मकवानपुरमा ल्होछार बिदा बहस : मुख्यमन्त्रीदेखि नगर प्रमुखसम्म चुपचाप

–दिलबहादुर लामा
मकवानपुर, १५ माघ । प्रदेश नम्बर ३ को अधिक तामाङ बाहुल्यता भएको जिल्लाका रुपमा परिचित मकवानपुर जिल्लामा एउटा गाउँपालिकाले मात्र सोनाम ल्होछार पर्वको बिदा दिने निर्णय गरेको छ । मकवानपुरको बाग्मती गाउँपालिकाले पहिलो पटक माघ ९ गतेको गाउँ कार्यपालिका बैठकबाट माघ २२ गते सोनाम ल्होछारका दिन बिदा दिने निर्णय भएको हो ।
बिदा दिएको बारेमा प्रष्ट पार्दै बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा १ दिन बिदा दिने निर्णय भएको बताए । सुरुमा ३ दिन बिदाको प्रस्ताव गरिएता पनि केन्द्र सरकारले नै बिदा कटौती गरेको आधारमा एक दिन मात्रै भए पनि तामाङ जातिको महान पर्वका दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।
बाग्मती गाउँपालिकाले बिदा दिने निर्णय गरेता पनि तामाङ बाहुल्यता भएकै क्षेत्रबाट हजारौँ तामाङ समुदायको भोट प्राप्त गरेर चुनाव जितेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, नगरप्रमुख हरिबहादुर महत, थाहा नगरपालिका प्रमुख लवशेर विष्ट लगायतका नेता जनप्रतिनिधिहरु ल्होछारमा बिदा दिने विषयमा चुईक्क पनि बोलेका छैनन् । उनीहरुलाई तामाङ समुदायको भोटको सम्मान नगरेको आरोप समेत स्थानीयले लगाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका अन्य मन्त्रीहरुलाई ल्होछारमा बिदा दिने बारे पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि ल्होछार पर्व आउन एक हप्ता समेत नभएको समयसम्म पनि कुनै निर्णय भएको छैन । मुख्यमन्त्री सहित अन्य मन्त्रीहरु र स्थानीय तहमा मकवानपुर सहित ३ नम्बर प्रदेशका विभिन्न जातिय संगठन, पहिचानवादी नेता तथा समुदायहरुले फरक फरक समयमा विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको थियो । केन्द्रले अधिकार दिएता पनि आफैले चुनाव जितेको क्षेत्रमा समेत १ दिनका लागि ल्होछारमा बिदा दिन नसक्ने सरकार र जनप्रतिनिधिहरुलाई स्थानीय जनताहरुले पाएको अधिकार पनि सदुपयोग गर्न नसकेको भन्दै आलोचना गरेका छन् । मंगलबार सोनाम ल्होछारका अवसरमा हेटौँडामा यही माघ २१ र २२ गते हुने ल्होछार महोत्सवको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानसहितका वक्ताहरुले ३ नम्बर प्रदेश सरकारले आफुले जिताएकै तामाङ समुदायको बेवास्ता गरेको आरोप लगाए । ‘हामीले पटक–पटक आग्रह गर्दा पनि हाम्रै क्षेत्रबाट जित्नुभएका मुख्यमन्त्री सहितका जनप्रतिनिधिहरु कोही बोल्दैनन्’, उनले भने, ‘उहाँहरुको यस्तो पाराले निकै गम्भिर अवस्थाको सिर्जना गरेको छ ।’
ल्होछारका अवसरमा माघ महिना भरि नै फरक फरक स्थानमा फरक दिन विभिन्न कार्यक्रमको आयोजना गरिएको भए पनि १ दिनको समेत बिदा व्यवस्था नगरेको विषयमा हामीले मकवानपुरका जनप्रतिनिधिहरुसँग पनि प्रतिक्रिया लिएका थियौँ । ल्होछारका बारेमा प्रतिक्रिया दिँदै हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत, थाहानगरपालिका प्रमुख लवशेर विष्ट समेत चुपचाप बसेका छन् । त्यस्तै ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले यही माघ १७ गते बस्ने गाउँकार्यपालिका बैठकले ल्होछारका दिनमा बिदा दिने निर्णय गर्ने जानकारी दिए । ‘बैठकमा प्रस्ताव लाँदैछु, जसरी भए पनि १ दिन बिदाको व्यवस्था गरेरै छाड्छौँ’, उनले भने ।
