नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाद्वारा मृगौला पीडित अमितलाई सहयोग

२९ कार्तिक २०७५, बिहीबार १२:११

मकवानपुर, २९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) का अमित मोक्तानको मृगौला प्रत्यारोपणका लागि मलेसियाबाट सहयोग गरिएको छ । नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाले अमितको मृगौला प्रत्यारोपणमा सघाउ पुराउने उदेश्यका साथ नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तानसहितको टोलीले संकलन गरेको सहयोग रकम तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान र कार्प मकवानपुरका जिल्ला संयोजक सुवाश लामाले पर्तास्थित पिडीत अमितको घरमा नै पुगेर बिहीबार हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा पिडीत अमितका आमा शान्त तितुङले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरिन् । त्यस्तै सहयोगी संस्थाका अध्यक्ष समेत रहेका फुर्बा दोर्जे मोक्तानले सहयोग जुटाउन सहयोग गर्ने संस्थाका महासचिव रमित लामा, सचिव अमिर लोप्चन तथा सक्रिय सदस्यहरु भिम दोङ र ब्लोन च्याङ्बालाई धन्यवाद ज्ञापन गरेका छन् ।

पर्ता निवासी अखिल कुमार मोक्तानका छोरा अमित कक्षा १० मा अध्ययनरत थिए । १४ वर्षीय अमितको दुबै मृगौला फेल भएपछि उनले पढाईलाई समेत स्थगित गरेका छन् । पिडित अमितको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उनको मृगौला प्रत्यारोपणका लागि प्रवाशी नेपालीहरु एकजुट भएका छन् । अहिलेसम्म करिब ८ लाखभन्दा बढी आर्थिक सहयोग जम्मा भएको उनको परिवारले जानकारी दिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*