाँ कविता ‘माया’ को भिडियो सार्वजनिक भएको छ । एन.एस. टेलिभिजन युट्युब च्यानलबाट अपलोड भएको उनको कविताले मायाका बारेमा कौतुहलता खोतलेको छ । हेरौँ उनको कविता–

माया
–यश लामा
जब सर्टको टाँक खोलेर
हेर्छु आफ्नै छातीको देब्रे भाग
मुस्कुराइरहेको देख्छु तिमी ।
यी आँखाका ढकनीहरू
बन्द गरेर जब बस्छु एक्लै
शितल हावाहरूले पनि
मेरो हात समाएर पुर्याइदिन्छ
तिमीछेउ ।
रुमालजस्तो
नरम तिम्रो हत्केलाले
छोएदेखि
मेरो शरीरभरि उम्रिएको छ काँडा
र सुरक्षा गरिरहेको छ
मेरो मनमा फुलेको गुलाफ
अर्थात तिमीलाई ।

तिम्रो प्रेमिल आवाज
मेरो कानको भित्ताभरि गुञ्जिरहन्छ
र सुस्तरी सुस्तरी आइपुग्छ
मेरो मस्तिष्कभरि आनन्दको याद ।

जब निकै भारी हुन्छ
मेरो टाउको
बाटोले बोकेर ल्याउँछ
तिम्रो काख
र असीम न्यानोले
सुम्सुमाइरहन्छ एकोहोरो ।

थर्थरी काँपिरहेको
मेरो कलेटी ओठमा
तिम्रो शरीरको बासना मिसिएको
मायालु भ्यासलिन छ ।

जिब्रोको पृष्ठभरि
सबैभन्दा बढी
तिमीलाई सम्बोधन गरिरहने
शब्दहरू छन् ।

तिमीलाई भेटेर फर्केपछि
मेरा पाइतालाहरूले
आजसम्म टेक्नु परेको छैन
कुनै पवित्र तीर्थस्थल
र दश औँला जोडेर गर्नु परेको छैन
कुनै खुसीको प्रार्थना
न गर्नु परेको छ
लम्पसार परेर कुनै शक्तिको पूजा ?

बगिरहेको यो आँसुको नदी
रोकिएको छ एकाएक ।

एकनासले कुदिरहेको छ रगत
तिम्रो सिउँदोसम्म पुग्न ।

हावालाई अङ्गाल्छ अनि उही गतिमा
फर्किरहन्छ श्वास ।

ख्यालख्यालैमा मलाई
बानी परेछ मायाको
जसरी घामबिना
सिङ्गो दिन पनि
अँध्यारो लाग्ने गर्छ ।

पलाँसको हरियो बोटमाथि बसेर
खै ! कसलाई बोलाउँदो हो कागले
तर म तिमी फर्किगएको
बाटो मात्र हेरिबस्छु ।

कुनै कलाकारले भन्दा
नराम्रो बनाएको छैन
मैले तिम्रो तस्विर
जो मेरा परेलीको
बलियो फ्रेमभित्र छ ।

यी औँलाका काँपहरूमा
तिम्रा औँलाहरू घुसाएर
गाँठो पारेको एक निमेष पनि
म जुम गरेर हेर्ने गर्छु
स्मृतिका स्क्रिनहरूमा ।

वरिपरिका कालो धुमिल
पर्दाहरूको बन्धन पनि
सङ्लो बनाएर मैले
त्यसमाथि कोरेको छु
एउटा चित्र
र निरन्तर गरिरहेछु
प्रेमालाप ।

तैपनि
ममाथि एउटा सङ्गीन आरोप लगाउँदै
सधैँ भनिरहन्छौ तिमी
यो रातो मान्छेले
माया गर्न जान्दैन ।

यो पनि हेर्नुहोस्

मुटुदेखि मुटुसम्म भाग १– भ्यालेन्टाईन्स् डे

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*