मलेसियाबाट अधिक तामाङको सहयोग : मकवानपुरका अमितको मृगौला प्रत्यारोपणका लागि सहयोग जुट्दै

२६ कार्तिक २०७५, सोमबार ०४:४४

चन्द्र घलान/मकवानपुर, २६ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) का अमित मोक्तानको मृगौला प्रत्यारोपणका लागि मलेसियामा कार्यरत अधिक तामाङले आर्थिक सहयोग गरेका छन् ।

अमित बचाउ अभियानका अभियान्ता तथा नेपाल तामाङ घेदुङ प्रवाश शाखा कुवेतका सचिव नोर्साङ तामाङले फेसबुकमार्फत आह्वान गरेको सहयोग अभियानमा अधिक तामाङको एकल प्रयासमा ९५ हजार ५ सय ९६ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सहयोग रकमलाई नोर्साङ सहित मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिवप्रसाद खनाल, चुरेहिल अस्पताल हेटौँडा ११ थानाभर्याङमा कार्यरत नर्स, डाक्टर, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा अस्पतालको डाइलायसिस कक्षमा नै पुगेर अमित र उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।

पर्ता निवासी अखिलकुमार मोक्तानका छोरा अमित कक्षा १० मा अध्ययनरत थिए । १४ वर्षीय अमितको दुबै मृगौला फेल भएपछि उनले पढाईलाई समेत स्थगित गरेका छन् । पिडित अमितको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उनको मृगौला प्रत्यारोपणका लागि प्रवाशी नेपालीहरु एकजुट भएका छन् । गत भदौ १५ गतेबाट सुरु भएको सहयोग अभियानमा नोर्साङ तामाङ समेत सक्रिय पुर्वक लागेका छन् । अहिलेसम्म करिब ८ लाख आर्थिक सहयोग जम्मा भएको तामाङले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*