अपडेट–सञ्चारकर्मी मनोहर ढकालको मृत्यू, हत्या कि दुर्घटना ?

२६ पुष २०७५, बिहीबार ०८:५८
Manohar Dhakal-Murchunga TV

मकवानपुर, २६ पुस । मकवानपुरका चर्चित सञ्चारकर्मी मनोहर ढकालको रहस्यमयी मृत्यूले मकवानपुरमा खैलाबैला मच्चिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ शहिद स्मारक गेट नवलपुर निवासी ढकाल करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

वि.सं. २०७५ साल पुस २५ गते साँझ हेटौँडा १२ पदमपोखरी पान्तलेमा अवस्थित श्री बुद्ध माविमा अध्यापन सकेर छुट्टी भएपश्चात हेटौँडा आएका ढकाल एकाएक हेटौँडा ११ थानाभर्याङ नजिकैबाट हेटौँडा १ भैरव डाँडा जाने बाटोबाट राप्ति नदितर्फ जाने पैदल मार्गमा मृत अवस्थामा फेला परेका हुन् । ढकाल स्कूलकै सहकर्मी माधव गौतमसँग खाजा खाएर हेटौँडाबाट नवलपुर घरमा जान्छु भनी छुट्टिएका थिए । घर जान्छु भनेर हिँडेका ढकाल साँझ मृत अवस्थामा फेला परे । उन पार्थिव शरिरको अहिले हेटौँडा अस्पतालमा पोष्टमार्टमको प्रकृया कार्य भईरहेको छ तर पोष्टमार्टम भने सुरु भइसकेको छैन । उनको टाउको र मुहारमा चोट देखिन्छ ।

के हो वास्तविकता ?
घटना घटेको स्थान भैरव डाँडा जाने बाटोबाट छुटिटएर राप्ति नदितर्फसम्म पुग्न सकिने पैदल बाटो हो । जहाँ सालका बोटहरु छन् । यदि दुर्घटना नै भएको हो भने पनि ढकालको शव भेटिएको स्थानसम्म तिव्र गतिमा मोटरसाईकल पुग्न सक्ने कुनै सम्भावना छैन । अन्य दिनमा समेत उक्त स्थानमा डेटिङ जाने केही जोडीहरु देखिने गरेको स्थानीयहरुको भनाई छ । त्यतिमात्र होईन उक्त स्थानमा लागुपदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरुको जमघट नै हुने गरेको स्थानीयहरु बताउँछन् । त्यस्तो स्थानमा ढकाललाई कसले बोलायो अथवा उनलाई त्यहाँ कसले जबरजस्ती लग्यो भन्ने कुरा पनि अनुसन्धानको विषय बनेको छ ।

Manohar Dhakal-Murchunga TV 1 घटनाको अनुसन्धानमा कमाण्डिङ गरिरहेका प्रहरी निरिक्षक मधुकुमार थापाका अनुसार अहिलेसम्म नै ढकालको मोबाईल फेला परेको छैन । घटनास्थलको मुचुल्का उठाउने कार्य भने सकिएको छ । घटनास्थलमा घोप्टे परेर लडेको अवस्थामा भेटिएका ढकालको शव नजिकै रगत लागेका सिरिञ्ज पनि भेटिएको छ । ढकालले चढ्ने गरेको ना ३३ प ६३३८ नम्बरको मोटरसाइकलमा खासै टुटफुट नदेखिनु, घटना घटेको स्थलमा मोटरसाईकल स्पिडमा लैजाने सडकमार्ग नहुनुले पनि सामान्य लडेकै भरमा मृत्यु भएको भन्ने तथ्यलाई गलत प्रमाणित गरिदिन्छ ।

ढकालको मृत शरिरभन्दा निकै तल उनले भिरेको ब्याग भेटिएको छ । ब्यागमा रहेका सामग्रीहरु समेत यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएको थियो । प्रहरी निरिक्षक थापाका अनुसार कुकुरसहितको टोलीले सर्च गर्दा शवभन्दा निकै तल ढकालको खाली पर्स भेटिएको थियो तर पर्समा केही फेला परेको छैन । घटनास्थलमा शव देखेर प्रहरीलाई खबर गर्नेहरु अहिले प्रहरीकै निगरानीमा छन् । प्रहरीले एक जना अटो चालक, एक युवक र अर्का एकसहित ३ जनालाई निगरानीमा राखिएको बुझिएको छ । सुरुमा सवारी दुर्घटनाको रुपमा हेरिएको घटनालाई हत्याको घटना भएको प्रमाणित गर्ने थुप्रै प्रमाणहरु घटनास्थलमा देख्न सकिन्छ । स्वच्छ र सालिन छवि भएका शिक्षक तथा सञ्चारकर्मी ढकाल २ सन्तानका पिता हुन् । नेपाल एफ.एम. नेटवर्कदेखि रेडियो पालुङ, शक्ति एफ.एम. हुँदै हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।

घटना र घटनास्थलबारे विश्लेषण गर्दा केही प्रश्नहरु उब्जिएका छन् । ति हुन् :

१) स्कूलबाट बजार आईपुगेसँगै सहपाठीहरुसँग खाजा खाएर घर जान्छु भनेर छुटिएको मान्छे अँध्यारो हुनै लाग्दा किन भैरव डाँडा तिर लागे ? उननलाई कसले त्यहाँ बोलाएको हो ?
२) भैरव डाँडाको मेन बाटो छोडेर उनी किन जंगलभित्र पैदल बाटोतिर गए ?
३) उनको बाईक किन राम्रै अवस्थामा भेटियो ?
४) शवको वरपर सिरिन्ज किन भेटियो ?
५) उनको मोबाईल र पर्समा भएका सामानहरु किन गायब छन् ?
६) शवभन्दा निकै पर पर्स भेटियो, उनका झोलाका सामानहरु छरपष्ट भेटिनुमा के रहस्य छ ?
७) उनको घाँटीमा थिचिएको जस्तो निलडाम किन छ ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*