हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

२० आश्विन २०७५, शनिबार १३:५५

चन्द्र घलान
हेटौँडा, २० असोज ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो ।

दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा यशकुमार, कामना भुजेल र निमा रुम्बाको मुख्य भूमिका रहेको छ । रिदम फिल्मद्वारा प्रस्तुत चलचित्रलाई यश कुमारको टिमले निर्देशन गरेका हुन् । चलचित्रमा शबिर श्रेष्ठको कथा तथा यश कुमार र यम थापाको स्क्रिनप्ले रहेको छ । चन्द्र पन्तको द्वन्द समेटिएको चलचित्रमा कविराज गहतराज र गोविन्द प्रभातको कोरियोग्राफी रहेको छ । चलचित्रका चर्चित गीतहरुमा सुनिता थेगिम, यश कुमार र बिन्दु परियारको आवाज रहेको छ ।

करिब २ करोड लागतमा निर्मित चलचित्रको क्लाईमेक्स र सस्पेन्सका कारण यसले दर्शकको मन समेत जित्न सफल भएको छ । हेटौँडासहित अन्य स्थानमा समेत माउथ पब्लीसिटीका कारण चर्चामा रहन सफल चलचित्रले नेपालको मौलिक कथा बोलेको छ । अधिकांश दृश्य मुस्ताङमा खिचिएको चलचित्रको ‘ए कान्छा मलाई सुनको तारा खसाईदेउ न’, तिमीले मायामा ज्यानै पो दिन्छु भन्छौ रे’ र ‘बोल–बोल’ बोलको गीत सुपरहिट समेत भइसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*