त्यस्तै कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले आफुहरु अहिले विभिन्न कार्यमा व्यस्त भएको भन्दै माघ २१ गते बस्ने गाउँकार्यपालिका बैठकले बिदाको निर्णय गर्ने र माघ २२ गते जसरी भए पनि १ दिन बिदा दिने बताए । त्यस्तै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आफुले चुनाव जित्नुमा तामाङ समुदायको ठूलो साथ रहेको भन्दै आफु त्यसप्रति सकरात्मक रहेको बताए । ‘केन्द्रले बिदा कटौति गरेको छ, तर हामी अहिले संघीयताको अभ्यास गरिरहेका छौँ, त्यसैले अन्य गाउँपालिकाका प्रमुखहरुसँगको सल्लाह पनि लिनेछु, र बिदाको व्यवस्था गर्नेछु,’ उप्रेतीले बताए ।
बिदाका सम्बन्धमा बोल्दै भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मिश्रित प्रतिक्रिया दिए । बिदा दिने वा नदिने विषयमा निक्र्योल नभए पनि उनले गाउँकार्यपालिका बैठकमा भने प्रस्ताव पेश गर्ने सक्दो प्रयास गरिने बताए । ‘मेरो क्षेत्रमा तामाङसँगै अन्य समुदायहरु पनि मिश्रित रुपमा बसोबास गर्छन्, बिदा दिने नै भन्ने निर्णय त भएको छैन, तर यसको प्रयास गर्नेछु,’ उनले भने । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँकार्यपालिकाका कुनै पनि सदस्यले बिदाको माग गरेमा आफु त्यसमा सकरात्मक रहेको र बिदा दिने निर्णय गरिने बताए । ‘हाम्रो क्षेत्रमा तामाङसँगै चेपाङ समुदाय पनि बसोबास गर्छन्, उनले भने, ‘यस विषयमा म आफैले भन्दा पनि वडा अध्यक्ष ज्यूहरुको प्रस्ताव आएमा मलाई निर्णय गर्न सजिलो हुनेथियो ।’
यस विषयमा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले आफु सो दिनमा बिदा दिने सोचमा रहेको बताए । ‘हामी छलफलकै चरणमा छौँ, जसरी भए पनि बिदा दिन्छौँ, उनले भने । यस विषयमा मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले गाउँपालिकालाई बिदा दिने अधिकार नभएको बताए । ‘हामीलाई भन्दा पनि बिदा दिने अधिकार प्रदेश सरकारलाई छ, उनले भने,–‘हामीले बिदा दिने निर्णय गर्न नसकेपनि सो दिनमा हामी हरेक ल्होछार कार्यक्रममा सहभागी हुनेछौँ र सक्दो सहयोग गर्नेछौँ ।’
मकवानपुरका अधिकांश जनप्रतिनिधिहरुले ल्होछार बिदाका विषयमा सकरात्मक रहेको जवाफ दिएका छन् । तर कार्यान्वयनका पक्षमा भने ढिलासुस्ती भएको आरोप प्रत्यारोप हुन सुरु भइसकेको छ । प्रदेश नम्बर ३ सरकार भने यसमा चुपचाप नै छ । प्रदेश नम्बर ३ को सरकार कानमा तेल हालेर बसेता पनि यसअघि नै प्रदेश नम्बर ५ ले थारु तथा मगरलाई माघी पर्वमा १ दिन बिदाको व्यवस्था गरेको थियो । त्यस्तै प्रदेश ४ मा तमु ल्होछारका अवसरमा बिदा दिइएको थियो । त्यस्तै तामाङ समुदायको बाहुल्यता रहेको प्रदेश ३ को काभ्रे जिल्लामा समेत विभिन्न गाउँपालिकाले बिदाको निर्णय गरिसकेको छ । काभ्रेको तेमाल गाउँपालिकाले सुरुमा नै ३ दिन बिदा दिने निर्णय गरिसकेको छ । त्यस्तै काभ्रेकै रोशी गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका लगायतले पनि ल्होछारको बिदा दिने निर्णय गरेको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले २ दिन, सिन्धुलीको मरिन गाउँपालिकाले २ दिन, हरिहरपुर गाउँपालिकाले २ दिन, रामेछापको सुनापति गाउँपालिकाले २ दिन बिदा दिने निर्णय गरिसकेको छ ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)