पाठेघरको क्यान्सरबाट पिडीत हेटौँडाकी कमला जिम्बाको उपचार गर्न अभियान सुरु

२३ मंसिर २०७५, आईतवार १४:१७
Kamala Jimba-Murchunga TV

हेटौँडा, २३ मंसिर । बिगत ८ वर्षदेखि पाठेघरको क्यान्सरबाट पिडीत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की कमला जिम्बाको उपचारका लागि अभियान सुरु गरिएको छ । पीडित जिम्बाको उपचारमा सामाजिक सञ्जाल समुह ‘युथ अफ हेटौंडा’ ले ‘कमला जिम्बा बचाऔँ अभियान’ सुरु गर्ने भएको हो ।

हेटौंडा–१९ बस्तिपुरमा रहेको आफ्नो घडेरी तथा जग्गा समेत उपचारको क्रममा सकिएपछि उनी अहिले उपचारको लागि सहयोगको पर्खाईमा छिन् । अप्रेसन गर्न नमिल्ने भएकोले हाल जिम्बाको उपचारकै माध्यमबाट रोग निको बनाउनुपर्ने अवस्था रहेको डाक्टरहरुको भनाई छ । पीडित जिम्बाको उपचारमा सहयोग पुर्याउन आईतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर ‘युथ अफ हेटौंडा’का अभियान्ताहरुले आग्रह गरेका छन् । जिम्बाको उपचारको क्रममा नेपाल क्यान्सर अस्पताल काठमाडौं र चितवनमा गरि करिब ३५ लाख खर्च भइसकेको र खर्च गर्न नसक्ने स्थिती भएकोले उपचारका लागि सहयोग जुटाउन सोमबारदेखि एक रुपैयाँ सहयोग अभियान चलाउने छ ।

हेटौंडामा व्यानर सहित सोमबार बिहानबाट एक रुपैयाँ देखि सकेसम्म सहयोगको लागि पत्रकार सम्मेलन मार्फत अपिल गरिएको हो । सोमबार हेटौंडाको हुप्रचौरबाट व्यानर सहित सहयोग अभियान चलाउन लागिएको हो । अभियान्ता संग्राम बल लामाले मंगलबार मनहरी गाउँपालिकामा चलिरहेको मनहरी महोत्सवमा पनि सहयोग जुटाउने बताएका छन् । जिम्बालाई ज्योती विकास बैंकको खाता नम्बर ०३४११३००१४०१५२०००००१ मार्फत सहयोग गर्न मिल्ने बताइएको छ । पत्रकार सम्मेलनको न्युज क्लब नेपालले संयोजन गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*