
लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसमा हेटौँडामा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर, १८ मंसिर । लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसका अवसरमा हेटौँडाका सम्पूर्ण लियो क्लबहरुले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन् ।
हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाईने अन्तराष्ट्रिय स्थापना दिवस विविध कार्यक्रम गरी ‘लियो सप्ताह’ का रुपमा मनाईने भएको लियो जिल्ला परिषद ३२५ रिजन बि २ का रिजन कोअर्डिनेटर राजन श्रेष्ठले जानकारी दिए ।
दिवसका अवसरमा डिसेम्बर ५ तारिखका दिन उद्घाटन समारोह सहित फ्ल्यास लाईटसहितको र्याली गरिने छ । र्याली पश्चात बुद्धचोकमा लियोको लोगो बनाई दिप प्रज्वलन गरिने बताइएको छ । त्यस्तै रक्तदान, ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन र खाद्यपदार्थ वितरण समेत गरिने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमको डिसेम्बर ११ तारिखमा पुरस्कार वितरण सहित समापन गरिने छ ।
सामाजिक कार्य गर्ने उदेश्य सहित सन् १९५७ मा अमेरिकाबाट लायन्स क्लबले लियो क्लबको चार्टर गरेको हो । सोही दिनलाई आधार मानेर हरेक वर्ष लियो क्लबहरुले डिसेम्बर ५ तारिखका दिन विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । नेपालमा भने सन् १९७१ मा लियो क्लब अफ काठमाडाँै स्थापना पश्चात लियो क्लबहरुको विस्तार भएको हो । हाल लियो जिल्ला परिषद ३२५ बि टु अन्तर्गत १ सय ४ वटा क्लबहरु रहेका छन् भने रिजन टु अन्तर्गत १० वटा क्लबहरु रहेका छन् । त्यस्तै नेपालमा हाल ४ वटा लियो जिल्ला परिषदहरु रहेका छन् ।
हेटौँडामा लियो क्लब अफ हेटौँडा, लियो क्लब अफ हेटौँडा बजार, लियो क्लब अफ हेटौँडा ग्रीन सिटी, लियो क्लब अफ हेटौँडा भुटनदेवी, लियो क्लब अफ हेटौँडा लर्ड बुद्ध, लियो क्लब अफ हेटौँडा पाथीभरा, लियो क्लब अफ हेटौँडा सुर्योदय, लियो क्लब अफ मकवानपुर युथ, लियो क्लब अफ मकवानपुर हेटौँडा र लियो क्लब अफ सुर्योदय राईजिङ गरी १० वटा लियो क्लबहरु रहेका छन् ।