हेटौँडामा लागुऔँषध ओसारपसार गर्ने गिरोहको पर्दाफास, २ जना पक्राउ

५ पुष २०७५, बिहीबार १४:१४
Gaja Kanda-Murchunga TV

हेटौँडा, ५ पुस । मकवानपुरको हेटौँडामा लागुऔँषध ओसार पसार गर्ने गिरोह नै सक्रिय रहेको पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ । विभिन्न समयमा लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरुलाई पक्राउ गर्न सफल जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो पटक पूनः दुई जनालाई पक्राउ गरेको छ ।

गएको असोज १६ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटार स्थित लोकमार्गमा २ सय ९५ केजी गाँजा सहित एक जनालाई पक्राउ गरिएको थियो । चितवनबाट हेटौँडातर्फ आउदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्याङकरलाई रोकी जाँच गर्दा २९५ केजी लागुऔँषध गाँजा (चिप्पड) सहित गाँजा सहित चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा बस्ने बर्ष ३८ को प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । उक्त लागुऔषध ओसार पसारमा ठुलो गिरोह रहेको अनुसन्धानमा खुलेपछी प्रहरी निरिक्षक मधु कुमार थापा समेतको कमाण्डमा टोली अनुसन्धानमा खटिएको थियो ।

अनुसन्धानको क्रममा मकवानपुरका अर्जुन भन्ने ३४ वर्षीय गोकर्ण लाल ब्लोन र चितवनका ३० वर्षीय सञ्जय लामा रुम्बालाई पक्राउ गरिएको हो । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भई चितवनको राप्ति नगरपालिका ५ बस्ने बर्ष गोकर्ण र चितवन राप्ति नगरपालिका वडा नम्बर ११ बस्ने संजयलाई यही पुस २ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बजारबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ २ लाख ३३ हजार ६ सय ४५ तथा भारतीय रुपैयाँ २ हजार ५ सय बरामद गरिएको थियो । त्यस्तै उनीहरुले प्रयोग गर्ने एनसेलको सिम कार्ड ५ थान सहितको सामसुङ मोबाईल २ थान, कालो रङको डायरी १ थान, संजय लामाको नाममा रहेको सनिमा बैंकको चेक १ थान र सोही बैंकको एटिएम १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बरामद गरिएको डायरीबाट लागु औँषध सम्बन्धि कारोबार गरेको लिखित सूचना समेत प्राप्त भएको छ । पक्राउको क्रममा बरामद भएको रकम देखाई अभियुक्त सन्जय लामाले घटना स्थलमा नै अनुसन्धानमा खटिएका प्रहरीलाई प्रलोभनमा पारी पक्राउबाट उम्कने प्रयास समेत गरेको प्रहरीले दाबी गरेको छ । गोकर्ण र संजयले लागुऔषधको ओसारपसार गर्न भरिया प्रयोग गर्ने, बिरगंजको ब्यापारीसंग पैसा लिई गाँजा संकलन गर्ने र बिभिन्न सवारी साधन बोलेरो, ट्रक, ट्याङकर आदिमा गाँजा पठाउने गरेको खुलेको प्रहरीले बताएको छ ।

मकवानपुरको राक्सिराङ तथा कैलाश गाउँपालिकाको गाँजा खेति गर्ने ब्यक्तिहरुको लागुऔषध गाँजा संकलन गरी संजय लामालाई दिने कार्यमा कैलाश गाउँपालिकाको भार्तामा बस्ने अन्दाजी ४२ वर्षीय सिताराम थिङ समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रारम्भिक अनुसन्धान गर्दा उक्त लागु औषध गाँजामा लामो समयदेखि विभिन्न समयमा पटक–पटक कारोवार गर्ने गरेको र उक्त कार्यमा पर्सा जिल्लाको बिजयपुर ७ घर भई हाल सोही जिल्लाको बिरगन्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा बस्ने बर्ष ३९ को जटाशंकर भन्ने तिजा राउत कुर्मी र सोही जिल्लाको बिस्रामपुर ७ घर भई हाल बिरगंज महानगरपालिका ११ बस्ने करिब ४० वर्षीय राजेन्द्र भन्ने देउतानन्दन प्रसाद समेत उक्त कारोबारमा संलग्न रहेको पाइएको छ । कुर्मी र देउतानन्दन समेतले विभिन्न समयमा गाँजामा लगानी गरी ओसारपसार गरेको र उनीहरुले मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानमा गाँजा खेतीमा लगानी गरेको समेत अनुसन्धानमा खुलेको छ । भरियाको रुपमा गाँजा ओसारपसार गर्ने चितवनको राप्ती नगरपालिका वडा नम्बर १ रानिबास बस्ने काईला भन्ने अमरबहादुर घलान सहित अन्य ३–४ जना समेत संलग्न रहेको खुलेको छ ।

उनीहरु मध्ये मकवानपुरका गोकर्ण र चितवनका संजयलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै फरार रहेका तिजा राउत कुर्मी,े देउतानन्दन प्रसाद, सिताराम थिङ र अमरबहादुर घलानको खोजी कार्य तिब्र पारिएको प्रहरीले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*