लामिटार कपको फाईनल फुलपातिको दिन, आयोजक र सुनाचुरी भिड्ने

२८ आश्विन २०७५, आईतवार १५:०४

मकवानपुर, २८ असोज । मकवानपुरको हाँडीखोलामा सञ्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको फाईनल खेल फुलपातिको दिन अर्थात यही मंगलबार हुने भएको छ । उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन् ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा शक्ति युवा क्लव मनहरीलाई ३–१ गोल अन्तरको पराजित गर्दै सुनाचुरीले फाईनल यात्रा तय गरेको हो । यसअघि नै शनिबार भएको खेलबाट आयोजक लामिटार यूथ क्लवको टिम मसिनेको जनजागरण क्लबलाई हराउदै फाइनलमा प्रवेश गरिसकेको छ । आईतबार भएको खेलमा शक्ति युवा क्लवले सुरुवाति अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । खेलको १२ औं मिनेटमा गोल गर्दै शक्तिका दीपक मोक्तानले टिमलाई अग्रता दिलाएका थिए । १८ औ मिनेटमा सुनाचुरीका बिबेक श्रेष्ठले सेन्टरबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भयो ।

दोस्रो हाफको १३ औं मिनेटमा सुनाचुरीका क्याप्टेन शितल बिकले गोल गर्दै अग्रता दिलाए । क्याप्टेन बिकले नै दोस्रो हाफको १८ औं मिनेटमा हेडमार्फत गोल गर्दै ३–१ को अग्रता दिलाए । खेलको अन्त्यतिर शक्ति क्लवका दीपक मोक्तानले प्रहार गरेको फ्रीकिक बारमा लागेर फर्कियो । सुनाचुरीले पाएको केही राम्रा मौका गोलमा परिणत हुन सकेन ।

खेलको म्यान अफ द म्याच सुनाचुरीका क्याप्टेन शितल बिक नै घोषित भए । उनलाई प्रतियोगिताको लागि म्यान अफ द म्याचको ट्रफी सहयोग गर्दै आएका खेलकुद समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष राजु घलेले नै म्यान अफ द म्याचको ट्रफी प्रदान गरे । प्रथम लामिटार कप फुटबलको फाइनल खेल मङ्गलबार फुलपातिको दिन दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*