क्रिसमस एउटा सत्य बोध गराउने पर्व हो –दिपक भोलोन

१० पुष २०७५, मंगलवार ०१:१२
Christmas-Murchunga TV

हेटौँडा, १० पुस । अधिकांश ख्रिष्टियन समुदायले मनाउँदै आएको क्रिसमस, आज विश्वभर मनाईदैछ । ख्रिष्टियन समुदायका केही समुदायबाहेक अन्यले मनाउदै आएका यस चाडको आफ्नै विशेषता र महत्वहरु छन् । यसलाई मनाउने चलन समेत विश्वभर एकै प्रकारको छ । क्रिसमस भन्ने बित्तिकै क्रिसमस ट्री र सन्टाक्लसका बारेमा धेरैले चलचित्र मार्फत थाहा पाएका छन् । तर ती सबै पछि थपिएका चलन भएको ईतिहासले देखाउँछ । वास्तवमा के हो क्रिसमस (ख्रिष्टमस) ? यो किन मनाईन्छ र यसका विशेषताहरु के छन् ? समावेशी चिन्तन साप्ताहिकका संवाददाता सन्देश थिङले हेटौँडा १५ पनेसमा अवस्थित सालवेशन चर्चका पाष्टर दिपक भोलोनसँग यसै विषयमा कुराकानी गरेका छन् । हामीले यो अन्तरवार्ता प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ।
क्रिसमस किन मनाईन्छ ?
–परमेश्वरले संसारको मान्छेलाई पापबाट मुक्त गराउन उहाँले आफ्नै एकमात्र पुत्रलाई मानिसका रुपमा पृथ्वीमा पठाउनुभयो । सारा मानिसको पापको मुक्तिका लागि यशु ख्रिष्ट क्रुसमा टाँगीनुभयो । उहाँको यही महिमाको सम्झना स्वरुप क्रिसमस मनाईन्छ ।
क्रिसमसमा के के गरिन्छ र कसरी मनाईन्छ ?
–क्रिसमसमा एकअर्कामा शुभकामना आदानप्रदान गरिन्छ । हरेक चर्चमा भजन गाउने, प्रार्थना गर्ने अनि आफन्तलाई बोलाएर खुशी साटासाट गर्ने गरिन्छ ।
क्रिसमस क–कसले मनाउन सक्छन् ?
–क्रिसमसको अर्थ बुझ्ने सबैले क्रिसमस मनाउन सक्छन् । साथै मनाउन चाहाने सबैले मनाउन सक्छन् । विश्वभरीका केहीलाई छाडेर अधिकांश ख्रिष्टियन समुदायले क्रिसमस मनाउने गर्छन् ।
ईसाई धर्मालम्वीहरुले कस्ता कुराको ज्ञान लिन सक्छन् ?
–हाम्रो पापबाट मुक्ति दिलाउनका लागि यशु ख्रिष्टले मानिसका रुपमा जन्म लिनुभयो । सृष्टिका समयमा मान्छेले गरेका पापकै कारण मान्छे जन्मेपछि मर्नुपर्छ । ईसाई धर्मबाट यी कुराहरु थाहा पाउन सकिन्छ । मरेपछि मुक्तिको मार्ग राम्रो हुने कुरालाई समेत यसै धर्मको धर्मग्रन्थ पवित्र बाईबालबाट जान्न सकिन्छ ।
ईसाई धर्म मान्दा के फाईदा हुन्छ ?
–बाईबलमा लाभदायक पदहरु हुन्छन् । जस्तै ज्ञानगुणका कुराहरु सिक्न सकिन्छ । बाँचुन्जेल राम्रो हुने र मरेपछि मुक्तिको बाटो राम्रो हुने भएकोले ईसाई धर्म मान्दा फाईदा हुन्छ ।
ईसाई धर्म अंगाल्दा के कस्ता समस्याहरु आउँछन् ?
–ईसाई धर्म अपनाउँदा सुरुसुरुमा आफन्तहरुले हेलाको दृष्टिले हेर्ने गर्थे तर पछिपछि ती बिस्तारै हट्दै गएका छन् । मुखले सबै धर्म बराबर भने पनि व्यवहारले भने ईसाई धर्म चाहिँ केही होइन जस्तो गर्थे ।
अबका योजनाहरु के कस्ता छन् ?
–मकवानपुरमा भएका सबै चर्चहरु मिलेर अगाडि बढ्ने र बाईबल शिक्षा सिकाउने । अनि बिस्तारै चर्चहरु हुर्काउँदै लाने योजनाहरु छन् ।
यसपाली के के कार्यक्रम गर्दैहुनुहुन्छ ? कसरी क्रिसमस मनाउँदै हुनुहुन्छ ?
–यही पुस ९ गते शुभकामना आदानप्रदान गर्ने, ठाउँठाउँमा शुभकामना आदानप्रदान गर्दै हिँड्ने, चौघडा, चिसापानी, गौरीटार, फुर्केचौर, पश्चिममा बस्तिपुर, बसामाडी, मनहरी र लोथरसम्म तथा उत्तरमा भैँसे, भिमफेदी, पदमपोखरी, रातमाटे, भोर्ले, बनस्खण्डी, कमानेसम्म शुभकामना दिने कार्यक्रम छ । विशेषगरी १० गते विभिन्न चर्चहरुमा विशेष कार्यक्रमहरु छन् । वृद्धालाई फलफुल वितरण तथा विद्यार्थीलाई आर्थिक सहयोग पनि गर्ने कार्यक्रम छ ।
अन्तिममा के भन्न चाहानुहुन्छ ?
क्रिसमसमा सार्वजिक बिदाको व्यवस्था भए राम्रो हुने थियो । दशैँ, तिहार र अन्य धर्मका धार्मिक चाडहरुमा बिदा भए पनि हाम्रोमा त्यस्तो व्यवस्था छैन । हाम्रो कुरालाई झुटो भन्दै हामीलाई विभिन्न आरोपहरु ल्गाउने गरिन्छ तर ति सबै निराधार र गलत छन् । हाम्रो समुदायले ईच्छुकलाई बाईबलका बारेमा बताउने हो । ईच्छुकहरु आफै विश्वास गरेर क्रिश्चियन बन्छन् तर हामीले जबरजस्ती कसैको धर्म परिवर्तन गराएका छैनौँ । यी कुराहरुलाई सबैले बुझिदिए हुने थियो । अन्तमा सम्पूर्ण विश्वासी र मकवानपुरवासीलाई क्रिसमसको शुभकामना दिन चाहान्छौँ ।
(साभार–समावेशी चिन्तन साप्ताहिक)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*