ठाडाखोलामा टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि श्रृजनशिल युवा समूहलाई

३१ आश्विन २०७५, बुधबार ०२:३१

–सन्देश थिङ
मकवानपुर, ३१ असोज । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडाखोलामा भएको टोल स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक श्रृजनशिल युवा समूहले जितेको छ ।

मनहरी गाउँपालिकाको सहयोग तथा श्रृजनशिल युवा समूहको आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा रमन गोलेको कप्तानीमा मैदानमा उत्रिएको आयोजक श्रृजनशिलले घट्टेपाखालाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबर टुङ्गीएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत खेल बराबरी भएपछि समय अभावका कारण रेफ्रीको निर्णयमा गोलाप्रथाद्वारा नतिजा तय गरिएको हो । प्रतियोगिता विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा भएको श्रृजनशिल युवा समूहका अध्यक्ष हर्कमान वाईबाले बताए ।

मंगलबार मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष आनन्द घलानको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमाण पत्र, शिल्ड र पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको बिजेताले बोका तथा उपविजेताले २ वटा भाले प्राप्त गरेका छन् । प्रतियोगितामा वडा नम्बर २ का विभिन्न टिमहरुको सहभागिता रहेको थियो । असोज २७ गतेदेखि भएको खेलमा ६ वटा टिमको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*