पदमपोखरीकी बिमलाको पिडा, रोग लागेपछि श्रीमान बेपत्ता (भिडियो)

१० पुष २०७५, मंगलवार १६:४०
Featured Video Play Icon

चन्द्र घलान, हेटौँडा, १० पुस । रोगले च्यापेर थला परेको बेला, मुटु दुखेको बेला अनि जिन्दगीले आफ्नो मान्छेको साथ खोजेको बेला, कसलाई रहर नहोला र आफ्नो मान्छेको अँगालोमा रुने ? कसलाई रहर नहोला र आफ्नो मान्छेसँग सँगै जिउने ? अनि कसलाई रहर नहोला र जीन्दगीका हरेक दुःख–सुखमा आफ्नो जीवनसाथीको हात समाएर अघि बढ्ने ? तर मकवानपुरकी बिमला स्याङ्तानले त्यस्तो मौका कहिल्यै पाईनन् । वि.सं. २०७५ पुस १० गते नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आफ्नो दुःख सुनाउदै गर्दा उनको आँशु थामिएन ।

दुबै मृगौला फेल भएर पिडाले छटपटाउँदा बिमलाका पति उनीभन्दा धेरै पर थिए, अनि उनको मायाभन्दा पनि धेरै पर । श्रीमानको पर्खाईमा उनका राता गालाहरु चाउरी पर्दै काला भए तर उनका श्रीमान फर्किएनन् । मकवानपुरको भिमफेदी गाउँपालिका (साविक ईपा गाविस वडा नम्बर २) का सूर्यबहादुर विवाह गरेकी बिमलाका १ छोरी र २ छोरा गरी ३ सन्तान छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी, गुम्बा टोलमा अवस्थित माईती घरमा बसेर उपचार गराईरहेकी उनले आफ्नो उपचारको लागि सहयोग गरिदिन सबैलाई आग्रह गरिन् । बहिनीहरु लक्ष्मी,दुर्गा तामाङसहित छोरी ज्योति स्याङ्तानसँगै सहयोगको याचना बोकेर आएकी उनलाई सम्हालिन निकै समय लाग्यो । दुःख पर्दा श्रीमानको साथ नपाएको कुराले उनी भक्कानिईन् ।

वि.सं. २०६९ सालदेखि दुबै मृगौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा डाइलाइसिस गराउँदै आएकी छिन् । उपचार गराउँदा गराउँदै हालसम्म करिब १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उनले बताएकी छिन् । उपचारकै क्रममा छोरी ज्योतिको पढाई एस.एल.सी.मै रोकियो । बहिनीको खेतबारी बेच्नु पर्यो अनि गरगहना पनि । बहिनीहरुको सहयोग गरेको सम्झँदा उनी अझै भावुक बने । सरकारले डाईलाईसिस सेवा निःशुल्क गरेता पनि त्यसमा लाग्ने आँैषधी तथा रगतको भने आफैले व्यवस्था गर्नुपरेकोले उनी थप समस्यामा परेकी छिन् । हेटौँडादेखि काठमाडौँको विर अस्पताल हुँदै उनी अहिले उपचारको लागि चितवनसम्म पुगेकी छिन् । हरेक हप्ता दुई दिन डाईलाईसिस गर्नका लागि आवतजावत गर्नुपर्दा उनी थप आर्थिक भारमा परेकी छिन् ।

रोगसँग जुध्दै गरेकी ४२ वर्षीया बिमलालाई श्रीमानले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुबैतिरको भार छ । बिमलाको मृगौलामा समस्या देखिएको थाहा भएता पनि केही वर्षपछि उनको श्रीमानले उनलाई छोडेर गए । बिमला अनुसार विगत ४ वर्षदेखि उनी सम्पर्कबिहीन छन् । भुकम्प आएको केही समयपछि घरबाट गएको र सम्पर्कमा नआएको उनले बताए । उनका अनुसार सूर्यबहादुर मलेसियामा रहेको अपुष्ट खबरहरु प्राप्त भइरहेका छन्, तर उनी घर र श्रीमति दुबैतिर सम्पर्कमा छैनन् । बुवाको बारेमा सम्झँदै ज्योतिले दुःखद कथा सुनाईन् ।

बिमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आएकी छन् । बिमलालाई सहयोग गर्न चाहने या उनको बारेमा बुझ्न चाहनेले ९८०४२४३९१३, ९८१९२४२३८६ र ९८४०७८००७२ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिमलालाई जस्तो पिडा कसैलाई नपरोस्, कुनै पनि श्रीमानले दुःखका बेलामा आफ्नो जीवनसाथी, आफ्नो श्रीमतीको साथ नछोडोस् । दुःख सुखमा जीवनसाथी एकअर्काको साथमा होस् । दुःखसुखमा एकअर्काको साथले परिवारको सदस्यलाई अघि बढ्न हौसला मिल्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*