‘खल्तीबाट आउने योजना बन्द हुन्छ, परियोजना बैंक कार्यान्वयन हुन्छ’– मुख्यमन्त्री पौडेल

८ पुष २०७५, आईतवार १४:२८
Dormani Paudel Bank-Murchunga TV

हेटौँडा, ८ पुस । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताएका छन् । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उनले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरुलाई परियोजना बैंकमा राखेर मात्र कार्य प्रकृया अगाडि बढाईने बताए ।

योजनाहरु हरेकका खल्तीबाट आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समाबेश योजनाहरुलाई प्राथमिकतामा राखिने बताए । ‘परियोजना बैंक बनेपछि खल्तीबाट आउने योजनाहरुको अन्त्य हुनेछ’–मुख्यमन्त्री पौडेलले भने । व्यक्तिका खल्तीबाट आउने योजनाहरुलाई निरुत्साहित गर्दै संस्थागत योजनाहरु कार्यान्वयनमा परियोजना बैकको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ । चालु आर्थिक बर्षका योजनाहरु सुरु भईसकेकाले आगामी आर्थिक बर्षमा परियोजना बैंकका योजनाहरु कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । चालु आर्थिक बर्षभित्र नै परियोजना बैंक निर्माण गरी आगामी आवबाट लागू गर्ने गरी तयारी भएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले जानकारी दिए ।

बैंकको स्थापना पछि व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक आवश्यकताका आधारमा छनौट गर्ने र कार्यन्वनका चरणमा लैजाने पनि सरकारले योजना अगाडि सारेको छ । परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तिब्रता दिन लागेको हो । परियोजना बैकको पहिलो चरणको खाका तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केबल भण्डारीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रस्तुती समेत गरेका छन् । कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिवहरु समेत सहभागी थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*